२३ असार २०८३, मंगलबार
जीवनदर्शन

चन्द्रवंशको उत्पत्ति र विस्तार : मध्यपूर्वदेखि कहाँसम्म ?

असार २८, २०८२
काठमाडौं
चन्द्रवंशको उत्पत्ति र विस्तार : मध्यपूर्वदेखि कहाँसम्म ?

प्रसंग करिब पाँचहजार वर्षअघि अर्थात् ई. पू. ३२००–२७०० तिरको हो । मनुपुत्री ईलासित विवाह भएपछि चन्द्रपुत्र बुध पनि ईलावर्ततिर आए, जुन स्थान हालको भूगोलअनुसार भारतीय उपमहाद्वीपको उत्तरपश्चिम गिलगिट पर्वत आसपास तथा तत्कालीन रुसको दक्षिणपश्चिम क्षेत्र हालको किर्गिस्तान, उज्वेकिस्तान, ताजकिस्तान र ईरानको पूर्वीक्षेत्रको भूभागमा पर्दछ । तर, कतैकतै हालको चीन–तिब्बत तथा मङ्गोलियासम्म पनि भन्ने गरिएको पाइन्छ । ईलालाई पिता मनुको तर्फबाट दाइजोको रूपमा प्राप्त भएको यस क्षेत्रलाई त्यतिबेला ईलावर्त भन्ने गरिन्थ्यो । उनले दाइजोवापत् प्राप्त गरेकी हुनाले नै त्यस क्षेत्रलाई ईलावर्त भन्ने गरिएको हो ।

यसो त पैतृक भूमि अत्रिपत्तनमै पनि बुधको राम्रो इज्जत थियो, जुन स्थान तत्कालीन आर्यवीर्यान् तथा हालको अजरवैजान क्षेत्रमा पर्दथ्यो । ककेशस पर्वतमालाको तल्लो प्रान्तीय क्षेत्रमा अवस्थित अत्रिपत्तनलाई हाल एट्रोपेट्टन भनिन्छ । प्राकृतिक सौन्दर्यले सुसज्जित त्यस क्षेत्रलाई अत्रि (हालको नाम आट्रिक) नदीको पानीले पुष्पित र पल्लवित गराउँदै आएको छ । उनका पिता चन्द्र त्यतै थिए, पितामह अत्रि त्यतै थिए । भागिनेय कुलको नाताले अत्रिको सम्बन्ध दानवकुलसँग पनि राम्रै थियो । किनभने अत्रिका बाबु शुक्राचार्य भृगुका पुत्र थिए, जसले काश्यापसागरको तटवर्ती इलामा पर्ने हिरण्यपुर निवासी हिरण्यकशिपुकी पुत्री दिव्यासँग विवाह गरेका थिए । पैतृककुलका पुर्खा देवकुलसित सम्बन्धित भएका नाताले अत्रिलाई देवजातिको पनि स्नेह प्राप्त थियो, जो देमावन्द पर्र्वतमालाको आसपासका निवासी थिए । देमावन्द भूमिको नाम नै अपभ्रंश भई देवभूमि बन्न पुगेको सो स्थान हालको भूगोलअनुसार जर्जियाको आसपासमा अवस्थित ककेशस पर्वतशृङ्खलाको पर्वतीय प्रान्तमा  पर्दछ । पित्र अत्रिको देवकुल र दानवकुल दुवैसँग सुमधुर सम्बन्ध भएपछि पुत्र चन्द्रको नहुने कुरै भएन । त्यसैले पिता अत्रिको साथमा उनी र शायद उनका पुत्र बुध पनि देवलोक देमावन्द पर्वतीय क्षेत्र र दानवलोक काश्यपसागरीय क्षेत्र हिरण्यपुरमा बेरोकटोक आवतजावत गर्ने गर्थे । 

तर, चन्द्रमाले देवगुरु बृहस्पतिपत्नी तारा हत्याएपछि भने देवलोकसितको सम्बन्ध चिसियो । यसैको निहुँमा अत्रिपुत्र चन्द्रमा र अङ्गिरापुत्र बृहस्पतिको बीचमा झगडा शुरू भई देवासुरबीच घमासान युद्ध भएको थियो । त्यतिबेला शुक्राचार्यले पौत्र चन्द्रको साथ दिएका दिए भने आफ्ना कुलगुरुले चन्द्रमाको साथ दिएकाले दानवजाति पनि चन्द्रकै पक्षमा उभिन पुगेका थिए । उता देवजातिले आफ्ना कुलगुरु बृहस्पतिलाई साथ दिएका थिए । फलत: उनीहरूको बीचमा युद्ध हुन पुगेको थियो, जुन इतिहासमा पाँचौँ देवासुरसङ्ग्रामको नामले परिचित छ ।

युद्ध चर्किँदै गएपछि अदितीपुत्र वरुण (ब्रह्मा)को मध्यस्थतामा शान्तिसम्झौता गरी तारा बृहस्पतिकै हुने र उनको गर्भबाट जन्मेका बालक बुध चन्द्रमाको हुने निर्णय गरिएको थियो  त्यसपछि भने चन्द्रमाको हैसियत देवलोकमात्र नभई पैतृकभूमि अत्रिपत्तनमै पनि खस्किँदै जान थालेको थियो । त्यसैले उनका पुत्र बुध अत्रिपत्तन छाडेर पत्नी ईलाको साथमा ईलावर्ततिर आएका हुन् । बुध ईलावर्ततिर रहन लागेपछि उनका मामली कूल आदित्यहरू पनि यसै क्षेत्रमा आएर रहन लागे । यस क्षेत्रमा आउनासाथ उनीहरूले सर्वप्रथम आर्यसंस्कृति गठनगरी वैवाहिक परम्परालाई संस्थागत गरे । त्यसपछि सामाजिक स्थितिमा आमूल परिवर्त भयो । मातृसत्ताको स्थान पितृसत्ताले लियो, सन्तान आमाको नामबाट नभई बाबुको नामबाट चिनिन थाल्यो । सम्पत्तिमा छोराको मात्र हक लाग्न थाल्यो । छोरीलाई विवाह गरेर पठाउन थालियो । त्यतिबेला आर्यहरूले गरेका अर्को महत्वपूर्ण काम भनेको कृषिक्रान्ति थियो ।

रहँदा बस्दा बुधको ईलाको तर्फबाट पुरुरवा नामक पुत्र भए । जबान भएपछि उनी गङ्गायमुनाको सङ्गम प्रयागराज आसपासको क्षेत्रमा (प्रतिष्ठान नगरीमा) राजधानी कायम गरी रहन लागे । कुनै दिन उनी उत्तरकुरु (हालको भूगोलअनुसार पामीरको पठारदेखि उत्तरी ध्रुवसम्मको क्षेत्र)तर्फ गएका बेला उर्वशी अप्सरासित भेट भयो, जो बेबिलोनिया (ईरान) र ईलावर्तको बीचवर्ती भूभागको सरदार केशीको डरले भाग्दै हिँडिरहेकी थिइन् । त्यतिबेला यिनै पुरुरवाले केशीको हत्या गरी उर्वशीलाई बचाएका थिए । त्यसपछि उर्वशी पुरुरवासितै विवाह गरी रहन लागिन् । रहँदाबस्दा यिनै उर्वशीको तर्फबाट पुरुरवाको आयु, श्रुतायु, सत्यायु, रय, विजय र जय छ भाइ छोरा भए, जो पछि चन्द्रवंशको पुर्खाको नामले परिचित भए । 

पछि गएर चन्द्रवंशमा एकसेएक राजर्षि र महर्षिको जन्म हुन पुगेको पाइन्छ । विश्वामित्र पनि यसै वंशका हुन्, जो क्षत्रिय राजाबाट राजर्षि हुँदै ब्रह्मर्षि हुन पुगेका थिए । मुद्गल जस्ता विश्वामित्रकै समकक्षी महर्षि पनि यसै वंशका हुन, जो कुरुपाञ्चाल क्षेत्रको क्षत्रीय राजन्य भएर पनि राजर्षिको पदवीमा आसीन हुन पुगेका थिए । यिनै मुद्गलका छोरा दिवोदास (कतै छोराको नाम बध्रश्व उल्लेख भएको पाइने भएकाले यस अर्थमा भने नाति)ले काँकडासहित शतकिल्लाका स्वामी शम्बरमाथि विजय प्राप्त गरी राज्यसीमा सरस्वती तटवर्ती क्षेत्रबाट पूरा सप्तसिन्धु (पञ्जाव) क्षेत्रको राजा बनेका थिए । पछि गएर यिनै दिवोदासपुत्र सुदास (कतै सौदास उल्लेख भएको पाइन्छ) ले दस राजाहरूमाथि विजय प्राप्त गरेपछि उनको राज्यसीमा सप्तसिन्धुबाट बढेर गान्धार (अफगानिस्थान) सम्म पुगेको थियो ।

ऋग्वेदको सातौँमण्डलमा उल्लेख भएको सुदास र दासराजयुद्ध ई. पू. १७०० देखि ११०० को बीचमा भएको अनुमान गरिएको छ । यसको आधारमा भन्नुपर्दा परुष्णि (रावी) तटमा भएको सो युद्ध आजभन्दा करीव पैँतीस छत्तीस शय वर्ष अघि भएको देखिन्छ तर कतै सो युद्ध महाभारतयुद्धभन्दा पच्चीस शय वर्ष अघि भएको उल्लेख भेटिने भएकाले यसको आधारमा भन्नुपर्दा ई. पू. ५६३७ वर्षतिर भएको हो भन्नुपर्ने हुन्छ । किनभने महाभारतयुद्ध नै ई. पू. ३१३७ वर्ष अघितिर भएको पाइन्छ । राजा सुदासले दस राजाहरूसँगको युद्धमा विजय प्राप्त गरेकाले सो युद्धको नाम दासराजयुद्ध रहेको बुझिन्छ । त्यतिबेला भरतकुलका तृत्सुवंशी सुदासले आफ्नै कुलवंशी दासराज कविलाहरूलाई जितेका थिए, जसमा यदु, तुर्वसु, अनु, द्रुह्यु, पुरु, आलीन, पक्थ, भलान्, शिव, विषाणिन पर्दछन् । यिनीहरूमध्ये अघिल्ला पाँच मुख्य र पछिल्ला पाँच सहायक कविलाहरू थिए । यतिबेला तृत्सुसमूहको नेतृत्व सुदासले र दसराजसमूहको नेतृत्व संवरणले गरेका थिए । युद्धको कारण भने पुरोहित्याईँ र परुष्णि नदीको जलवटवारा रहेको पाइन्छ ।

सुदास र दसराजबीचको परुष्णिजलविवाद पुरानै हो तर, सुदासले कुलपुरोहित विश्वामित्रलाई  वसिष्ठलाई नियुक्त गरेपछि बल्झियो । किनभने विश्वामित्रले यसै निहुँमा दसराजलाई उचालेका थिए । फलत: उनीहरूबीच घमासान युद्ध हुन पुगेको थियो । युद्धमा विजयी भएका सुदासले पाञ्चालक्षेत्रबाट बढाएर गान्धारसम्म पुर्‍याएका राज्यसीमा लामो समयसम्म कायम रहन भने सकेन । किनभने सुदासको मृत्यु हुनासाथ तत्कालीन हस्तिनापुर नरेश कुरुले पूरा पाञ्चाल क्षेत्र कब्जामा लिएका थिए । त्यसपछि पाञ्चाल क्षेत्रलाई संयुक्तरूपमा कुरुपाञ्चाल भन्न थालिएको पाइन्छ तर सुदासका पितामह मुद्गल भने पुत्र दिवोदासकै पालामा राजपाट छाडी पत्नी इन्द्रसेना मुद्गलानीसहित काँगडा अर्थात् जालान्धर क्षेत्रतिर आएर बस्न लागे, जुन क्षेत्र दिवोदासले शम्बरसित छिनेका थिए । 

राजर्षि मुद्गल विश्वामित्र जत्तिकै उद्भट विद्वान् मानिन्छन् । उनी पनि विश्वामित्रले जस्तै क्षत्रिय राजन्यबाट राजर्षि पद हासिल गरी गोत्रप्रवर्तक पुर्खा बन्न पुगेका थिए । ऋग्वेदका एकाध सूक्तका समेत द्रष्टा रहेका मुद्गलका नाममा मुद्गलोपनिषद् र मुद्गलपुराणसमेत रहेको पाइन्छ । यी काम भने उनले जालन्धर क्षेत्रमा गुरुकुल आश्रम खोलेर बसेपछि गरेका हुन सक्छन् । किनभने त्यस क्षेत्रमा अहिले पनि मुद्गलद्वारा प्रतिपादित मौद्गल्यगोत्रीय बन्धुहरू प्रशस्तै रहेका पाइन्छन् । पछि गएर यिनै मौद्गल्यगोत्रीय बन्धुहरूको एउटा हाँगो कुमाऊ र गढवाल हुँदै महाकाली तरी नेपालसम्म फैलिन आइपुगेको भेटिन्छ तर हालको कुरा गर्ने हो भने यी मौद्गल्य गोत्रीय बन्धुहरू फैलिएर विभिन्न थरमा विभाजन भई नेपाल, भारत लगायत विश्वका विभिन्न मुलुकमा छरिन पुगेको पाइन्छ तर जहाँ पुगे पनि ती सबै एउटै चन्द्रपुत्र बुधका सन्तान हुन्, जसको उत्पत्ति मध्यपूर्वमा ई. पू. २७०० वर्षदेखि १८०० को बीचतिर भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्