१० साउन २०८३, आइतबार
जवाफदेहिताविहीन राज्य संयन्त्र

विमानस्थल गोदाममा भूकम्प र कोभिडदेखि थन्किए कार्टुनका–कार्टुन औषधि, आईफोन समेत बेवारिसे !

‘डेट एक्सपायर औषधि गन्हाएर नजिक पर्न सक्दैनन् कर्मचारी’
असार २२, २०८२
काठमाडौं
विमानस्थल गोदाममा भूकम्प र कोभिडदेखि थन्किए कार्टुनका–कार्टुन औषधि, आईफोन समेत बेवारिसे !

२०७२ सालका भूकम्प प्रभावितलाई वितरण गर्नका लागि भारत सरकारले पठाएका करोडौं मूल्यका औषधिजन्य सामग्री नेपालमा आधिकारिक प्रापक नभएका कारण प्रयोगविहीन अवस्थामा गोदाम थन्किएका छन् ।

भारत सरकारले सहयोग स्वरूप २०७२ सालमा हवाई जहाजमार्फत पठाएका ती औषधिजन्य सामग्रीहरू आधिकारिक प्रापक नभएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयस्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको गोदाममा विगत १० वर्षदेखि थन्किएर प्रयोगविहीन अवस्थामा रहेका हुन् ।

त्यति मात्र होइन, कोभिड- १९ को समयमा समेत अन्तर्राष्ट्रिय दातृ निकाय युनिसेफले पठाएका औषधिजन्य सामग्रीहरू, कोभिडको खोपसहित गोदाममा विगत ४ वर्षदेखि थन्किएर प्रयोगविहीन अवस्थामा रहेको पाइएको हो ।

२०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पका प्रभावितहरूको राहत तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले भारत सरकारले तत्काल औषधिजन्य सामग्रीहरू नेपालमा पठाएको थियो । तर, प्रापक को हो भन्ने कुरा यकिन नभएकाले ती सामग्रीहरू गोदाममा वर्षौंदेखि थन्किँदा म्याद सकिएर प्रयोगविहिन हुन पुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय मातहत रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडकी कर्मचारी सुनिता सिंहले १० वर्षदेखि ती औषधिजन्य सामग्री थन्किएको स्वीकार गरिन् ।

‘२०७२ सालमा भूकम्प प्रभावितका लागि भारतबाट राहतस्वरूप औषधि आएकोमा प्रापकले ती सामग्री लिन नै नआएकाले १० वर्षदेखि गोदाममा थन्किएर प्रयोगविहीन अवस्थामा राखिएको छ,’ सिंहले लोकान्तरसँग भनिन्, ‘नेपाल सरकार अर्थात स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा स्वास्थ्य सेवा विभाग नै ती सबै औषधिजन्य सामग्रीको प्रापक हुनुपर्ने हो । तर, ती निकायले पनि सामग्री लिन नआएपछि वर्षौंदेखि गोदाममा थन्किएको छ ।’

त्यसरी गोदाममा थन्किएका सामग्रीमा कतिपय औषधि र कतिपय औषधि उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ रहेको उनले खुलाइन् ।

null

औषधिजन्य सामग्री वर्षौंदेखि गोदाममा रहेकाले गोदाममा कार्यरत कर्मचारीको स्वास्थ्यमा समेत असर परिरहेको उनले खुलाइन् । दुर्गन्धका कारण नजिक जान समेत मुस्किल पर्ने गरेको छ । केही दिनअघि गोदाममा रहेका औषधिहरू भन्सार कार्यालयले औषधि व्यवस्था विभागको सिफारिशअनुसार गलाएर तथा जलाएर व्यवस्थापन गरेको समेत उनले बताइन् ।

के कति परिमाणमा कुन–कुन औषधिजन्य सामग्री त्यसरी थन्किएको हो, त्यसको सूचीसहितको विवरण दिन नमिल्ने उनले बताइन् । ‘त्यो सबै विस्तृत विवरण हामीले दिन मिल्दैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मात्र लिन पाउनुहुन्छ,’ उनले थपिन्, ‘हामी त गोदामको व्यवस्थापक मात्र हो । गोदाम त भन्सार कार्यालयको हो । त्यहीँबाट ती विवरण पाउन सक्नुहुन्छ ।’

त्यसबाहेक विमानस्थलमा गोदाम सञ्चालन भएदेखिकै कतिपय सामग्रीहरू समेत थन्किएर बसेको सिंहले बताइन् । ‘कार्यालय स्थापना भएदेखिकै पनि कतिपय सामानहरू गोदाममा थन्किएका छन्,’ उनले थपिन्, ‘ कतिसम्म भने बोरामा सामान त छ, तर सामानको केही अंश मात्र छ । बाहिर बोराको ट्यागलाइन सबै मेटिसकिएको छ । सामान पनि सबै सडेगलेको अवस्थामा चिन्नै नसकिने छ ।’

त्यतिबेला अहिलेको जस्तो सिस्टम पनि नरहेको तथा म्यानुअल नै रेकर्ड राख्ने गरिएको भएपनि त्यही म्यानुअल रेकर्ड समेत अहिले नभेटिएको हुनाले गोदाममा वर्षौंदेखि थन्किएर रहेको उनले बताइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी बाबुराम घिमिरेले त्यस विषयमा धेरै कुरा खुलाउन चाहेनन् ।

‘कोभिडका समयमा युनिसेफले पठाएका औषधि तथा औषधिजन्य सामग्री प्रापक नभएका कारण गोदाममा थन्किएको भन्ने कुराचाहिँ मेरो जानकारीमा छ,’ घिमिरेले लोकान्तरसँग भने, ‘विगत लामो समयदेखि गोदाममा राखिएको केही सामग्रीको व्यवस्थापन गर्नुपर्ने भनेर नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट पत्र आएको छ ।’

२०८१ चैत २१ गते कम्पनीको सञ्चालक समितिबाट गोदाममा विगत लामो समयदेखि थन्किएका सामग्रीको व्यवस्थापन गर्ने निर्णय भएको भनेर सिंहले २०८२ वैशाख १० गते भन्सार कार्यालयलाई पत्राचार गरेकी थिइन् ।

उक्त पत्रमा ६ वटा आइटमको बारेमा व्यवस्थापन गरिदिन भनिएको छ । मास्टरएरोबिल नम्बर ५८९-४५१३३७६० रहेको १६८ कार्टुन, मास्टरएरोबिल नम्बर ९९७-५२३४३२७१ रहेको १९९ कार्टुन, मास्टरएरोबिल नम्बर २८५-०५४८२७६१ रहेको १७७ कार्टुन, युनिसेफको १ सय कार्टुन, एसकेप्लसएफको ११८ कार्टुन औषधि र मास्टरएरोबिल नम्बर ६१८-६२२६९२२२ रहेको ५० कार्टुनको बारेमा व्यवस्थापन गरिदिन भन्सार कार्यालयलाई पत्राचार गरेको देखिन्छ ।

null

गोदामले पठाएको पत्रको विषयमा भन्सार कार्यालयले निर्णय गर्न बाँकी नै रहेको घिमिरेले बताए । युनिसेफको उक्त सामग्री कोभिडको समयमा आएको तथा औषधि भूकम्पको बेलामा आएको हुन सक्ने भएपनि त्यसको यकिन जानकारी दिन नसकिने विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी घिमिरे बताउँछन् ।

यी सामग्रीको गरियो व्यवस्थापन

भारत र अमेरिकाबाट आएका विभिन्न औषधि, औषधिजन्य सामग्रीहरू विमानस्थल भन्सार कार्यालयले २ महिनाअघि डिस्पोज गरेको थियो । विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी घिमिरेका अनुसार ठूल्ठूला २०४ कार्टुन औषधि डिस्पोज गरिएको थियो ।

भारतबाट आएका सुईफास्ट, टर्सुइफ्ट, वेस्टाइल क्याप्सुल र अमेरिकाबाट आएका लिक्विड औषधि डिस्पोज गरिएको उनले बताए ।  

‘त्यो कार्टुन भने पनि सानो आक्राको कार्टुन होइन, निकै ठूलो हो,’ उनले थपे, ‘के कति संख्यामा क्याप्सुल तथा झोल थिए भन्ने सबै विवरण खुलाउन सकिँदैन । ४/५ गाडीमा अटाउनेजति औषधिहरू डिस्पोज गरिएको हो ।’

औषधि व्यवस्था विभागले १ वर्षअघि नै डिस्पोज गर्नुपर्ने भन्ने प्रतिवेदन दिएपनि कुन ठाउँमा डिस्पोज गर्ने भन्ने स्थान पत्ता नलाग्दा ढिलाइ हुन पुगेको विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी भट्टराईले बताए ।

‘हाइ टेम्प्रेचर भट्टीमा विश्व स्वास्थ्य संगठनको प्रोटोकलबमोजिम गलाउनुपर्ने भएकाले विमानस्थलको फोहोरमैला विसर्जन गर्नका लागि बनाइएको नागरिक उड्डयन प्राधिकरणको भट्टीमा ती औषधि गलाएर डिस्पोज गरिएको हो,’ भट्टराईले लोकान्तरसँग भने, ‘कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्था विभाग र नागरिक उड्डयन प्राधिकरणको प्रतिनिधि समेतको उपस्थितिमा डिस्पोज गरिएको थियो ।’

६० दिन नाघेपछि पनि लिन आउँदैनन् सामान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समय–समयमा महंगा-महंगा अइफोन, आइप्याडदेखि विभिन्न सामानहरू बेवारिसे पाउने गरिएको छ । कार्गो गरिएका लाखौं, करोडौं मूल्यका सामानहरू पनि बेवारिसे भएर गोदाममा थन्किएको हुन्छ ।

‘पार्सल मगाउने व्यक्तिले नै विविध कारणले सामान रिसिभ गर्न नआउँदा महिनौं वा वर्षौंसम्म गोदाममा ती सामानहरू बेवारिसे हुन पुग्छन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी घिमिरेले लोकान्तरसँग भने, ‘विभिन्न कार्गो कम्पनीले पार्सल गरिएको बिल नम्बरसहितको सामान पठाउने गर्छन् । तर, उक्त बिल नम्बरमा पठाउने र पाउने व्यक्तिको पहिचान भने लेखेको हुँदैन ।’

भन्सार दर बढी लाग्ने भएपछि कतिपयले आफ्नो पार्सल लिन नआउने गरेको उनले बताए । ‘व्यापारीले सामान मगाउँदा एउटा इन्ट्रेस्टले मगाएको हुन्छ, पछि नाफा-घाटाको स्थिति हेरेर मालसामान क्लेम नै गर्न आउँदैनन्,’ घिमिरेले लोकान्तरसँग भने ।

हकदाबी र लिलामको सूचना:

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०८२ जेठ २८ गते ६० दिन नाघेका तथा बेवारिसे अवस्थामा छोडी गएका विभिन्न थान अईफोन, आईप्याडसहितका सामग्रीको हकदावीका लागि सूचना प्रकाशित गर्‍यो ।

यात्रु जाँचपास तथा सहजीकरण शाखा (काउन्टर)मा डिपोजिट भई ६० दिन नाघेका तथा बेवारिसे अवस्थामा छोडी गएका विभिन्न मितिमा यस कार्यालयको मुद्दा तथा लिलामी शाखामा आवश्यक कारबाहीका लागि प्राप्त हुन आएको हुँदा हकदावीका लागि १५ दिने सूचना प्रकाशित गरिएको थियो । म्यादभित्र छुटाई नलगेमा पछि उजुरबाजुर नलागी भन्सार ऐनबमोजिम जफत भई जाने सूचनामा उल्लेख छ ।

हेर्नुहोस्, जेठ २८ गतेको उक्त सूचना:

त्यसैगरी, जेठ २९ गते विमानस्थल भन्सार कार्यालयले लिलामीका लागि अर्को सूचना प्रकाशित गरेको थियो । नेपाल पारवहन तथा व्यवस्था कम्पनी लिमिटेड त्रिभुवन विमानस्थलको गोदामबाट ६० दिनभित्र छुटाई नलगेका कारण दाखिला भई जफत भएका मालवस्तुको लिलामीका लागि सूचना प्रकाशित गरिएको थियो ।

५ लाख २८ हजार रुपैयाँको कफीको दाना, ११ लाख ८३ हजार ७ सय रूपैयाँको कपडाहरू लिलामीका लागि सूचना प्रकाशित गरिएको थियो ।

भन्सार चोरी पैठारी अभियोगमा दाखिला भई फैसला भएका, विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपास तथा सहजीकरण शाखाबाट जफत भएका, त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलस्थित नेपाल वायु सेवा कार्यालय यात्रु शाखा विभागबाट दाखिला भई जफत भएका सामानहरू रहेको उक्त सूचनामा उल्लेख छ ।

हेर्नुहोस्, जेठ २९ गतेको लिलामीको सूचना:

जेठ २८ गते नै विमानस्थल भन्सार कार्यालयले २०६ आइटमको हकदाबीका लागि अर्को सूचना प्रकाशित गरेको थियो । ‘नेपाल वायु सेवा निगम यात्रु सेवा विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयअन्तर्गतको सीएसडी शाखास्थित लस्ट एन्ड फाउन्ड इकाइमा विगत लामो समयदेखि रहेका सामानहरू यस कार्यालयलाई हस्तान्तरण भई आएकोमा कसैको हक लाग्ने भएमा बाटोको म्यादबाहेक १५ दिनभित्र छुटाई लैजानुहोला,’ उक्त सूचनामा भनिएको छ ।

ती सामानको सूचीमा अधिकांश सुटकेस र ब्याग रहेको देखिन्छ । केही सुटकेसमा यात्रुको नाम उल्लेख रहे पनि धेरैजसो सुटकेसमा कसैको नाम उल्लेख नरहेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस्, जेठ २८ गते लिलामीका लागि प्रकाशित सूचना:

null

त्यसअघि जेठ १ गते पनि विमानस्थल भन्सार कार्यालयले ४३ लाख ४ हजार ५ सय रूपैयाँ मूल्य बराबरको विभिन्न आईफोन, मोबाइल, कपडासहित विभिन्न सामग्री लिलाम गर्न भनेर दोस्रोपटक सूचना प्रकाशित गरेको थियो ।

नेपाल पारवहन तथा व्यवस्था कम्पनी लिमिटेड त्रिभुवन विमानस्थलको गोदामबाट ६० दिनभित्र छुटाई नलगेका कारण दाखिला भई जफत भएका मालवस्तुको लिलामीका लागि सूचना प्रकाशित गरिएको थियो ।

भन्सार चोरी पैठारी अभियोगमा दाखिला भई फैसला भएका, विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपास तथा सहजीकरण शाखाबाट जफत भएका, त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलस्थित नेपाल वायु सेवा कार्यालय यात्रु शाखा विभागबाट दाखिला भई जफत भएका सामानहरू रहेको उक्त सूचनामा उल्लेख छ ।

चालू आर्थिक वर्षको जेठ महिनासम्म ३ करोड २७ लाख १२ हजार ३३४ रूपैयाँ  लिलामबाट राजस्व प्राप्त भएको भट्टराईले बताए ।

हेर्नुहोस्, लिलामबाट आएको राजस्वको विवरण :

null
 

salt training

कमेन्ट गर्नुहोस्