
भारत सरकारले नेपालका सातवटै प्रदेशका ३३ जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई ४० वटा एम्बुलेन्स प्रदान गरेको छ।
भारतीय दूतावासले शनिबार जारी गरेको विज्ञप्ति अनुसार ती एम्बुलेन्सहरू काठमाडौं, पोखरा, धरान र वीरगञ्जमार्फत सम्बन्धित संस्थाहरूलाई हस्तान्तरण गरिएको हो ।
दूतावासका अनुसार काठमाडौंमा आयोजित कार्यक्रममा २२ वटा एम्बुलेन्स दूतावासमार्फत् हस्तान्तरण गरिएका हुन् भने बाँकी एम्बुलेन्स वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास, पोखराको भारत सरकारका प्रतिनिधि कार्यालय र धरानमार्फत् हस्तान्तरण गरिएको हो ।

भारत सरकारले विगत तीन दशकदेखि नेपालभरका विभिन्न सामाजिक संस्थालाई एम्बुलेन्स र स्कूल बस उपहार दिँदै आएको छ ।
सन् १९९४ देखि हालसम्म १,०४९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस नेपाललाई उपहारस्वरूप दिइसकिएको दूतावासले जनाएको छ ।
भारत-नेपाल विकास साझेदारीअन्तर्गत प्रदान गरिएका यी एम्बुलेन्सले नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा महत्त्वपूर्ण सहयोग पुग्ने दूतावसाको विश्वास छ ।

काठमाडौंमा आयोजित समारोहमा भारतीय राजदूतावास, काठमाडौंका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले सवारी साधनको चाबी हस्तान्तरण गरे ।
कार्यक्रममा बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नगरपालिका र गाउँपालिकाका मेयर र अध्यक्षहरूका साथै विभिन्न लाभार्थी संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि र समाजसेवीहरू पनि उपस्थित थिए ।
कार्यक्रममा नियोग उपप्रमुखले स्वास्थ्य क्षेत्रमा पूर्वाधार सुदृढीकरण गर्ने नेपाल सरकारको प्रयासलाई मजबुत बनाउन नेपाल–भारत विकास साझेदारी अन्तर्गत उपहारस्वरूप प्रदान गरिने एम्बुलेन्स भारत सरकारको लामो समयदेखिको पहलमध्ये एक रहेको बताए ।
उनले यो पहल भारत र नेपालबीचको निकै बलियो र जीवन्त विकास साझेदारीको एक हिस्सा रहेको उल्लेख गरे ।
नियोग उपप्रमुखसँगको अन्तरक्रियाको क्रममा लाभार्थीहरूले उनीहरूका जिल्ला र नेपालमा हाल सञ्चालनमा रहेका विभिन्न विकास परियोजनामा भारतको सहयोगका लागि कृतज्ञता व्यक्त गरे ।

उनीहरूले नयाँ उपहारस्वरूप प्रदान गरिएका एम्बुलेन्सले आ–आफ्नो क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । वीरगञ्ज, पोखरा र धरानका लाभार्थीहरूले पनि यस्तै भावना व्यक्त गरे ।
सन् २०२२ मा निर्वाचनका बेला २०० वटा सवारी साधन र हालसालै सम्पन्न ‘सगरमाथा संवाद’को पहिलो संस्करणको आयोजनालाई सहज बनाउन नेपालको परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारी साधन उपहारस्वरुप प्रदान गरिएको दूतावासले जनाएको ।