०९ साउन २०८३, शनिबार

मगर संघ बेल्जियममा पहिलोपटक महिला नेतृत्व

असार ४, २०८२
काठमाडौं
मगर संघ बेल्जियममा पहिलोपटक महिला नेतृत्व

मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको हो । यससँगै संघले पहिलोपटक महिला नेतृत्व पाएको छ। 

निर्वाचन प्रक्रियाअनुसार गठन गरिएको पाँच सदस्यीय निर्वाचन मण्डल समक्ष तोकिएको समयसीमाभित्र अध्यक्ष पदका लागि कल्पना मगरको मात्र एकल उम्मेदवारी आवेदन परेको थियो। अध्यक्षमा पदमा अरू कसैको उम्मेदवारी नपरेपछि निर्वाचन मण्डलले नियमअनुसार कल्पना मगरलाई निर्विरोध निर्वाचित अध्यक्ष घोषणा गरेको हो। अधिवेशनले विविध भूगोल र पृष्ठभूमिबाट प्रतिनिधित्व हुनेगरी नयाँ कार्यसमिति गठन गरेको छ ।

उपाध्यक्षमा रोल्पाका हिमाल बुढा मगर, सचिवमा दुई जना बागलुङका सन्दर्भ पुन र गुल्मीकी कृष्णकुमारी पुन चयन भएका छन् । कोषाध्यक्षमा गुल्मीकै दीपक थापा, सह-कोषाध्यक्षमा बागलुङका क्षेत्र थापा र सांस्कृतिक विभाग संयोजकमा गोरखाका अमर रानाले जिम्मेवारी पाएका छन् ।

लेखा समितिको संयोजकमा म्याग्दीका मोहन रोका चयन भएका छन् । सदस्यहरूमा रुकुमका सुजीत बुढा मगर र सतमान पुन, रोल्पाका श्याम बुढा मगर, म्याग्दीका पुरन पुन, दाङका मिलन पुन, तथा सोलुखुम्बुकी दिलमाया मगर रहेका छन् ।

कार्यसमितिमा विभिन्न जिल्लाका महिला र युवा प्रतिनिधित्वलाई समेटिएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली राजदूत सेवा लम्साल (बेनेलक्स राष्ट्रहरू तथा युरोपियन युनियन)को उपस्थिति रहेको थियो।

विशेष अतिथिका रूपमा अन्तराष्ट्रिय मगर महासंघ महासचिव तथा आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्ती मगर, अन्तर्राष्ट्रिय मगर महासंघ युरोप संयोजक नेत्र मगर, एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा तथा जेष्ठ नागरिक तथा विशिष्ट अतिथि लालप्रसाद पाईजाको लगायत बेल्जियमा कृयाशील दर्जनौ संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राजदूत लम्सालले नेपाली समुदाय विशेषतः मगर संघले प्रवासमा नेपाली संस्कृति र पहिचान संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरिन् । बेल्जियममा रहेको नेपाली दूतावास सधैं सहयोगका लागि तयार रहेको उनले बताइन् । नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगरले मगर संघको सफल अधिवेशनले संस्थागत सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै समुदायबीचको सहकार्य अझ सशक्त बनाउन सुझाव दिए ।

अन्तर्राष्ट्रिय मगर महासंघ युरोप संयोजक नेत्र मगरले मगर संघ बेल्जियमले युरोपमै उदाहरणीय संगठनको रूपमा कार्य गरिरहेको उल्लेख गर्दै आगामी दिनमा युवा नेतृत्व र नारी सहभागिता झनै उत्साहजनक हुने आशा व्यक्त गरे ।

एनआरएनए बेल्जियमकी अध्यक्ष सापकोटाले गैरआवासीय नेपालीहरूको साझा हितमा मगर संघजस्ता संस्थाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताइन् । भावी सहकार्यमा आफूहरू सधैं सकारात्मक रहने उनले प्रतिबद्धता व्यक्त गरिन् । 

नव-निर्वाचित अध्यक्ष कल्पना मगरले धन्यवाद ज्ञापन गर्दै संघलाई समावेशी, क्रियाशील र समुदायको साझा आवाजको थलो बनाउन पूर्ण समर्पणका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्