
एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगिताको ग्रान्ड फिनाले यही शुक्रबार असार २७ गते हुने भएको छ । फिनालेमा देशभरिबाट छानिएका उत्कृष्ट ५० जना क्रिएटर्समध्ये उत्कृष्ट एक पुरस्कृत हुनेछन् ।
निर्णायक मण्डलले आइतबार आफ्नो रिभ्यू सेसन सकाएको एनसेलले जानकारी दिएको छ । निर्णायक मण्डलमा नेपालका लागि अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोश सुनुवार, एनसेलकी मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की रहेका छन् ।
कन्टेन्ट क्रियसनमा लागेका विशेषगरी युवा पुस्तालाई आकर्षण गर्ने उद्देश्यसहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो । यस प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने क्रिएटरले पुरस्कारका रूपमा एनसेलसँग १० लाख रूपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछन् ।
सहभागी प्रतियोगीलाई चर्चित क्रिएटर तथा यस प्रतियोगिताका मेन्टरहरू सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले मार्गदर्शन प्रदान गरेका छन् । सहभागीहरूले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीतिलगायतका बारेमा प्रशिक्षण पाएका थिए ।
प्रतियोगिता सञ्चालनको तालिका अनुसार ‘लीग अफ क्रिएटर्स’का पाँच जना मेन्टरहरूले छानिएका उत्कृष्ट ५० जनालाई मेन्टरसीप प्रदान गरिसकेपछि निर्णायक मण्डलले आफ्नो रिभ्यु गरेको हो ।
‘सबै भिडियो इम्प्रेसिभ लाग्यो । प्रोफेसनलदेखि एम्मेच्योर लेभलसम्मको भएकोले केही भिन्नताहरू छन् तर, केही भिडियोहरू यस्ता छन् जसले हामी सबै निर्णायक मण्डलका सदस्यलाई राम्रो छाप छोडेको छ’, चलचित्र निर्देशक सुनुवारले भने ।
उनी एक प्रखर भिजुअल स्टोरीटेलर हुन् । उनले आफ्नो सिर्जनात्मक यात्रा संगीतबाट शुरू गरेका थिए र हाल उनी चलचित्र निर्माण जगतमा व्यस्त छन् । उनले ‘रोडिज नेपाल’ र ‘शार्क ट्यांक नेपाल’ जस्ता रियालिटी शोमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।
‘म विज्ञापन निर्माणको पृष्ठभूमिबाट आएको व्यक्ति हुँ । प्रतियोगितामा सहभागी भिडियोका मौलिकता, सिर्जनात्मकता र प्राविधिक गुणस्तर देखेर म अत्यन्तै प्रभावित भएको छु । म भविष्यमा पक्कै पनि यस्ता क्रिएटरहरुसँग काम गर्न चाहन्छु’,अमेरिकी राजदुतावासका सार्वजनिक मामिला प्रमुख हार्करले भने ।
दूतावासको सञ्चार कार्यलगायत शैक्षिक, सांस्कृतिक तथा आर्थिक अवसरसँग सम्बन्धित कार्यक्रम हेर्ने हार्करले केही महिनाअघि इटहरी र पोखरामा आयोजित ‘क्रिएटर्स मेला’को आयोजनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
‘केही भिडियो साँच्चै राम्रा छन् किनभने ती भिडियोमा स्टोरीटेलिङ् उत्कृष्ट थिए । क्यामेरा कार्य पनि राम्रो थियो र सन्दर्भ पनि राम्रोसँग बुझेका थिए । अन्य सहभागीहरूले अझै सुधार गर्ने सम्भावना राख्छन् । मलाई आशा छ सहभागीहरूले भविष्यमा झनै उत्कृष्ट सामग्री ल्याउनेछन्’, एनसेलको मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर सिंहले भनिन् ।
कन्टेन्ट क्रियशन आजको अर्थतन्त्रमा सबैभन्दा ठूलो अवसरहरूमध्ये एक हो भन्ने कुरामा उनी दृढ विश्वास गर्छिन् ।
यता, अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत कार्कीले यो प्रतियोगितामा विभिन्न प्रकारका भिडियो कन्टेन्ट पाएका बताएका छन् ।
‘विजेता को होला भनेर म एकदमै उत्सुक छु । किनभने चारजना निर्णायक मण्डलका सदस्यले यी भिडियोहरूलाई विभिन्न पक्ष जस्तै; सिर्जनात्मक पक्ष, प्राविधिक कार्यान्वयन आदिलाई लिएर मूल्यांकन गरेका छन्’, कार्कीले भने ।
इन्फ्लुएन्सर मार्केटिङमा ८ वर्षभन्दा बढीको अनुभव बटुलेका कार्कीले रणनीति निर्माणदेखि कार्यान्वयनसम्मको नेतृत्व गर्दै १,००० भन्दा बढी इन्फ्लुएन्सरसँग सहकार्य र १०० भन्दा बढी ब्रान्डसँग साझेदारी गरेका छन् ।