ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ओभरपासको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले यही जेठ मसान्तभित्र सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी काम सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि केही दिन थप लाग्ने जनाएको छ ।
निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीले जेठ १५ भित्रै काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने योजना बनाएको थियो ।
हाल कालोपत्रेको काम शुरू भएको र करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर प्रदीप भण्डारीले बताए ।

यो ओभरपास २०७८ फागुन १२ मा शुरू भएको सम्झौताअनुसार २ वर्षमा सम्पन्न हुनुपर्ने थियो । सम्झौताको म्याद २०८० फागुन १२ मा सकिए पनि काम पूरा नभएपछि पहिलो पटक २०८१ पुस ८ सम्म म्याद थप गरिएको थियो ।
तर, उक्त अवधिमा पनि निर्माण सम्पन्न नभएपछि सडक विभागले गत पुस १० देखि निर्माण कम्पनीलाई दैनिक ०.०५ प्रतिशत (करिब ८५ हजार रुपैयाँ) हर्जाना तिराएर काम गराइरहेको छ । हर्जाना तिरेर २०० दिनसम्म काम गर्न पाइने व्यवस्था छ ।
यदि यो अवधिमा पनि काम नसकिएमा ठेक्का रद्द गर्ने चेतावनी सडक विभागले दिएको थियो ।
१७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागत अनुमान गरिएको यो ओभरपासले ग्वार्को चोकको चर्को ट्राफिक जाम हटाउने अपेक्षा गरिएको छ ।
ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डका सवारीसाधन माथिबाट र ग्वार्को–लामाटार तथा ग्वार्को–पाटनतर्फका सवारीसाधन तलबाट गुड्ने छन् । यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिएको छ ।

यद्यपि, बारम्बार म्याद थप हुँदा पनि निर्माण सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
भण्डारीका अनुसार यसअघि नै सम्पन्न हुनुपर्ने आयोजना वर्षाका कारण ढिलाई भएको हो ।
हेर्नुहोस् भिडियो :