
मोरङको विराटनगर महानगरपालिका-८ मधुमाराका बालेश्वर कामत र नम्रता काफ्लेले २०६१ साल साउन १३ गते अन्तरजातीय प्रेम विवाह गरे ।
तत्कालीन नेकपा माओवादीको ‘जनयुद्ध’ रापतापमा पुगेका बेला पार्टी नेताहरूलाई साक्षी राखेर जनवादी विवाह गर्दा उनीहरूको अनुहारमा खुसीले मार्च पास गरिरहेको थियो ।
जीवनको यात्रामा सँगै हिँड्ने सहयात्री पाउनु आफैंमा खुसीको कुरा थियो, त्यसैमा अन्तरजातीय प्रेम र जनवादी विवाह गर्दा उनीहरूको छाती गर्वले ढक्क फुलेको थियो । सम्बन्धलाई ‘कमरेडली मुठ्ठी’ भन्दा कसिलो बनाउने उनीहरूको वाचा थियो ।
तर, यो ‘क्रान्तिकारी’जोडी अहिले एकअर्काविरुद्ध अदालतको ढोका ढक्ढक्याउने तहमा पुगेका छन् । हाल नेकपा एमालेका कोशी प्रदेश कमिटी सदस्य समेत रहेका कामतविरुद्ध मोरङ जिल्ला अदालतमा चार वटा मुद्दा दायर भएको छ ।
मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार नम्रताले आफ्ना पति बालेश्वरलाई प्रतिवादी बनाएर अंश र सम्बन्ध विच्छेद, मानहानि, गालीबेइज्ती र घरेलु हिंसाका मुद्दा दायर गरेकी छन् । बालेश्वरले पनि आफ्नी श्रीमती नम्रता र १७ वर्षीय छोरीलाई प्रतिवादी बनाएर जालसाजीको मुद्दा दर्ता गराएका छन् ।
विवाह भएको तीन वर्षपछि बालेश्वरले आफूमाथि शारीरिक र मानसिक यातना दिन थालेको नम्रताले फिरादपत्रमा उल्लेख गरेकी छन् ।
‘मलाई तथा नाबालक छोराछोरीलाई समेत कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिइआउनु भएको थियो’, फिरादपत्रमा भनिएको छ ।
नम्रताका अनुसार बालेश्वरले उनलाई दशैं–तिहार लगायतका चाडपर्वमा माइती–मावली जान नदिने, घरबाट बाहिर निस्कन नदिने र मोबाइल खोसेर राख्ने गरेका थिए ।
‘आफ्नै घरमा कैदी जीवन सरह बसी छोराछोरी सम्हाली विपक्षीको रातदिनको अत्याचार सहेर बसिरहेको अवस्था थियो,’ नम्रताले भनेकी छन् ।
२०८० साल भदौ २९ गते तीजको दिन, नम्रताकf भाइ उनलाई लिन आएको बेला बालेश्वरले ‘अनेकौं प्रकारका आमाचकारी गालीगलौज’ गरेर भाइलाई ‘फेरि यो घरमा फर्की आएमा ज्यानै लिने’ धम्की दिएका थिए । त्यसपछि बालेश्वर घरबाट बाहिर निस्किएको मौकामा नम्रता असोज ३ गते घरबाट निस्केर माइतीको शरणमा पुगेकी थिइन् ।
नम्रताका अनुसार १७ फागुन २०८० मा विराटनगर-१ मा बाटोमा हिँडिरहेको अवस्थामा बालेश्वरले नम्रतालाई ‘अश्लील शब्द प्रयोग गरेर गाली गलौज गर्दै निर्घात कुटपिट’ गरेका थिए । ‘बाटोमा हिंड्ने व्यक्तिहरूले छुट्याएको कारणले ज्यान जोगिएको’ नम्रताले फिरादपत्रमा उल्लेख गरेकी छन् ।
नम्रताले विभिन्न मितिमा बालेश्वरविरुद्ध मुद्दा दायर गरेकी हुन् । शुरूमा ५ असार २०८० मा अंश र सम्बन्ध विच्छेद मुद्दा हालेकी थिइन् । नम्रताले मुलुकी देवानी संहिता २०७४ का विभिन्न दफाको आधारमा सम्पत्तिको भागबन्डा माग गर्दै सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् ।
त्यसपछि ७ असोज २०८० मा मानाचामल मुद्दा दायर गरिन् । २४ फागुन २०८० मा घरेलु हिंसामा मुद्दा दर्ता गराइन् । यी मुद्दा लगाएपछि बालेश्वरले नम्रतालाई ‘मुद्दा फिर्ता लिनुपर्ने र नलिए ज्यान मार्ने धम्की’ दिन थालेका थिए ।
बालेश्वरले नम्रता र १७ वर्षीया जेठी छोरीमाथि जालसाजीको मुद्दा दर्ता गरेका छन् । उनले छोरी आफ्नो नभएको पनि दाबी गरेका छन् । उनले झुक्याएर जन्मदर्ता गराएको आरोप लगाएका छन् । उनीहरूका दुई छोरी र एक छोरा छन् ।
अहिले पाँचवटै मुद्दा मोरङ जिल्ला अदालतमा विचाराधीन छन् । आगामी जेठ ३० गते दुवै पक्षलाई तारेख दिइएको अदालतका सूचना अधिकारी बुढाथोकीले जानकारी दिए ।