
अमेरिकाको पेन्टागन (रक्षा मन्त्रालय)ले युक्रेनलाई दिँदै आएको केही सैन्य सहायता आकस्मिक रूपमा रोकेपछि अमेरिकी राजनीतिमा तरंग पैदा भएको छ ।
राष्ट्रपति ट्रम्पले यो निर्णय गोप्य ढंगले लिएका थिए । कंग्रेस सदस्य, परराष्ट्र मन्त्रालयका अधिकारी र प्रमुख युरोपेली साझेदार समेतलाई यसबारे पूर्वजानकारी दिइएको थिएन ।
राष्ट्रपति ट्रम्पले प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका प्रभावशाली नेताहरूले समेत यस कदमप्रति असन्तोष व्यक्त गरेका छन् ।
उनीहरूले पेन्टागनका एक वरिष्ठ अधिकारी एल्ब्रिज कोल्बीको प्रभावले कहीँ कतै समन्वयसमेत नगरी सहायता रोक्ने निर्णय गरिएको भन्दै आलोचना गरेका छन् ।
केही दिनअघि पेन्टागनका नीतिगत प्रमुख एल्ब्रिज कोल्बीको नेतृत्वमा अमेरिकी सैन्य भण्डारको पुनरावलोकन गरिएको थियो ।
त्यही समीक्षाको आधारमा युक्रेनका लागि तयारी अवस्थामा राखिएको हातहतियार रोकिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यस्तो निर्णय राष्ट्रिय सुरक्षा परिषद् (एनएससी), परराष्ट्र मन्त्रालय, कंग्रेस र कीभस्थित अमेरिकी दूतावाससम्मलाई केही जानकारी नदिई लिइएको थियो ।
कंग्रेसका एक वरिष्ठ सदस्य माइकल मक्कलको भनाइ उदृत गर्दै फाइनान्सियल टाइम्स लेख्छ, ‘हामीसँग अहिले प्रभावकारी राष्ट्रिय सुरक्षा सल्लाहकार छैन । सबै कुरा कोल्बीले चलाइरहेका छन् ।’
उनको यस्तो टिप्पणीले अमेरिकाको शक्ति सन्तुलनमा कुनै एक व्यक्तिको अत्यधिक हस्तक्षेप रहेको संकेत गरेको छ ।
सहयोग रोकिँदा युक्रेन र युरोपेली देशहरू ‘चकित’
यो सहायता रोकिएपछि युक्रेन सरकारले वाशिङ्टनसँग तत्काल सम्पर्क गरेको थियो । तर, शुरूमा वाशिंगटनले औपचारिक जानकारी दिन मानेन । पोलिटिको समाचार संस्थाले यो विषय पहिलो पटक बाहिर ल्याएपछि मात्र ह्वाइट हाउसले हतियार रोकिएको पुष्टि गर्दै युक्रेनलाई जानकारी गराएको थियो ।
युरोपेली कूटनीतिज्ञहरू र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको टोली एकाएक सहायता रोकिएपछि एक आपसमा कुरा गर्दै ‘यो कस्तो कूटनीति हो ?’ भनेर प्रश्न गरेको एफटीले लेखेको छ ।
एक युरोपेली अधिकारीको भनाइ उदृत गर्दै एफटीले लेखेको छ, ‘हामी निरन्तर सम्पर्कमा छौं । चाँडै ट्रम्प र जेलेन्स्कीबीच फोनवार्ता हुनेछ भन्ने हामीलाई जानकारी आएको छ ।’
तर, यसरी रोकिएको सहायता स्थायी हो कि अस्थायी हो, त्यो व्हाइट हाउसले अहिलेसम्म प्रष्ट पारेको छैन ।
कंग्रेसले भन्यो- हामीलाई थाहा नै थिएन
युक्रेनलाई यस्तो सहयोग पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले स्वीकृत गरिसकेको थियो । अघिल्लो प्रशासनले स्वीकृत गरेको सहायता नयाँ प्रशासनले कार्यान्वयन गर्ला भनेर अमेरिकी कंग्रेस, युक्रेन र युरोपेली साझेदारहरूले अपेक्षा गरिरहेका थिए ।
तर, कंग्रेसका धेरै सदस्यहरूले आफूलाई जानकारी नदिइएकोमा आक्रोश व्यक्त गरेका छन् । कंग्रेसको हाउस इन्टेलिजेन्स कमिटीका सदस्य ब्रायन फिट्जप्याट्रिकले ट्रम्पलाई आपतकालीन जानकारी दिनुपर्ने भन्दै आलोचना पनि गरेका छन् ।
अर्की सांसद बेट्टी म्याककोलमले भनिन्, ‘बाइडेन प्रशासनका बेला हामीसँग स्पष्ट संवाद हुन्थ्यो । युक्रेनले के चाहन्छ, के दिन सकिन्छ भन्ने छलफल हुन्थ्यो । अहिले त्यस्तो संवाद हुन छाडेको छ ।’
पेन्टागनले गरेको यस्तो निर्णय प्रक्रिया एकदमै गोप्य रहेकोले सहयोग रोकिनुको वास्तविक कारणबारे अनेक अड्कलबाजी भइरहेको छ । पेन्टागनका केही अधिकारी र संयुक्त सेनाका सदस्यहरू समेत यसमा असहमत रहेको बताइएको छ ।
ह्वाइट हाउसका एक अधिकारीको भनाइ उदृत गर्दै एफटीले लेखेको छ, ‘राष्ट्रपति र शीर्ष सल्लाहकारहरूलाई पेन्टागनको पुनरावलोकनबारे जानकारी थियो ।’
तर, कुन मितिमा जानकारी दिइयो भन्ने उनले केही खुलाएनन् । यसले झनै अस्पष्टता निम्त्याएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
व्हाइट हाउसको तर्क- हामीसँग हतियारको भण्डार अभाव छ
ट्रम्प प्रशासनका निकटस्थ सांसद माइक रोजर्सले पेन्टागनले यो कदम अमेरिकाले स्वयं उपयोगका लागि आवश्यक संख्याभन्दा न्यून हतियार रहेको देखेर उठाएको दाबी गरे ।
पछिल्लो समय मध्यपूर्वमा भएको सैन्य गतिविधिले अमेरिकी भण्डारमाथि बढी दबाब परेको उनको भनाइ थियो ।
तर, पारदर्शिता भने कायम हुनुपर्ने रोजर्सको भनाइ थियो । उनले भने, ‘पेन्टागन अझ पारदर्शी हुन जरुरी छ । किनभने धेरैले यसलाई युक्रेनमाथिको प्रतिबद्धता फिर्ता लिएको संकेतका रूपमा बुझिरहेका छन् ।’
एल्ब्रिज कोल्बी ट्रम्प प्रशासनको पहिलो कार्यकालमा निकै चर्चित थिए । उनले नै २०१८ को राष्ट्रिय रक्षा रणनीति निर्माण गरेका थिए ।
अहिले उनलाई बेलायत र अष्ट्रेलियासँगको आणविक पनडुब्बी कार्यक्रमसँग सम्बन्धित एयूकेयूएस सन्धिको पुनरावलोकन गर्ने जिम्मेवारी दिइएको छ ।
पेन्टागनका पूर्वअधिकारीहरूले पेन्टागनको फ्रन्ट अफिस लगभग अनुभवहीनहरूबाट भरिएको भन्दै आलोचना गरेका छन् ।
‘कोल्बीजस्ता केही ब्यूरोक्र्याटहरू मात्र पेन्टागनमा बाँकी छन्, जसले सरकारी प्रक्रिया बुझ्छन् र त्यसैलाई उपयोग गरेर प्रभाव जमाइरहेका छन्’, पेन्टागनका एक पूर्वअधिकारीको भनाइ उदृत गर्दै एफटीले लेखेको छ ।
युक्रेनमाथिको अमेरिकी सहयोग अचानक रोकिएको घटनाले अमेरिकी प्रशासनभित्रको नीति निर्माण संरचना असंगठित र व्यक्तिनिर्भर बन्दै गएको छ भन्ने संकेत गरेको छ ।
अन्तर्राष्ट्रिय कूटनीतिको दृष्टिले यस्ता निर्णयमा पारदर्शिता, समन्वय र स्पष्ट उद्देश्य जरुरी हुने तर कोल्बीको नेतृत्वमा भएको यो निर्णयले लोकतान्त्रिक प्रक्रियामै प्रश्न उठेको अमेरिकी सञ्चारमाध्यमहरूले लेखेका छन् ।