२४ जेठ २०८३, आइतबार
लोकान्तर एक्सप्लेनर

दैलेखमा मिथेन ग्यासको भण्डार- कहिले र कसरी हुन्छ व्यावसायिक उत्पादन ? [भिडियो स्टोरी]

असार ११, २०८२
काठमाडौं

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेसँगै ऊर्जामा नेपालको नयाँ युग शुरू भएको चर्चा चल्न थालेको छ । दैलेखको भैरवी गाउँपालिका- १ जलजलेमा ११२ दशमलव १ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक अध्ययनले देखाएको हो ।

सन् २०१९ देखि अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेको अध्ययनले दैलेखमा ठूलो मात्रामा प्राकृतिक ग्यास रहेको पत्ता लगाएको छ । चीनले ११३ मिलियन आरएमबी अर्थात् करिब २ अर्ब १७ करोडको लगानीमा यो अध्ययन गरेको हो, जुन करिब ६ वर्षमा सम्पन्न भएको छ । 

प्रारम्भिक अध्ययनले ठूलो मात्रामा वातावरणमैत्री प्राकृतिक ग्यास रहेको देखाएको खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा प्रवक्ता दिनेशकुमार नापितको भनाइ छ । 

‘हामीले पेट्रोलियम नै अथवा लिक्विड आयल भेटेको होइन । ठूलो मात्रामा ग्यास भेटिएको हो, जसमा ९० प्रतिशतभन्दा बढी मिथेन ग्यास रहेको देखिएको छ’, उनले भने, ‘सीएनजीको रूपमा हामीले यो ग्यास प्रयोग गर्न सक्छौं, जुन एलपीजी ग्यासभन्दा बढी वातावरणमैत्री रहेको छ । यसले एलपीजीलाई विस्थापित गर्न सक्छ ।’

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसबारे जानकारी दिइसकेका छन् । उनले आगामी आर्थिक वर्षभित्र परीक्षण उत्पादन गरिसकिने दाबीसमेत गरेका छन् ।

प्रारम्भिक अध्ययन प्राप्त भएसँगै परीक्षणका लागि विभागले प्रक्रिया अघि बढाइरहेको छ । चीनले अध्ययनसँगै ग्यासको परीक्षण पनि आफैंले गर्नका लागि प्रस्ताव गरेको छ । परीक्षणको लागत करिब ६५ करोड लाग्ने अनुमान गरिएको छ ।

ग्यासको परीक्षणपछि यसको उत्पादन नेपाल सरकार स्वयंले पनि गर्न सक्नेछ भने यसका लागि कुनै निजी कम्पनीलाई पनि दिन सकिने विभागको भनाइ छ । 

null

अबको एक वर्षभित्रै ग्यास उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढ्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताए । नेपालका लागि यो सबैभन्दा ठूलो फड्कोको रूपमा रहेको उनको भनाइ छ ।

‘हामीले यसलाई छिटोभन्दा छिटो उत्पादन प्रक्रियामा लैजाने प्रयास गरिरहेका छौं । एक वर्षभित्रै उत्पादनमा जाने गरी तयारी गरिरहेका छौं’, मन्त्री भण्डारीले भने, ‘हाम्रो लागि यो ठूलो कुरा हो । यसले पक्कै पनि हाम्रो आयातलाई काम गर्न भूमिका खेल्नेछ । मन्त्रालय यसमा सकारात्मक छ ।’

दैलेखमा भेटिएको ग्यास ११७ खर्ब रूपैयाँभन्दा बढी मूल्यको रहेको अध्ययनले देखाएको छ । यसका साथै अहिले नेपालमा ग्यासको खपतलाई आधार मान्दा करिब ६० वर्षसम्म नेपालमा ग्यासको खपत धान्न सक्ने प्रतिवेदनले देखाएको छ ।

हालसम्म ४ हजार १३ मिटर ड्रिल गरिएको छ, जहाँ करिब ९० प्रतिशत भन्दाबढी मिथेन ग्यास रहेको पाइएको छ । सन् २०१६ मा चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गरिदिने समझदारी भएको थियो । सन् २०१७ अगस्टमा चीनसँग पेट्रोलियम पदार्थ अध्ययनका लागि सहयोग गर्ने सम्झौता भएको थियो । 

अर्थात् चीनले आफ्नै लगानीमा ग्यासको अध्ययन गर्ने सम्झौता गरेको थियो । सन् २०१९ फेब्रुअरीमा कार्यान्वयनका लागि सम्झौता भएको थियो । यो सम्झौता खानी तथा भूगर्भ विभाग र चाइना फिजियोलोजी सर्भेबीच भएको थियो । 

सर्भेले प्रारम्भिक अध्ययनको प्रतिवेदन बुझाउने अवधि सन् २०२५ को डिसेम्बरसम्म । तर, केही दिनअघि मात्रै विभागलाई उक्त अध्ययनको प्रतिवेदन पठाइसकिएको छ । 

अब विभागले प्राप्त गरेको अध्ययन प्रतिवेदनमा मन्त्रालयबाट प्रक्रिया अगाडि बढाएर परीक्षणको काम गरिनेछ । परीक्षणका लागि करिब ७५ दिन लाग्ने जनाइएको छ । चीनले परीक्षण पनि आफैं गर्नका लागि मन्त्रालयलाई प्रस्ताव गरेको छ । 

यसका साथै नेपालका अन्य तीन स्थानमा पनि ठूलो मात्रामा ग्यास रहेको अनुमान गरिएको छ । दाङ, पाल्पा र सुनसरीमा करिब ४३० अर्ब घनमिटर ग्यास रहेको विभागको अनुमान छ । यद्यपि, यसको अध्ययन हुन बाँकी छ ।

हेर्नुहोस्,भिडियो :

salt training

कमेन्ट गर्नुहोस्