नेपालको तराई–मधेशको उर्वर भूमिमा हरियाली बनाउनेसँगै ३१ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा पछिल्लो समय धमाधम काम भइरहेको छ ।
सिन्धुली र रामेछाप जिल्लाको सिमानामा अवस्थित यो राष्ट्रिय गौरवको आयोजना नेपालको जलस्रोत उपयोग र कृषि क्रान्तिको नयाँ अध्याय हो ।
१ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने र ३१ दशमलव ०७ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्यसहित यसले देशको आर्थिक विकास, खाद्य सुरक्षा र सामाजिक उत्थानको बलियो आधार तयार पार्न खोजिरहेको छ ।
नेपालको कूल गार्हस्थ्य उत्पादनमा एकतिहाइ योगदान गर्ने कृषि क्षेत्र देशको आर्थिक मेरुदण्ड हो ।
तर, तराई–मधेशका अधिकांश सिँचाइ आयोजना नदीको मौसमी बहावमा निर्भर हुने भएकाले वर्षैभरि सिँचाइको ग्यारेन्टी गर्न सक्दैन ।
सुनकोशी–मरिन डाइभर्सनले यो चुनौतीलाई समाधान गर्न सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरुङमार्फत मरिन नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्याउँदैछ ।

यसले धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्नेछ । यसमा, बागमती सिँचाइ आयोजनाले हाल सिँचाइ गरिरहेको ४५ हजार ६०० हेक्टर जमिन पनि समेटिनेछ ।
यो आयोजनाले कृषि उत्पादन र नगदेबालीमा वृद्धि गरी खाद्य सुरक्षालाई बलियो बनाउने र आयातमा निर्भर कृषि व्यापार घाटा कम गर्ने लक्ष्य राखेको छ ।
'यो आयोजना सम्पन्न भएपछि तराई–मधेशको खेतबारी हरियाली बन्नेछ, किसान आत्मनिर्भर बन्नेछन्,' आयोजनाका एक इन्जिनियर चुडामणि बस्ताकोटीले स्थलगत अवलोकनका क्रममा लोकान्तरसँग भने, 'कृषि उत्पादनको वृद्धिसँगै स्थानीय अर्थतन्त्रले नयाँ गति लिनेछ ।'
जलविद्युत् र औद्योगिक विकासको आधार
सिँचाइसँगै यो आयोजनाको दोस्रो महत्त्वपूर्ण उद्देश्य ३१ दशमलव ०७ मेगावाट जलविद्युत् उत्पादन हो । सिन्धुलीको कुसुमटार, कमलामाई नगरपालिका–२ मा निर्माणाधीन पावरहाउसले उत्पादन गर्ने विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
'जलविद्युत् उत्पादनले औद्योगिक विकासलाई गति दिन्छ र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नेछ,' बस्ताकोटीले थपे ।
यो आयोजनाले जलस्रोतको बहुउद्देश्यीय उपयोगलाई प्राथमिकता दिँदै सिँचाइ, विद्युत् र पर्यावरणीय सन्तुलनलाई एकसाथ अगाडि बढाउँदैछ ।

आधुनिक प्रविधिको प्रयोग : डबल शिल्ड टनेल बोरिङमशिन
यो आयोजनाको सबैभन्दा उल्लेखनीय पक्ष हो, १३ दशमलव ३ किलोमिटर लामो सुरुङ ।
सिवालिक, लेजर र हायर हिमालयको जटिल भौगोलिक अवस्थामा डबल शिल्ड टनेल बोरिङ मशिनको प्रयोग गरी यो सुरुङ निर्माण गरिएको छ ।
गत वर्ष वैशाख २६ गते यो सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको थियो, जुन आयोजनाको एक महत्त्वपूर्ण उपलब्धि हो ।
यो प्रविधिको सफल प्रयोगले नेपालको ठूला पूर्वाधार निर्माणमा नयाँ सम्भावना उजागर गरेको इन्जिनीयर बस्ताकोटीको भनाइ छ ।
सुरुङमा टर्सियरी ग्राउटिङ र अन्य प्राविधिक कामहरू सम्पन्न भइसकेका छन् । अन्य काममा केही ढिलाई हुन पुगेपछि सुरुङको पानी परीक्षण भने अहिलेसम्म गरिएको छैन ।
सामाजिक र पर्यावरणीय प्रभाव
सुनकोशी–मरिन डाइभर्सनले सिँचाइ र विद्युत् उत्पादनमा मात्र सीमित नरही सामाजिक र पर्यावरणीय पक्षलाई पनि प्राथमिकता दिएको आयोजनाले बताएको छ ।
आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक र पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
त्यसअन्तर्गत रामेछापको हत्तीटारमा डुबान क्षेत्रमा पर्ने करिब २७ हेक्टर जमिन माझी समुदायलाई हस्तान्तरण गरिएको छ । मरिन नदी नियन्त्रण, किसानका सिँचाइ कुलोको पुनःस्थापना र पर्यावरणीय व्यवस्थापनका कार्यक्रमहरू पनि सञ्चालनमा छन् ।
यसबाहेक, आयोजना सम्पन्न भएपछि सुनकोशी र तामाकोशी क्षेत्रमा माछापालन, आन्तरिक तथा बाह्य पर्यटन र जलाशयमा आधारित मनोरञ्जनात्मक व्यवसायहरू फस्टाउने अपेक्षा छ ।

आर्थिक र प्राविधिक पक्ष
यो आयोजनाको कुल अनुमानित लागत ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ छ । निर्माण कार्य २०७७/७८ मा शुरू भएको यो आयोजना २०८५/८६ सम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।
हालसम्म ३१ दशमलव ४८ प्रतिशत आर्थिक र ३४ दशमलव ८६ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको डिटेल्ड फिजिबिलिटी स्टडी रिपोर्ट, खरिद गुरुयोजना र वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेका छन् । यससँगै, तीनवटा सार्वजनिक सुनुवाइ पनि सम्पन्न भएको बस्ताकोटीको भनाइ छ ।
आयोजनाका प्रमुख संरचनाहरूमा हेडवर्क्स, इन्टेक, डिसिल्टिङ बेसिन, पावर क्याभर्न, पावरहाउस (मरिन नदीको बायाँ किनारमा), स्विचयार्ड र पेनस्टक छन् ।
निर्माणाधीन यी संरचनाहरूले आयोजनालाई बहुउद्देश्यीय बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।
राष्ट्रिय गौरव र भविष्यको बाटो
सुरुङमार्गको ब्रेक थ्रु समारोहमा बोल्दै तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए– 'यो आयोजना सम्पन्न भएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नेछ । सिँचाइ प्रणालीमा सुधार, कृषि उत्पादन वृद्धि र जलविद्युत् उत्पादनले समृद्धिको लक्ष्य नजिकिनेछ ।'
उनले ठूला पूर्वाधार निर्माणबाट सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भन्दै समयमै आयोजना सम्पन्न गर्न सम्बद्ध सबैलाई निर्देशन दिएका थिए ।
हेर्नुहोस्, भिडियो :