०३ साउन २०८३, आइतबार
रास्वपा उपसभापतिको सक्रियता

शीर्ष नेतासँग स्वर्णिमको शृंखलाबद्ध संवाद– किन भेटे ओली, देउवादेखि प्रचण्ड ?

असार ९, २०८२
काठमाडौं
शीर्ष नेतासँग स्वर्णिमको शृंखलाबद्ध संवाद– किन भेटे ओली, देउवादेखि प्रचण्ड ?

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ । उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समिति बनाएर अध्यागमनबाट वर्षौंदेखि हुँदै आएको विकृतिलाई रोक्नुपर्ने रास्वपाको माग छ । 

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सत्तारुढ दलसँग दुई बुँदे सहमति गरेर संसदीय प्रक्रियामा सहभागी भएको छ । माओवादी सहमतिमा आएपछि रास्वपाको वेल घेराउका बीच पनि प्रतिनिधिसभा बैठक चलिरहेको छ । रास्वपा संसद् अवरोधमा लागे पनि यसका नेताहरू भने सत्तारुढ दलका नेतासँग संवादमा जोडिँदै आएका छन् । 

यी समस्या आउनु अगाडिदेखि नै रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले पार्टीका शीर्ष नेतासँग संवाद गर्दै आएका हुन् । रास्वपा सभापति रवि लामिछानेविरुद्ध पाँचवटा जिल्लामा सहकारी ठगी प्रकरणको मुद्दा लागेको छ । यसैले रास्वपालाई दुई उपसभापतिले कमान्ड गरिरहेका छन् । 

रविमाथि प्रश्न उठेपछि अर्का उपसभापति डोलप्रसाद अर्याल कार्यवाहक सभापतिको हैसियतमा छन् । तर, पछिल्लो एक डेढ महिनायता उपसभापति वाग्लेले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग भेटिसकेका छन् ।

वाग्ले स्वयंले चौथो ठूलो पार्टीको उपसभापति हुनुको नेताले प्रमुख दलका शीर्षसहितका नेतासँगको भेट स्वाभाविक भएको बताए । 

‘रास्वपा संसदको चौथो ठूलो शक्ति हो । यही दलको म उपसभापति पनि हुँ । सक्रिय राजनीतिमा रहेका पार्टीहरूबीच भेटघाट र छलफल सामान्य विषय हुन् । सबैसँग संवाद गर्नु अन्यथा होइन । अहिले एकाएक शेरबहादुर देउवासँग भेटेको विषय चर्चामा आयो,’ वाग्लेले भने, ‘त्यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका थुप्रै नेतासँग भेटें । भेटमा समसामयिक राजनीति, संसदीय अभ्याससहितमा छलफल भएका हुन् । देउवाजीसँगको भेट त ५ हप्ता अगाडिको हो ।’

देउवासँगको भेटका लागि वाग्ले उनको निवासमा पुगेका थिए । उनीहरूबीच पौने घण्टा छलफल भएको थियो । यो भेटको संयोजन कांंग्रेस नेता डा. नारायण खड्काले गरेका थिए । उनले पनि दलहरूबीच संवाद गरिरहनुपर्छ भनेर संवाद भएको बताए । 

‘अहिले आएर किन चर्चा गरे थाहा छैन । तर, एक महिनाअघि स्वर्णिमजीसँग सभापतिको भेट भएको हो,’ खड्काले भने, ‘हिजो वाग्लेजी कांग्रेसमा हुनुहुन्थ्यो । त्यसैले उहाँसँग सभापतिको भेट हुनु सामान्य विषय हो । यस्ता भेटलाई शिष्टाचारका रूपमा लिँदा ठीक हुन्छ ।’

वाग्ले पनि राजनीति गर्ने मान्छेबीचका यस्ता भेटलाई अन्यथा लिन नहुने बताउँछन् ।

‘अरूलाई भेटेपछि सभापति देउवा मात्रै बाँकी हुनुहुन्थ्यो । अनि उहाँसँग पनि भेट भएको हो । दलका नेताहरूबीच भेटघाट हुनुपर्छ । राजनीतिक संस्कार देखाउनुपर्छ भनेर पनि भेट्न गएको हुँ,’ वाग्लेले भने, ‘दलका नेता भेटेपछि राजनीतिक कुराकानी त हुने भइहाले ।’

स्वर्णिम वाग्ले

देउवाले वाग्लेलाई लोकतान्त्रिक विरासत भएको मान्छेले किन कांग्रेस छाड्नुभयो ? भनेर सोधेका थिए । 

‘तपाईं लोकतान्त्रिक विरासत बोकेको व्यक्ति हो । महासमिति सदस्य हुनुहुन्थ्यो । यत्ति छिट्टै कांग्रेस छाड्न हुन्थेन । आफूलाई चित्त नबुझेको विषयमा भित्रै लड्ने हो । हामी पनि लड्दै आएका हौं भन्नुभयो,’ वाग्लेले भने, ‘जवाफमा मैले म ५/१० वर्षका लागि मात्रै राजनीति गर्न आएको हुँ । तपाईंले त टिकट नै दिनुभएन, बाहिर राख्न खोज्नुभयो भनें ।’

वाग्लेले अहिले रास्वपामा खुशी भएरै बसेको पनि बताएका थिए । 

‘जहाँ छु खुशी भएर बसेको छु भनें,’ वाग्ले भन्छन्, ‘रास्वपालाई पनि लोकतान्त्रिक शक्ति बनाउन लागेको छु भनेर फर्किएँ ।’ 

रास्वपा प्रवेश गरेको केही समयमै उपचुनावबाट वाग्ले सांसद बनेर आएका थिए । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली भएको क्षेत्रबाट वाग्ले सांसद निर्वाचित भएका हुन् । उनलाई रास्वपाले उपसभापति पनि बनाएको छ । 

सभापतिलाई मुद्दा लागेपछि पार्टी चलाउनुपर्ने जिम्मा अर्याल र वाग्लेको काँधमा छ । यसैले दुवैले आफ्नो राजनीतिक हाइट अझै बढाउने अवसरलाई सदुपयोग गर्ने नीति लिएका छन् । वाग्लेलाई देउवाले आफू प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका थिए । तर, कांग्रेसबाट गत निर्वाचनमा टिकट नपाएपछि वाग्ले रास्वपा प्रवेश गरेका थिए । 

यता, कांग्रेसले पनि रास्वपालाई संवादमै राख्ने नीति लिएको छ । माओवादी केन्द्रलाई फकाउँदै २ बुँदे सहमतिमा ल्याएको कांग्रेस रास्वपालाई पनि फकाउन लागिपरेको हो । 

यसअघि उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले रास्वपासँग वार्ता गरेका थिए । सो वार्तामा उपसभापतिद्वय अर्याल र वाग्लेसहितका नेता सहभागी भएका थिए । 

२ बुँदे सहमति गर्नुअघि रास्वपालाई पनि सहमतिमा ल्याउने प्रयास कांग्रेस र माओवादीले गरेका थिए । प्रचण्ड र खड्काले समेत छुट्टै भेट गर्दै रास्वपालाई मनाउन खोजेका थिए ।

तर, रास्वपाले २ बुँदेको सट्टामा ५ बुँदे प्रस्ताव अगाडि सार्‍यो । त्यसपछि कांग्रेस–एमालेले माओवादीसँग २ बुँदे सहमतिमा हस्ताक्षर गर्दै संसद् खुलाए । तर, रास्वपाले नियमित चलेको संसदमा वेल घेर्ने र बहिष्कार गर्ने नीति लिएको छ । 

२ बुँदे सहमतिको पहिलो बुँदामा अख्तियारले भिजिट भिसा र अध्यागमनको विषयमा गरिरहेको छानबिनलाई सहजीकरण गर्ने उल्लेख छ । 

दोस्रो बुँदामा ‘अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने’ उल्लेख छ । तर, रास्वपाले समय उल्लेख गरेरै छानबिन समिति गठन गर्नुपर्ने विषयलाई अगाडि सार्दै आएको छ । 

उपसभापति वाग्ले अध्यागमन र भिजिट भिसा दुरुपयोग प्रकरणमा आफूहरूले उठाएको विषयमा युवाले उत्साहपूर्व समर्थन गरेको दाबी गरे । 

‘हामी अध्यागमन र भिजिट भिसा दुरुपयोग प्रकरणको मसिनो छानबिन हुनुपर्छ भन्ने पक्षमा छौं । माओवादीले बीचमै दुई बुँदे सहमति गर्‍यो,’ वाग्ले भन्छन्, ‘तर, हाम्रो मुद्दामा युवाले पनि उत्साहजनक रूपमा साथ दिएका छन् । यसैले उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समिति गठन नगरेसम्म मान्दैनौं ।’

सोही अडानमा रहेको रास्वपाले निरन्तर संसद् अवरोध गरेपछि कांग्रेस केही नरम भएको छ । उच्चस्तरीय नाम नदिई कुनै कार्यदल वा एउटा समिति गठन गर्ने गरी गृहकार्यमा कांग्रेस छ । यसका लागि उपसभापति खड्का र गृहमन्त्री रमेश लेखकले गृहकार्य गर्दै आएका छन् । 

कांग्रेस मात्रै नभएर रास्वपालाई समेत सदनको अवरोधबाट बाहिर निस्कनुपर्ने दबाब भएको देउवानिकट स्रोत बताउँछ । 

‘लोकतान्त्रिक प्रक्रियामा सांसदले पनि विरोध गर्न नपाउने भन्ने हुँदैन । तर, यसमा संसदीय प्रक्रिया र मर्यादाका कुरा हुन्छन्,’ देउवानिकट स्रोत भन्छ, ‘उहाँहरूले जति नै आन्दोलन भने पनि संसद् अवरोधबाट उहाँहरूलाई निस्कनै पर्नेछ, किनकि सदनमा अवरोध हुँदा धेरै कुरा प्रभावित भइसकेको छ ।’ 

स्वर्णिम वाग्ले

एमाले सशंकित

प्रमुख प्रतिपक्षी माओवादीसँग दुई बुँदे सहमति गरेपछि अरू विपक्षीसँग छुट्टै सहमति आवश्यक नभएको एमालेको अडान छ । तर, कांग्रेसभित्र रास्वपालाई कुनै न कुनै हिसाबले सहमतिमा ल्याएर मात्रै सदन नियमित चलाउनुपर्ने मत बलियो छ । यसपछि कांग्रेसले कहिले माओवादी त कहिले रास्वपासँग छलफल गर्दै आएको छ, जसले एमालेलाई सशंकित बनाएको देखिन्छ ।

देउवाले वाग्लेसँग निवासमै भेटेको खबर बाहिरिएपछि एमाले नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमा यस्ता भेटले नयाँ ट्वीस्ट नै आउन सक्ने बताएका थिए । ‘भिजिट भिसामा संसदमा पलेँटी कसेर दिनदिनै तमासा देखाउनेहरू रातभरी कांग्रेस नेताका पिँढीमा देऊ न मलाई बास भन्दै सुरिलो भाकामा मुरली धुन बजाउँदै किन धाएका होलान् ?,’ बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो प्रकरणमा नयाँ ट्वीस्ट भएमा नेपाली राजनीतिको आठौं आश्चर्य नमानौं है ।’

यसअघि देउवा प्रचण्डसँग फोनमा समेत कुरा गर्न तयार हुन्थेनन् । एमालेसँग मिलेर सरकार बनाएपछि शंका बढ्छ भन्दै प्रमुख प्रतिपक्षीलाई भेट्न देउवाले इन्कार गर्दै आएका थिए । तर, केही दिन अगाडि देउवाले आफ्नै निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरे । 

यही भेटले एमालेका कतिपय नेतामा आशंका बढाइदिएको छ । एमालेसँगको सत्ता गठबन्धनलाई निरन्तरता दिन नहुने मत कांग्रेसभित्रै पनि छ । यसैले देउवाले प्रचण्ड, वाग्लेसहितका नेतालाई भेट्नुले एमालेलाई झस्काएको हो । 

salt training

कमेन्ट गर्नुहोस्