०५ साउन २०८३, मंगलबार

किओच बाल अस्पताल निर्माण गर्न नेपाल लाइफले गर्‍यो १ करोड रुपैयाँ सहयोग

असार ३०, २०८२
काठमाडौं
किओच बाल अस्पताल निर्माण गर्न नेपाल लाइफले गर्‍यो १ करोड रुपैयाँ सहयोग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैरनाफामूलक संस्था काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाडौंमा अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।​

किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा सोसम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफ इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गरेका छन् ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टिकृत बाल अस्पताल किओच–काठमाडौंको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

अस्पतालको मूल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य शुरू गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगहरूका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई कार्य आरम्भ भइसकेको छ ।

कार्यक्रममा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले डा. भगवान कोइरालाको अग्रसरतामा शुभारम्भ भएको यस परियोजनाले नेपालमा रहेका बालबालिकाको स्वास्थ्यको अवस्था सुधार गर्न अतुलनीय भूमिका निर्वाह गर्ने बताए ।

यस किसिमको परियोजनाले राज्यले लिएको नीतिलाई समेत सघाउ पुग्ने र आगामी दिनमा पनि निजी स्तरबाट नै यस किसिमको परियोजनाहरूको सफल कार्यान्वयन गर्न सकिएको खण्डमा नेपालका दूरदराजका आम नागरिक उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने उनले बताए । यस परियोजनामा नेपाल लाइफ जोडिन पाउँदा आफू गौरवान्वित भएको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक रुपान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

नेपालमा बाल स्वास्थ्यमा रूपान्तरण ल्याउनका निम्ति शुरूआत गरिएको यस परियोजनाका लागि उनले सबैलाई बधाई तथा शुभकामना दिए ।

बालबालिकाहरूलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नका लागि राजधानी लगायत सातैवटा प्रदेशमा सुविधायुक्त अस्पताल निर्माणार्थ आगामी दिनमा पनि सहयोग गर्न आफू प्रतिबद्ध रहेको उनले बताए ।

बालबालिकाको स्वास्थ्य उपचारका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १ करोडको सहयोग प्रदान गरिएको र यसले न्यून आर्थिक अवस्था भएका बालबालिकाले विशिष्टिकृत अस्पतालमा विशिष्टिकृत चिकित्सकहरूबाट उपचार प्राप्त गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष, मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा. भगवान कोइरालाले नेपाल लाइफले प्रदान गरेको सहयोगले परियोजनाले गति प्राप्त गर्ने बताए ।

नेपाल लाइफजस्तो गरिमामय र ठूलो ब्रान्डसँग सहकार्य गर्न पाउँदा पनि किओचको गरिमा बढेको र काम गर्न थप हौसला प्राप्त भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्