०४ साउन २०८३, सोमबार

शुभांशु शुक्ला अन्तरिक्षमा पुगेपछि भारतले भन्यो- अब नेतृत्व गर्ने समय आएको छ

असार १३, २०८२
काठमाडौं
शुभांशु शुक्ला अन्तरिक्षमा पुगेपछि भारतले भन्यो- अब नेतृत्व गर्ने समय आएको छ

स्पेसएक्सको ड्र्यागन यानले केही दिनअघि नासाको केनेडी स्पेस सेन्टरबाट उडान भर्दा एक अन्तरिक्ष यात्रीको काँधमा भारतको राष्ट्रिय झण्डा थियो  ।

भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले आफ्नो राष्ट्रिय ध्वजा काँधमा राखेर विश्वलाई संदेश दिएका थिए, 'हामी फेरि ४१ वर्षपछि अन्तरिक्षमा फर्किएका छौं । यो यात्राले भारतको मानव अन्तरिक्ष कार्यक्रमको शुरूवात गरेको छ ।'

 उनले अन्तरिक्षबाट दिएको यो सन्देशले अर्बौं भारतीयलाई गर्वको अनुभूति गराएको मात्र होइन, भारतको अन्तरिक्ष विज्ञान र रणनीतिक क्षमताको नयाँ अध्यायको घोषणा पनि गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसअघि अन्तरिक्षमा यात्रा गर्नेमा एकमात्र भारतीयको नाम थियो- विंग कमाण्डर राकेश शर्मा । उनी सन् १९८४ मा सोभियत अन्तरिक्ष कार्यक्रम अन्तर्गत सल्यूट ७ मा सात दिन बसेका थिए ।

त्यसपछि लामो समयसम्म भारत अन्तरिक्ष यात्राको क्षेत्रमा मौन थियो । तर, अब शुभांशु शुक्लाको एक्जिओम-४ मिशनमा सहभागिता भारतको वैज्ञानिक, राजनीतिक र सांस्कृतिक आत्मविश्वासको प्रतीक बनेको छ ।

उनी अन्तरिक्षमा जान सफल दोस्रो भारतीय नागरिक भएका छन् । उनी पहिलोपल्ट अमेरिकी सहयोगमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको यात्रा गरिरहेका छन् ।

एक्जिओम-४ मिशन स्पेसएक्सको ड्र्यागन यानमार्फत अन्तरिक्षमा पठाइएको चौथो निजी मानव मिशन हो । यसको नेतृत्व अनुभवी नासा अन्तरिक्ष यात्री पेगी व्हिट्सनले गरेकी छन् भने शुभांशु शुक्ला यस मिसनका पाइलटको भूमिकामा छन् ।

उनीसँगै पोल्यान्ड र हंगेरीका वैज्ञानिकहरूसमेत यस अभियानमा सहभागी छन् । आईएसएसमा पुगेपछि उनीहरूले १४ दिनसम्म अन्तरिक्षमा बसेर वैज्ञानिक अनुसन्धान, शिक्षा, सञ्चार र वाणिज्यिक कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।

शुक्लाको यात्रा केवल उपस्थितिको मात्र विषय होइन, यसले भारतको वैज्ञानिक अनुसन्धानलाई अन्तरिक्षको अत्याधुनिक प्लेटफर्ममा प्रवेश गराएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । इसरोको नेतृत्वमा भारतले एक्जिओम-४ मार्फत महत्वपूर्ण वैज्ञानिक अनुसन्धानहरू शुरू गरेको छ ।

शुक्लाको यो यात्रामा अन्तरिक्षमा खाद्य उत्पादन, जीवन समर्थन प्रणाली, जैविक अनुकूलन, मानव–प्रविधि अन्तर्क्रिया, मांसपेशी क्षयको कारण पत्ता लगाउने र सूक्ष्मजीवहरूको अनुकूलन क्षमताको परीक्षणजस्ता गम्भीर अध्ययन हुनेछन् ।

यसले भविष्यमा अन्तरिक्षमा दीर्घकालीन मानव बासको सम्भावना र पृथ्वीमा लागू हुने बायोटेक्नोलोजीको विकासमा टेवा पुर्‍याउनेछ ।

एक्जिओम-४ मिशन अन्तर्गत इसरोले स्पेस माइक्रोएल्गी, स्प्राउट्स तथा बीउको वृद्धि, टार्डिग्रेडको पुनरुत्थान र प्रजनन, सायनोब्याक्टेरिया परीक्षण, मांसपेशीको क्षयसम्बन्धी अनुसन्धान र अन्तरिक्षमा इलेक्ट्रोनिक डिस्प्लेहरूसँगको अन्तरक्रियात्मक अध्ययन गर्नेछ ।

यीमध्ये कतिपय अनुसन्धानहरू अन्तरिक्ष यात्रुहरूको दीर्घकालीन स्वास्थ्यको लागि महत्त्वपूर्ण छन् भने कतिपय प्रयोग भविष्यमा अन्तरिक्ष खेती, पर्यावरण व्यवस्थापन र जीवन प्रणाली विकासमा निर्णायक बन्न सक्छन् ।

यस मिशनको अर्को महत्त्वपूर्ण पाटो शिक्षा र सामाजिक प्रेरणासँग पनि गाँसिएको छ । शुक्लाले अन्तरिक्षमा रहेका बेलामा भारतीय विद्यार्थीहरू लक्षित कार्यक्रम पनि सञ्चालन गर्दैछन् ।

विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला र गणितका माध्यमबाट विद्यार्थीहरूलाई अन्तरिक्षविज्ञानप्रति अभिरुचि जगाउने यो प्रयासले भारतमा आगामी पुस्तालाई वैज्ञानिक र नवप्रवर्तनको दिशामा प्रेरित गर्ने निश्चित छ ।

शुक्लाको अन्तरिक्षमा यस्तो उपस्थितिले देशभित्रको युवा पुस्तामा 'म पनि अन्तरिक्ष जान सक्छु' भन्ने आत्मविश्वास जगाएको भारतीय अधिकारीहरूले टिप्पणी गरेका छन् ।

शुक्लाको अन्तरिक्ष यात्रा रणनीतिक दृष्टिले पनि यो भारतका लागि दीर्घकालीन महत्त्वको हो । इसरोले सन् २०२५ सम्म गगनयान कार्यक्रम अन्तर्गत आफ्नै मानवयुक्त अन्तरिक्ष मिसन शुरू गर्ने योजना बनाएको छ ।

उक्त मिशनअन्तर्गत तीन जना भारतीय अन्तरिक्ष यात्रीलाई पृथ्वीको ४०० किमी माथिको कक्षमा तीन दिनको लागि पठाइनेछ ।

शुक्लाको आईएसएस अनुभवले गगनयानका लागि आवश्यक सञ्चालन प्रक्रिया, जीवन समर्थन प्रणाली, अन्तरिक्षमा बाँच्नेसम्बन्धी प्रविधि र मनोवैज्ञानिक तयारीका महत्वपूर्ण पक्षहरूबारे प्रत्यक्ष ज्ञान दिलाउनेछ ।

यो अन्तर्राष्ट्रिय सहकार्य भारतको बढ्दो कूटनीतिक प्रभावको संकेत पनि रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नासा जस्तो संस्थासँग सहकार्य गर्दै अन्तरिक्षमा मानव पठाउने भारतको हैसियत अब केवल परिधिमा सीमित छैन ।

यो सहभागिता भविष्यमा अन्य अन्तरिक्ष संस्था र राष्ट्रहरूसँग मिलेर अनुसन्धान, अवलोकन, उपग्रह सञ्चालन र अन्तरिक्ष अन्वेषणमा सामूहिक कदम चाल्न सक्षम बनाउने टिप्पणी गरिएको छ ।

साथै, यसले अन्य अन्तरिक्ष फोरमहरूमा पनि भारतको उपस्थिति निर्णायक बनाउनेछ । यसले वैज्ञानिक स्वायत्तता मात्र होइन, रणनीतिक सन्तुलनमा पनि भारतलाई प्रभावकारी स्थानमा पुर्याउने टिप्पणी भइरहेको छ ।

यससँगै, भारतको अन्तरिक्ष कार्यक्रम अब केवल सरकारी नियन्त्रणभित्र सीमित रहने संकेत देखिँदैन । एक्जिओम स्पेस जस्ता निजी कम्पनीहरूसँग सहकार्य गर्दै भारतले निजी क्षेत्रलाई समेत अन्तरिक्षमा प्रवेश गराउने ढोका खोलिरहेको छ ।

यसले स्पेस टुरिज्म, स्याटेलाइट सेवा, तथ्यांक विश्लेषण, अन्तरिक्षमा कृषि परीक्षण, रोबोटिक्स र कृत्रिम बुद्धिमत्ताजस्ता क्षेत्रमा ठूलो सम्भावना र लगानीको अवसर ल्याउनेछ ।

शुभांशु शुक्लाको यो यात्रा केवल एक व्यक्तिको अन्तरिक्ष उडान मात्र नरहेको भारतको वैज्ञानिक उचाइको नयाँ घोषणा रहेको टिप्पणी भारतमा भइरहेको छ ।

यो मिशनले भारतीय जनताको भावनामा उत्साह थपेको छ र वैज्ञानिक वृत्तमा उत्सुकता जन्माएको छ । यसले अन्तर्राष्ट्रिय स्तरमा भारतको उचाइ फेरि परिभाषित गरेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

नरेन्द्र मोदी नेतृत्वको भारत अब अन्तरिक्षमा केवल अवलोकनकारी राष्ट्र नभएर अनुसन्धानकर्ता, प्रयोगकर्ता र नेतृत्वकर्ता राष्ट्रका रूपमा उदाउँदैछ । यस यात्राको पहिलो पाइला शुभांशु शुक्लाले तय गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्