
दक्षिणी अमेरिकी राज्य टेक्सासमा भारी वर्षापछिको बाढीका कारण कम्तीमा दश जनाको मृत्यु हुनुका साथै धेरै व्यक्तिहरू बेपत्ता भएका छन् ।
केएनएसका अनुसार टेक्सासको सान एन्टोनियो शहरमा वर्षापछि सडकहरूमा बाढी आउँदा सवारी साधनहरू समेत अवरुद्ध भएको जनाइएको छ ।
सान एन्टोनियो फायर विभागले पीडितहरूको खोजी गरिरहेको जनाइएको छ । हालसम्म मृतकको सङ्ख्या दश पुगेको शहरका अधिकारीहरूले पुष्टि गरेका छन् ।
सान एन्टोनियो मेयर रोन निरेनबर्गले सामाजिक सञ्जाल एक्समा बाढीमा ज्यान गुमाएकाहरूको खोजी जारी राख्ने बताए । शहरका अधिकारीहरूले बाढी प्रभावितको उद्धार र अनुसन्धान भइरहेको बताएका छन् ।
वैज्ञानिकहरूले लामो समयदेखि मानव निर्मित जीवाश्म इन्धन उत्सर्जनद्वारा सञ्चालित जलवायु परिवर्तनले उच्च वर्षा जस्ता चरम मौसम घटनाहरूको सम्भावना बढाइरहेको चेतावनी दिएका छन् ।