३० जेठ २०८३, शनिबार
पोखराको चिया जङ्सन

जागिरसँगै व्यवसाय : चार साथीले खोलेको ‘चिया संसार’

असार २८, २०८२
पाेखरा
जागिरसँगै व्यवसाय : चार साथीले खोलेको ‘चिया संसार’

दैनिक काम सकेर चिया पसलमा भेट अनिवार्य हुन्थ्यो- चार जना साथीको । यो भेट कलेज जीवनदेखि निरन्तर चल्दै आएको थियो । ‘जङ्सन’ चेन्ज भइरह्यो तर, भेट कहिल्यै टुटेन । 

विद्यार्थी जीवनबाट सँगैका साथी जागिरे जीवनमा प्रवेश गरे । तर, भविष्यको योजना बुन्दै चियाको चुस्की लिन कहिल्यै छोडेनन् । साथीभाइसँग लिएको यही चियाको चुस्कीले जन्माएको हो- चिया संसार । चार साथी मिलेर खोलेको ‘चिया संसार’ चिया गफको थलो बनेको छ ।

चिया पारखीको लागि काठमाडौंमा थुप्रै चिया स्पट भएपनि पोखरामा थिएन । भएका सानो स्पेसमा छन् । तर, चिया संसारले यो कमीलाई मेटाएको छ । काठमाडौंको चिया जङ्सनलाई पछ्याउँदै पोखरामा व्यवसाय शुरू गरेको बताउँछन् हिक्मत कार्की ।

हिक्मतसँगै व्यवसायमा जोडिएका छन् सागर खत्री, सागर कार्की र सन्दिप शर्मा पौडेल । यी चारैको आ-आफनो जागिर छ । कोही बैंकर हुन् कोही इन्जिनियर । जागिरसँगै उनीहरूले आफ्नै व्यवसायमा लगानी गरिरहेका छन् । गत वर्षको दशैंदेखि योजना बुन्न थालेका थिए यी साथीले । अन्तत: यो वर्षदेखि ४० लाख हाराहारीमा लगानी गरेर ‘चिया संसार’ सञ्चालनमा ल्याए ।

व्यापार व्यवसायको चारैजनालाई अनुभव थिएन । तर, आफ्नो व्यवसायको सपना भने सँगै देखेका थिए यी साथीले । जसमा सबैको परिवारले साथ दिए । परिवारको आडले पनि आर्थिक रूपमा समस्या भोग्नुपरेन उनीहरूले । व्यवसायका लागि चाहिने लगानीको तनाव पार लाग्यो । 

त्यसपछिका चुनौती चारजनाले मिलेर सुल्झाउँदै आए । चिया संसारमा चियाको स्वादले मात्र नभई यसको संरचनाले पनि आर्कषित गर्छ ग्राहकलाई । खुल्ला स्पेसमा संरचनाको बनोटलाई ध्यान दिँदै उनीहरूले काम गरे ।

‘यो फिल्ड हाम्रो लागि नयाँ थियो । संरचना पनि नयाँ बनाउने सोच्यौं । ब्याम्बोको संरचना छ । यसमै अप्ठ्यारो भयो,’ हिक्मतले शुरूआती समय सुनाए ।

चिया गफले नै चिया संसारको योजना बनाएको हो । त्यसैले पनि चिया गफ बौद्धिक बहसको थलो ठान्छन् उनीहरू । दिनभरको थकानपछि साथीसँग हुने त्यो एक घण्टा भेटले रिफ्रेस पनि बनाउँथ्यो । त्यसैले पनि भेट्ने जङ्सन फेरियो । तर, भेटघाट रोकिएन । हाँसोमजाक नै त नभनौँ । तर, साथीहरूबीच बहस छेडियो । भेटघाटका लागि आफ्नै ‘जङ्सन’ बनाउने । त्यही जङ्सनको खोजीले व्यवसायको योजना फुरेको बताउँछन् अर्का साथी सागर खत्री । उनले हाँस्दै भने- हाम्रो आफ्नै जङ्सन बनाम् भन्ने पनि भयो ।

null

यो जङ्सनले उनीहरूलाई मात्र फाइदा गरेन । अहिले चिया संसारमा राजनीतिक गफगाफ होस् कि जेन जी पुस्ताको बात । सबै एकै ठाउँमा चल्छ । विचार विमर्शको थलो समेत बनेको छ ‘चिया संसार’ ।

‘ठूलो क्याफेमा जाँदा हाइ अमाउन्ट खर्च हुन्छ । बेल्कामा घुलमिल भएर ३० रूपैयाँको एक कप चिया खायो भने धेरै आइडिया आउँछ । एक घण्टा समय बितायो भने रिफ्रेस हुन्छ,’ हिक्मतले थपे,‘हामी पनि कुनै क्याफेमा बसेर कुराकानी गरेर सल्लाह निकालेका हौं । पछिल्लो भविष्यलाई यो उदाहरणको लागि यो ठाउँ बन्छ ।’

हिक्मत ओमाडाको सोरुम सेल्स म्यानेजर हुन् । चिया संसार बाहेक चारै साथीको आ-आफ्नो जागिर जीवन छ । तैपनि सबैले मिलेर चिया संसार हेरिरहेका छन् । उनीहरू सबै जागिर बाहेक पनि केही गर्न चाहन्थे ।

‘जागिरले मात्र हुँदैन, साइडमा केही गर्नुपर्छ भन्ने तरिकाले ल मिलेर गरौं न त भन्ने तरिकाले शुरू गरेको हो,’ सागर खत्रीले थपे ।

संयोग कस्तो भने चारमध्ये तीन दौतरी सानैदेखि एकै गाउँमा हुर्केका । सँगै विद्यालय गएका । त्यसैले पनि आत्मियता र विश्वास प्रगाढ भयो । यही विश्वासले होमिएका हुन् व्यवसायमा । चिया संसार शुरूआत गर्नका लागि पनि उनीहरूले रत्नचोक रोजे । यो स्थान रोज्नुको दुई कारण छ । एक; उनीहरूको शुरूआती दिनदेखिको जङ्सन नै यही स्थान थियो ।

अर्को, यही पेरिफेरिमा पर्छ पाँचवटा विद्यालय र कलेज । बिहान ६ बजेदेखि नै खोल्छन् चिया संसार । एकाबिहानै विद्यार्थीको भेटघाटको थलो पनि बन्छ यो स्थान । दिन ढल्दै जाँदा सबैको रिफ्रेसमेन्ट स्पट बन्छ चिया संसार । आफूहरूले खोलेको भिजन अनुसार चिया संसार चलिरहेको उनीहरू सुनाउँछन् । यतिका बाबजुद उनीहरूलाई चुनौती भने मानवस्रोत साधन बनिरहेको छ ।

‘स्किलवाला मान्छे छैन । यहाँ भनेको पढ्दै गरेको अलिकति कम स्किल भएको हो । बाहिरको लागि भिसा नलागेर बसेको हुन्छ । काम गर्ने मान्छेको जतिबेला पनि कमी भइरहन्छ,’ सागरले भने ।

यद्यपि, यी चार साथीले ९ जनालाई रोजगारीको अवसर प्रदान गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्