
मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले असार १४ गते ‘जनताको बहुदलीय जनवादका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठी आयोजना गर्दैछ ।
शनिबार राष्ट्रिय सभामा हुन लागेको कार्यक्रममा फाउन्डेसनका संरक्षक एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि हुनेछन् ।
पूर्व राष्ट्रपति विद्या भण्डारी विशिष्ट अतिथिका रूपमा उपस्थित हुँदैछिन् । विद्या जबज प्रतिपादन गर्ने मदन भण्डारीकी पत्नी हुन् । साथै, एमालेकी पूर्व उपाध्यक्ष पनि हुन् ।
दुई कार्यकाल राष्ट्रपति भएपछि भण्डारीले फेरि एमालेको सक्रिय राजनीति गर्ने तयारी गरिरहेकी छिन् । यही बेला फाउन्डेसनले शनिबार काठमाडौंमा केन्द्रीय स्तरको राष्ट्रिय गोष्ठी गर्न लागेको हो । फाउन्डेसनको कार्यक्रम केन्द्रमा मात्रै सीमित हुने छैन । सात दिनभित्रमा लगभग ७७ वटै जिल्लामा जबजका तीन दशकको अभ्यासबारे चर्चा–परिचर्चा हुनेछ ।

फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले जबजका तीन दशकबारे प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेताहरूले बोल्ने जानकारी दिइन् ।
‘हामीले फाउन्डेसनमार्फत वर्षभरि नै कार्यक्रम गर्दै आएका छौं । प्रत्येक वर्ष हुने कार्यक्रमको शिलशिलामा भोलि राष्ट्रिय विचार गोष्ठीको आयोजना गरेका हौं,’ अध्यक्ष भण्डारीले लोकान्तरसँग भनिन्, ‘कार्यक्रममा जबजका तीन दशकबारे प्रमुख अतिथि, विशिष्ट अतिथिसहितका वक्ताले बोल्नुहुन्छ । हामी भोलि नै मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण गर्छौं । त्यस्तै, दिशाबोध म्यागेजिन पनि विमोचन हुनेछ ।’
मूल समारोह काठमाडौंमा हुने भए पनि फाउन्डेसनले सबै प्रदेश र जिल्लामा कार्यक्रम गर्ने जानकारी भण्डारीले दिइन् । जिल्लामा जबजसम्बन्धी विचार गोष्ठी, समसामयिक राजनीति, वृक्षारोपण, रक्तदानसहितका कार्यक्रम हुने जानकारी भण्डारीले दिइन् ।
पूर्व राष्ट्रपति भण्डारीले फाउन्डेसनकै कार्यक्रममार्फत एमालेको सक्रिय राजनीतिमा फर्किन लागेको औपचारिक घोषणा गर्ने चर्चा छ । फाउन्डेसनले नियमित यस्तो कार्यक्रम गर्दै आएको भन्दै उषाकिरणले यसलाई राजनीतिक विषयसँग जोड्न नहुने बताइन् ।
‘फाउन्डेसनमार्फत हामीले बर्सेनि यस्ता कार्यक्रम गर्दै आएका छौं । यस्ता कार्यक्रममा हामीले एमालेका नेताहरूलाई निमन्त्रणा गर्छौं । यो पटक पनि निमन्त्रणा गरेका छौं । तर, राजनीतिक रूपमा जोडेर चर्चा गरिनुले हामीलाई नै आश्चर्य लागेको छ,’ उषाकिरणले भनिन्, ‘यस्तो राजनीतिक चर्चा हामीले पनि मिडियाबाटै थाहा पायौं । पारिवारिक रूपमा कुरा हुँदा र आयोजकका रूपमा छलफल हुँदा पूर्व राष्ट्रपतिले राजनीतिक विषयमा केही भन्नुभएको छैन ।’
एमाले स्थायी कमिटी सदस्य कर्ण थापा पूर्व राष्ट्रपति राजनीतिमै रहेकाले भोलि राजनीतिक सन्देश दिने बताउँछन् । ‘पूर्व राष्ट्रपति एमालेको सक्रिय राजनीतिमा हुनुहुन्छ । राजनीतिमा सक्रिय हुनेबारे अध्यक्षसँग कुरा गर्नुभयो भनेर हामीले पनि मिडियामार्फत थाहा पायौं,’ थापाले भने, ‘हामीले अहिलेसम्म जबजको रक्षा कति गर्यौं ? अब कसरी रक्षा गर्ने र अगाडि बढ्ने भनेर भोलि पूर्व राष्ट्रपतिले राजनीतिक सन्देश दिनुहुन्छ ।’
एमालेले अंगीकार गरेको जबजको रक्षा कसरी गर्ने भनेर पूर्व राष्ट्रपति भण्डारीले चिन्ता गर्नु जायज भएको उनी बताउँछन् । ‘एमाले मदन भण्डारीद्वारा प्रतिपादित जबजकै बलमा यहाँसम्म आएको छ । अब यसको रक्षा र स्थापित मान्यतामा कसरी जाने भनेर पूर्व राष्ट्रपतिले केही अग्रसरता लिने कुरा महत्त्वपूर्ण छ,’ थापाले भने, ‘यसैले हामी केही समयमा नै उहाँ राजनीतिमा आउनुपर्छ भन्नेमा छौं । राजनीतिमा सक्रिय हुनुहुन्छ । जे जिम्मेवारी लिनुपर्ने हो, त्यो लिनुहुन्छ ।’
भण्डारीले सक्रियतापूर्वक लाग्छु भनेपछि अरू प्रक्रियागत कुराले उनलाई नरोक्ने थापा बताउँछन् । ओली फाउन्डेसनको कार्यक्रममा सहभागी भएर भोलि नै स्पेन जाने तयारीमा रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘भोलि प्रधानमन्त्रीज्यूले मदन भण्डारी फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्नुहुन्छ,’ गौतमले भने, ‘त्यसपछि भोलि नै स्पेन जाने कार्यक्रम छ ।’
आउँदो वर्षभरि नै फाउन्डेसनको कार्यक्रम
मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाएपछि फाउन्डेसलने आउँदो वर्षभरि कार्यक्रम गर्ने तयारी गरेको छ । यसका लागि फाउन्डेसनले कार्यक्रमको मोडालिटी बनाइरहेको जानकारी अध्यक्ष उषाकिरण भण्डारीले दिइन् ।
‘आगामी वर्ष मदन भण्डारी जन्मिनुभएको भएको ७५ वर्ष पुग्दैछ । यसैले हामीले आगामी वर्षलाई हीरक जन्मजयन्तीको रूपमा एक वर्षभरि विभिन्न कार्यक्रम गरेर देशभरि मनाउने तयारी गरेका छौं,’ भण्डारीले भनिन्, ‘यसका लागि हामी छलफलमा जुटिसकेका छौं ।’

भण्डारीको मुभले सशंकित संस्थापन
मदन भण्डारीको विरासत बोकेकी विद्या दुईपटक राष्ट्रपति बनिन् । एमालेको पूर्व उपाध्यक्ष भएर समेत भण्डारीले पार्टी राजनीतिको उच्च पद हाँकिसकेकी छिन् ।
यसैले यी सबैको बलमा उनले एमालेको सक्रिय राजनीति गर्ने र पार्टीको नेतृत्व नै लिने गरी तयारी गरेकी छिन् । जसका लागि देशव्यापी दौडाहा गर्ने, आफूनिकटका र साथ दिने नेता कार्यकर्तालाई विश्वासमा लिने प्रक्रियामा भण्डारी व्यस्त भएकी छिन् ।
विद्यालाई अध्यक्षमा देख्न चाहने नेताहरूले एमालेमा ७० वर्षको उमेरहद कायम हुनुपर्ने गरी बहस गर्दै आएका छन् । यसैले पार्टी अध्यक्ष केपी शर्मा ओली झस्किन पुगेका छन् ।
ओलीसँगैको भेटमा पनि भण्डारीले अब एमालेमा सक्रियतापूर्वक लाग्ने र पार्टी नै चलाउने गरी अगाडि बढ्ने आकांक्षा राखेको नेताहरू बताउँछन् । भण्डारीले अन्तर्वार्ताहरूमा खुलेरै अध्यक्ष ओलीको उमेर र स्वास्थ्यको कुरा उठाएकी छिन्, जसले अध्यक्ष ओलीलाई नराम्ररी चिढ्याएको छ ।
भण्डारीलाई हाबी हुन नदिने आफैं अध्यक्षमा तेहरिने ओलीको तयारी छ । यसै तयारी अनुरूप विधान संशोधन गर्न ओलीले निर्देशन दिइसकेको छ ।
७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधान सच्याएर तेस्रो कार्यकालको बाटो बन्नेछ । यसका लागि भदौमा हुने विधान महाधिवेशनबाट विधान संशोधन गर्ने उनको तयारी देखिन्छ ।
भण्डारीलाई भने पार्टीले राजनीतिमा फर्किने गरी पार्टी सदस्य र कुनै पदमा फर्काएको छैन । पार्टीमा सक्रिय हुन कम्तीमा औपचारिक रूपमा पार्टी सदस्य हुनुपर्छ । केही समयअघि भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको दाबी गरिएको थियो । तर, अहिले नेतृत्वले यो विषयमा बोल्न चाहेको छैन ।
एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पूर्व राष्ट्रपति विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरे/नगरेको विषयमा रिपोर्ट आइनसकेको जानकारी दिए ।
‘सदस्यताको सबै डिटेल आइसकेको छैन । पार्टीको सचिवालय बैठकले पनि असार मसान्तसम्म सदस्यताको विषय टुंग्याउन भनेको छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘केन्द्रीय पदाधिकारी र नेताको नवीकरण पार्टी मुख्यालयबाटै हुने गरेको छ । पूर्व राष्ट्रपतिको हकमा पनि यसको अन्तिममा मात्रै जानकारी हुन्छ ।’
तर, एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भइसकेको हुन सक्ने बताए । ‘केन्द्रीय नेता र प्रभावशाली नेताले केन्द्रमै संगठन विभागबाट सदस्यता नवीकरण गराउनुहुन्छ,’ निरौलाले भने, ‘पूर्व राष्ट्रपतिको सदस्यता पनि नवीकरण भइसकेको जस्तो लाग्छ ।’
पढ्नुहोस्, यो पनि :
एमालेमा गुटबन्दी बढ्न लाग्दा ओली र विद्याबीच भएको अर्थपूर्ण छलफल