०५ साउन २०८३, मंगलबार

ट्रम्पको दाबी- मैले नरोकेको भए भारत र पाकिस्तानबीच आणविक युद्ध हुन्थ्यो

असार ३१, २०८२
काठमाडौं
ट्रम्पको दाबी- मैले नरोकेको भए भारत र पाकिस्तानबीच आणविक युद्ध हुन्थ्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोकेको दाबी दोहोर्‍याएका छन् । 

नेटो महासचिव मार्क रटसँगको भेटमा ट्रम्पले आफूले युद्ध नरोकेको भए भारत-पाकिस्तानबीच आणविक युद्ध हुनसक्ने खतरा औल्याएका हुन् । 

आफूले युद्ध नरोके व्यापारबारे कुरा नगर्ने चेतावनी दिएपछि दुवै देश युद्ध रोक्न तयार भएको उनको भनाइ छ । 'जसरी भारत र पाकिस्तान अगाडि बढिरहेका थिए, त्यसरी नै अर्को हप्ताभित्र उनीहरूबीच आणविक युद्ध हुने थियो,' उनले भने, 'मैले उनीहरूलाई (भारत र पाकिस्तान) भनेको थिएँ कि जबसम्म यो समस्या समाधान गर्नुहुन्न, हामी व्यापारबारे तपाईंसँग कुरा गर्ने छैनौं। उनीहरूले यो गरे (द्वन्द्व रोके)।'

ट्रम्पले धेरैपटक दाबी गरेका छन् कि दुई देशबीचको सैन्य द्वन्द्व उनको कारणले रोकिएको थियो । भारतले बारम्बार उनको दाबीलाई अस्वीकार गरेको छ।

ट्रम्पले पहिलोपटक मे १० मा सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोशल'मा घोषणा गरेका थिए कि अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन् ।

यसपछि, भारतीय विदेश मन्त्रालयले सैन्य द्वन्द्व रोक्न भारत र पाकिस्तानबीच भएको सम्झौता स्वीकार गरेको थियो, तर अमेरिकाको नाम लिएको थिएन । भारतले मध्यस्थताको अमेरिकाको दाबीलाई पनि अस्वीकार गरेको थियो।

कमेन्ट गर्नुहोस्