०३ साउन २०८३, आइतबार

कनिष्का बम बिष्फोटको चालिसौं वार्षिकी, खालिस्तानी आतंकवादविरुद्ध क्यानडाको कठोर अडान

असार १६, २०८२
काठमाडौं
कनिष्का बम बिष्फोटको चालिसौं वार्षिकी, खालिस्तानी आतंकवादविरुद्ध क्यानडाको कठोर अडान
प्रधानमन्त्री मार्क कार्नी/एएफपी

प्रधानमन्त्री मार्क कार्नीले १९८५ मा भएको कुख्यात कनिष्का बम विस्फोटलाई 'क्यानडाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा घातक आतंकवादी हमला'को रूपमा स्मरण गरेका छन् ।

उक्त विस्फोटमा ३२९ निर्दोष नागरिकले ज्यान गुमाएका थिए, जसमा अधिकांश क्यानडाली थिए ।

खालिस्तानी आतंकवादी समूहसँग सम्बन्धित मानिएको उक्त हमलाले न केवल क्यानडा, बरू भारत-क्यानडा सम्बन्धमा पनि गहिरो असर पार्‍यो ।

कालो दिन: जुन २३,१९८५

१९८५ को जुन २३ मा टोरन्टोबाट दिल्ली हुँदै मुम्बई जाँदै गरेको एयर इन्डिया उडान १८२ बम विस्फोटबाट आयरल्यान्डको तट नजिकै आकाशमै ध्वस्त भएको थियो ।

बोइङ ७४७ विमानमा सवार सबै ३२९ यात्रुको ज्यान गएको थियो ।

उक्त हमलाको दोष खालिस्तानी अलगाववादी समूहमाथि लगाइएको थियो, जसले भारतमा सिख पृथकतावादी आन्दोलनलाई समर्थन गरिरहेको थियो ।

यस घटनाले विश्वभरका सिख समुदाय, भारत सरकार, र क्यानडाली सुरक्षा एजेन्सीबीच गहिरो बहस निम्त्याएको थियो ।

प्रधानमन्त्री कार्नीको प्रतिबद्धता

कनिष्का विस्फोटको ४० औं वार्षिकीको अवसरमा आयोजित स्मृति सभामा बोल्दै प्रधानमन्त्री कार्नीले आतंकवादप्रति आफ्नो सरकारको कडा नीति दोहोर्‍याए ।

'कनिष्का बम विस्फोट हाम्रो देशको इतिहासको सबैभन्दा गम्भीर त्रासदी हो । यसले सयौँ परिवारमा गहिरो चोट पुर्‍याएको छ । हामी पीडितहरूको सम्झनामा एकजुट छौँ र आतंकवादविरुद्धको लडाइँमा दृढ छौँ,' उनले भने ।

प्रधानमन्त्री कार्नीले यस घटनालाई क्यानडाको ‘कालो अध्याय’ भनी व्याख्या गर्दै कुनै पनि प्रकारको चरमपन्थ र हिंसालाई स्वीकार नगर्ने स्पष्ट संकेत दिए ।

खालिस्तानी गतिविधिमाथिक्यानडाको दृष्टिकोण

विस्फोटपछि खालिस्तानी गतिविधिहरूमाथि निगरानी बढाइएको थियो, तर तत्कालीन गुप्तचर प्रणालीको कार्यशैलीमा गम्भीर प्रश्न उठाइयो ।

एक प्रत्यक्षदर्शीका अनुसार हमलाको केही महिनाअघि नै खालिस्तानी नेता तलविन्दर सिंह परमारले एयर इन्डिया विमानमा बम राख्न दुई लाख डलरको प्रस्ताव गरेका थिए । तर, सो जानकारीलाई समयमै संज्ञानमा नलिइएको आरोप छ ।

न्याय प्रक्रियामाथि आलोचना

क्यानडाको इतिहासमा यो घटना सबैभन्दा लामो र जटिल अनुसन्धानमध्ये एक मानिन्छ । यद्यपि दोषीहरूलाई कारबाही गर्न नसकेको भन्दै न्याय प्रणालीप्रति आलोचना भइरहन्छ ।

यस मामिलामा केही व्यक्तिलाई पक्राउ गरिए पनि केवल इन्द्रजीत सिंह रियातलाई मात्रै सजाय सुनाइयो, त्यो पनि अल्पकालीन जेल सजाय मात्र थियो ।

यसले न्यायिक प्रक्रिया, राजनीतिक इच्छाशक्ति र सुरक्षा संयन्त्रप्रति जनआस्था कमजोर बनाएको विश्लेषण गरिन्छ ।

भारत–क्यानडासम्बन्धमा प्रभाव

कनिष्का हमलाले भारत–क्यानडा सम्बन्धमा गहिरो असर पारेको थियो । खालिस्तानी आन्दोलन र तीसम्बन्धी गतिविधिलाई लिएर दुई देशबीच अहिले पनि संवेदनशीलता कायम छ ।

भारतले क्यानडामाथि खालिस्तानी समर्थकहरूलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको छ, जबकि क्यानडा सरकारले स्वतन्त्रताका नाममा केही सीमित गतिविधिहरूलाई निषेध गर्न कठिनाइ भोगिरहेको बताउँछ ।

तर प्रधानमन्त्री कार्नीको पछिल्लो बयानले भारतसँग सहकार्यको संकेत दिएको छ । ‘हामी वैश्विक आतंकवादविरुद्ध साझेदारीमा छौँ,’ उनले भने ।

बम बिष्फोटको ४० औं वार्षिकीको अवसरमा टोरन्टो, भ्यानकुभरलगायत विभिन्न सहरमा पीडितहरूका परिवार र समुदायका सदस्यहरू सहभागी भएर विशेष स्मृति समारोह आयोजना गरिएको थियो ।

प्रधानमन्त्री कार्नी स्वयं उपस्थित भएर पीडितप्रति श्रद्धाञ्जली अर्पण गरे र राष्ट्रिय एकताको सन्देश दिए ।

'हामीले यो त्रासदीबाट धेरै सिकेका छौँ । अबको यात्रामा हाम्रो समाज अझ सुरक्षित, समावेशी र सशक्त हुने छ,' प्रधानमन्त्री कार्नीको भनाइ थियो ।

विश्व समुदायलाई आह्वान

यस अवसरमा क्यानडाली सरकारले विश्व समुदायलाई आतंकवादविरुद्ध एकताबद्ध हुन आह्वान गरेको छ ।

'आतंकवादले सीमा चिन्दैन । त्यसलाई परास्त गर्न हामी सबैको सहकार्य जरुरी छ,' प्रधानमन्त्री कार्नीले भने ।

उनको यो सन्देशले क्यानडाको कठोर आतंकवादविरोधी नीतिलाई मात्र होइन, अन्तर्राष्ट्रिय सहयोग र जिम्मेवारीप्रति सरकारको प्रतिबद्धतालाई जनाएको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

आतंकवादविरुद्ध साझा रणनीति

कनिष्का बम विस्फोट क्यानडाको पीडादायी अनुभव मात्र नभएर सम्पूर्ण विश्वलाई आतंकवादको सञ्जाल कसरी बढिरहेको छ भन्ने उदाहरण पनि रहेको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

उक्त विस्फोट भारतविरुद्ध योजनाबद्ध भए पनि त्यसले सबैभन्दा बढी क्षति क्यानडामा गरेको थियो । प्रधानमन्त्री कार्नीको पछिल्लो भनाइले आजको युगमा कुनै पनि राष्ट्र एक्लै आतंकवादको विरुद्ध लड्न नसक्ने पुष्टि गरेको छ ।

पछिल्लो समय टेक्नोलोजीको विकाससँगै चरमपन्थी संगठनहरूको पहुँच र प्रभाव अन्तर्राष्ट्रिय बनिसकेको छ ।

 

 

salt training

कमेन्ट गर्नुहोस्