
इजरायली सेनाको पछिल्लो आक्रमणबाट गाजामा कम्तीमा ६० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।
मारिएकामध्ये कम्तीमा १४ जना अमेरिकी समर्थन प्राप्त गाजा ह्युमानिटेरियन फाउन्डेसन (जीएचएफ)को दक्षिण राफाहस्थित सहायता केन्द्र नजिकै रहेका थिए।
इजरायलले मद्लीन नामक सहायता जहाजलाई तोकिएको गन्तव्यमा पुग्न नदिई अश्दोद बन्दरगाहतर्फ तानेपछि उक्त जहाजमा रहेका १२ जना चालकदललाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा परेकामध्ये स्विडिस वातावरण अभियन्ता ग्रेटा थनबर्ग र अल जजिराका पत्रकार ओमार फैयाद पनि छन्। उनीहरूको वकिलले अल जजिरालाई यसबारे जानकारी दिएका हुन्।
मद्लीन जहाज गाजामाथिको इसरायली ‘अवैध नाकाबन्दी’ तोड्ने उद्देश्यले गाजातर्फ पठाइएको थियो। तर, इजरायली कमाण्डोले उक्त जहाजलाई गाजाको किनारबाट करिब १०० नटिकल माइल (१८५ किलोमिटर) टाढाको अन्तर्राष्ट्रिय जल क्षेत्रमा नियन्त्रणमा लिएको थियो।
गाजामाथिको इसरायली युद्धले हालसम्म ५४ हजार ९२७ प्यालेस्टिनीको ज्यान लिएको र १ लाख २६ हजार ६१५ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वमा इसरायलमा गरिएका आक्रमणमा अनुमानित १ हजार १३९ जना मारिएका थिए र २०० भन्दा बढीलाई बन्दी बनाइएको थियो।
इजरायली सुरक्षा बलले कब्जामा रहेको पश्चिम तटको हेब्रोन शहरमा छापा मार्दै एक जना प्यालेस्टिनी पुरुषलाई गिरफ्तार गरेको वाफा समाचार एजेन्सीले जनाएको छ।
इजरायली सेनाले रामल्लाह र अल-बिरेह जिल्लाका बेटुनिया, जलाजोन शरणार्थी शिविर र कोबर शहरमा पनि छापा मारेका छन्।
उत्तरी गाजामा इजरायली आक्रमणले तीन जना स्वास्थ्यकर्मीको मृत्यु
गाजा मेडिकल सर्भिसेज डाइरेक्टोरेटका अनुसार, गाजा शहरको टुफाह इलाकामा कार्यरत तीन जना प्यारेमेडिक्स (स्वास्थ्यकर्मी) इजरायली सेनाको गोली प्रहारमा मारिएका छन्।
अल जजिरा अरेबिकलाई मेडिकल स्रोतहरूले दिएको जानकारी अनुसार, सोमबार बिहानदेखि गाजा क्षेत्रमा कम्तीमा ३६ जना मानिसको ज्यान गइसकेको छ।