
गाजा क्षेत्रमा इजरायली आक्रमणका कारण कम्तीमा ४२ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
इजरायली फौजले फेरि खाद्यान्नको प्रतीक्षा गरिरहेका नागरिकहरूलाई निशाना बनाएको बताइएको छ। अलजजिराका अनुसार गाजाका अस्पतालहरू घाइतेको उपचारमा असमर्थ बन्दै गएका छन् ।
दक्षिण गाजाको अल-मावासी क्षेत्रमा विस्थापितहरू बस्ने टेन्टमाथि गरिएको इजरायली हवाई आक्रमणमा गाइनोकोलोजी विशेषज्ञ डा. मूसा हमदान खाफाजा र उनका तीन सन्तानसहित परिवारका अन्य सदस्यको मृत्यु भएको छ । अल-मावासी क्षेत्रलाई इजरायलले मानवीय क्षेत्रमा वर्गीकृत गरेको थियो ।
गाजाको सरकारी सञ्चार कार्यालयका अनुसार सन् २०२३ अक्टोबर ७ यता १,५८० भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ, जसमा ९० जना चिकित्सक र १३२ जना नर्ससमेत छन् ।
यता, हमासले ६० दिन लामो युद्धविराम प्रस्तावबारे अहिलेदेखि नै वार्ता गर्न तयार रहेको बताएको छ । जसले गाजामा अत्यावश्यक मानवीय सहायता पुर्याउन सक्नेछ ।
हमासको सहयोगी समूह इस्लामिक जिहादले पनि युद्धविराम वार्ता योजनालाई समर्थन जनाएको छ, तर यो प्रक्रिया स्थायी युद्धविरामतर्फ जाने सुनिश्चितता माग गरेको छ ।
वार्ताबारेको यो घोषणा हमाससहित अन्य प्यालेस्टिनी पक्षसँग परामर्शपश्चात् गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यको दबाब दिइरहेका बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार वासिङ्टन भ्रमणमा जानुअघि यो घोषणा सार्वजनिक भएको हो ।