
महिनौंपछि बल्ल बस्न लागेको कांग्रेस केन्द्रीय समिति बैठकको एजेन्डामा विवाद भएको छ ।
मुख्यगरी भ्रातृ संस्थाको अधिवेशन र क्रियाशील सदस्यता नवीकरणको विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक असार १६ गते बस्ने गरी डाकिएको छ ।
तर, वर्षौंसम्म महाधिवेशन गर्न नसकेका नेविसंघ, महिला संघ, तरुण दलसहितका भ्रातृ संस्थालाई विघटन गर्ने कि म्याद थप्ने भन्नेमा विवाद भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवा केही समय दिएर पुरानो समितिलाई महाधिवेशन गर्न दिनुपर्ने पक्षमा छन् । तर, महामन्त्री गगन थापासहितका नेता वर्षौंसम्म संगठनलाई अलपत्र पारेका तदर्थ समिति भंग गर्नुपर्ने पक्षमा देखिँदै आएका छन् ।
केही दिनअघि सभापति देउवाले महामन्त्री थापासहितका नेतासँग भ्रातृ संस्थाबारे छलफल गरेका थिए । तर, देउवा म्याद थप्नुपर्ने र गगन भंग गर्नुपर्ने मतमा अल्झिएका थिए । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि भ्रातृ संस्थाको हकमा के गर्ने भन्नेमा दुईवटा मत रहेको बताए ।
‘वर्षौंसम्म केही भ्रातृ संस्थाले महाधिवेशन गर्न नसकेको सही हो । यसैले तदर्थ समिति भंग गर्ने कि समय दिने भन्ने दुवै मत छ । यसमा पदाधिकारी तहमा छलफल भएको छ । बैठकअगाडि फेरि पनि छलफल गर्छौं,’ महतले लोकान्तरसँग भने, ‘एकथरीले अब तदर्थ समितिलाई भंग गरौं भनिरहनुभएको छ । अर्कोतिर पार्टीले नै समय तोकेर महाधिवेशनको अल्टिमेटम दिनुपर्ने मत राख्नुभएको छ ।’
क्रियाशील सदस्य नवीकरणमा तनाव कायमै
यसअघि पटकपटक समय थपेपछि असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण टुंग्याउने घोषणा कांग्रेसले गरेको छ । महामन्त्री गगन थापा संयोजकत्वको सदस्यता व्यवस्थापन समितिले असार मसान्तसम्म सदस्यता टुंगो नलगाए महाधिवेशनमा भाग लिन नदिने उर्दी जारी गरेको थियो ।
पार्टी केन्द्रको उर्दीका बाबजुद पनि असार मसान्तसम्म सबै जिल्लाले सदस्यता टुंग्याउने स्थिति नरहेको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जानकारी दियो । कांग्रेस बैठकमा यो विषयमा समेत समीक्षा हुने प्रवक्ता महत बताउँछन् ।
‘क्रियाशील सदस्यता नवीकरणको काम सकिइसकेको छैन, त्यसपछि बल्ल नयाँ वितरण हुने छ । असार मसान्तसम्मको समय दिएका छौं,’ महतले भने, ‘कति सकिन्छ, टुंगो छैन । बैठकमा अब कसरी अगाडि बढ्ने भन्नेमा पनि छलफल हुनेछ ।’
सरकारको समीक्षा हुने
आफैं सम्मिलित सरकारको एकवर्षे समीक्षा कांग्रेस बैठकको अर्को एजेन्डा हुनेछ । सरकारको एक वर्षको कार्यकाल प्रभावकारी नभएको भन्दै पार्टीभित्र प्रश्न उठिरहेका बेला कांग्रेसले समीक्षा गर्न लागेको हो ।
‘हामी पनि सम्मिलित सरकारको एक वर्ष अपेक्षा गरिएअनुसार भएको छैन । तर, धेरै अपेक्षा छन् । अपेक्षाभन्दा धेरै नै काम गर्न सकिने सुविधा दुई ठूला दलको सरकारलाई थियो । फोकस गरेर अझै राम्रो काम गर्न सकिन्थ्यो,’ महतले भने, ‘तर, एकदमै खराब भयो भन्ने पनि छैन । यो भन्दा राम्रो गर्न सकिन्थ्यो । यसैले सरकारको काम गराइ र हाम्रै मन्त्रीहरूको कार्यसम्पादन पनि समीक्षाको विषय बन्छ ।’
पछिल्लो समय सरकारको बचाउमा संस्थापन पक्षकै नेतासमेत खुलेर लागेका छैनन् । संसदको अवरोध खुलाउने बहानामा सभापति देउवाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका उपाध्यक्षसहितका नेतासँग भेट गरेका छन् । सरकारको कामलाई लिएर प्रश्न उठिरहेका बेला देउवाको यो भेटपछि एमाले केही सशंकित भएको छ ।
अहिलेसम्म खुलेर देउवाले सरकारको कदमको विरोध गरेका छैनन् । तर, यसअघि गभर्नरमा र केही दिनअघि ‘टेक एन्ड पे’को विषयमा एमाले र कांग्रेसबीच तनावको स्थिति आएको थियो ।
आपसी छलफलमा यी दुवै विषयमा समझदारी खोजिएको छ । तर, कांग्रेसभित्र संस्थापन र इतर पक्षका नेताले नै प्रतिस्पर्धी एमालेसँगको सत्ता समीकरण पार्टीको हितमा नरहेको बताउँदै आएका छन् ।
केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले उत्पादनशील क्षेत्रले लाभ लिने गरी बजेट आउँदा पनि कांग्रेसले वास्ता नगरेको विषय बैठकमा उठाउने बताए ।
‘कांग्रेस पनि सरकारमा छ । तर, दुई ठूला पार्टीले वर्तमान चुनौतीलाई प्रभावकारी रूपले चिर्ने गरी बजेट ल्याउनुपर्थ्यो, गुड गभर्नेन्स र उत्पादनशील क्षेत्रबाट प्रतिफल हुनेगरी बजेट आउनुपर्नेमा त्यस्तो भएन,’ पोखरेलले भने, ‘हामीले आफ्ना मन्त्रीमार्फत पनि सकारात्मक दबाब बढाउन सकेनौं । केन्द्रीय समितिमा यी कुरामा समीक्षा गर्छौ ।’
डा. शेखर कोइराला पक्षले बैठकपूर्व छुट्टै छलफल अहिलेसम्म डाकेको छैन । तर, सरकारले गति लिन नसक्दा अपजस कांग्रेसले धेरै लिनुपरेको विषयलाई बैठकमा उठाउने तयारी उनीहरूले गरेका छन् ।
क्रियाशील सदस्यता नवीकरणमा भइरहेका ढिलाइले महाधिवेशन प्रभावित हुने, अलपत्र भ्रातृ संस्थाको महाधिवेशनमा पार्टी उदासीन रहेको विषयलाई पनि प्राथमिकतापूर्वक उठाउने तयारी गरेका छन्
केन्द्रीय समितिअघि पदाधिकारी बैठक बस्ने
एजेन्डामा विवाद भएपछि कांग्रेसले केन्द्रीय समिति बस्ने अघिल्लो दिन असार १५ पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको छ ।
‘बैठकको एजेन्डा तय गर्न सभापतिले असार १५ गते बिहान १० बजे पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाउनुभएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले लोकान्तरसँग भने, ‘मुख्य एजेन्डा तय गरेपछि बल्ल त्यसको भोलिपल्ट केन्द्रीय समितिको बैठक बस्नेछ ।’