०४ साउन २०८३, सोमबार

विश्वको चौथो ठूलो अर्थतन्त्र भारतले २०२८ सम्म जर्मनीलाई उछिन्ने प्रक्षेपण

साउन १, २०८२
काठमाडौं
विश्वको चौथो ठूलो अर्थतन्त्र भारतले २०२८ सम्म जर्मनीलाई उछिन्ने प्रक्षेपण

एक महिनाअघि जापानलाई पछि पारेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको भारतले अब सन् २०२८ सम्ममा जर्मनीलाई उछिन्दै तेस्रो ठूलो अर्थतन्त्र बन्ने लक्ष्य राखेको छ  । भारतको आर्थिक वृद्धिदरले विश्व अर्थतन्त्रको गतिशीलतालाई फेरबदल गर्न सक्ने विज्ञहरूले अनुमान गरेका छन्  ।

भारतले आगामी दशकमा हरेक १२ देखि १८ महिनामा आफ्नो जीडीपीमा एक खर्ब अमेरिकी डलर थप्ने र सन् २०२५ देखि २०४७ सम्म वार्षिक औसत ९ प्रतिशतले वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

भारतीय सञ्चारमाध्यमहरूले देशको बलियो शुक्ष्म अर्थशास्त्रको आधार, युवा जनसांख्यिक लाभ, तीव्र शहरीकरण, बढ्दो पूँजी बजार र संरचनात्मक सुधारले दिगो वृद्धिको आधार तयार गरेको दाबी गरेका छन् ।

मार्केट्स एन्ड मार्केट्स (एमएनएम)को फोरसाइटिङ टिमले हालै भारतको भविष्यबारे गरेको अध्ययनले आर्थिक वृद्धिलाई प्रेरित गर्ने प्रमुख ट्रेन्डहरू उजागर गरेको छ । उक्त टीमले सन् २०४७ सम्म भारतलाई ३० खर्ब डलरको अर्थतन्त्र बनाउने सम्भावना रहेको बताएको छ ।

वैदेशिक दबाबका बाबजुद भारतको अर्थतन्त्रले लचिलोपन देखाएको छ । विश्लेषकहरूले वार्षिक जीडीपी वृद्धिदर ९ देखि १० प्रतिशत रहने प्रक्षेपण गरेका छन् ।

शहरीकरण भारतको आर्थिक उकालो चढाइको मेरुदण्ड बन्ने प्रक्षेपण गरिएको छ । शहरहरू अवसरको केन्द्र बन्दै गइरहेका छन् ।

शहरीकरण अहिलेको ३६ प्रतिशतबाट आगामी दशकमा ५० प्रतिशत नाघ्ने प्रक्षेपण गरिएको छ । यसले मेघासिटी, मेघारिजन र मेघाकरिडोरहरूको उदय हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यी शहरी क्षेत्रहरूले सन् २०३६ सम्म भारतको जीडीपी मा झन्डै ७० प्रतिशत योगदान दिनेछ । यो शहरी रूपान्तरणलाई सहयोग गर्न भारतले सन् २०३० सम्म वार्षिक २९० अर्ब डलरभन्दा बढी पूर्वाधारमा खर्च गर्नेछ ।

‘पीएम गति शक्ति राष्ट्रिय गुरुयोजना’ जस्ता पहलहरूले रेल, सडक, बन्दरगाह र हवाई क्षेत्रसहित १६ मन्त्रालयहरूलाई एकीकृत डिजिटल प्लेटफर्ममा ल्याएर समन्वित योजना र कार्यान्वयन गरिरहेको छ ।

यो आर्थिक वृद्धिको केन्द्रमा भारतको बढ्दो मध्यमवर्गीय जनसंख्या छ । यो जनसंख्या सन् २०४० सम्म अर्को आधा अर्ब थपिने अनुमान छ । यो जनसांख्यिक परिवर्तनले खर्च वृद्धिको ७५ प्रतिशतभन्दा बढी हिस्सा ओगट्नेछ र नयाँ अवसर खोल्नेछ  ।

अहिलेको १५ प्रतिशत गरिब घरपरिवारको संख्या सन् २०३१ सम्म ६ प्रतिशतमा झर्ने प्रक्षेपण छ । यो बढ्दो उपभोक्ता आधारले नवप्रवर्तन र लगानीका लागि प्रेरणा दिँदै विश्वको ध्यान भारतको उपभोक्ता-संचालित अर्थतन्त्रतिर आकर्षित गर्ने बताइएको छ ।

यद्यपि यो दौड चुनौतीविहीन छैन । ९ प्रतिशत वृद्धिदर कायम गर्न निरन्तर संरचनात्मक सुधार, नीति कार्यान्वयनको प्रभावकारिता र पूर्वाधारको खाडल पुर्न जरुरी छ ।

एमएनएम अध्ययनले वैश्विक आपूर्ति शृंखला अवरोध वा भूराजनीतिक तनावले भारतको लचिलोपनको परीक्षा लिन सक्ने चेतावनी दिएको छ । ग्रामीण र शहरी क्षेत्रबीचको असमानताको खाडल कम गर्दै जान पनि निकै चुनौती देखिएको विज्ञहरूले बताएका छन् ।

२०४७ को दृष्टिकोणतिर अघि बढ्दै गर्दा विश्वले भारतको प्रगतिलाई चासोपूर्वक हेरिरहेको छ । २५ वर्षभन्दा कम उमेरको आधा जनसंख्या उपयोग गर्ने र रणनीतिक लगानी गर्ने क्षमताले भारतलाई वैश्विक आर्थिक शक्तिको रूपमा स्थापित गर्न सक्छ ।

मेघासिटीहरूको चहलपहलदेखि फस्टाउँदो मध्यमवर्गसम्म, भारतको यात्रा महत्वाकांक्षा र व्यावहारिकताको मिश्रण हो ।

भारतले यो दौड कायम राख्छ वा बाटोमा अड्किन्छ भन्ने कुरा यसले अगाडिको बाटो कसरी पार गर्छ त्यसमा निर्भर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्