०९ साउन २०८३, शनिबार

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोको घरमा छापा, भाग्ने आशंकामा खुट्टामा जीपीएस ट्याग

साउन २, २०८२
काठमाडौं
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोको घरमा छापा, भाग्ने आशंकामा खुट्टामा जीपीएस ट्याग

ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोमाथि देश छोडेर भाग्न सक्ने आशंकामा प्रहरीले उनको घर र राजनीतिक मुख्यालयमा छापा मारेको छ ।

शुक्रबार प्रहरीले बोल्सोनारोलाई खुट्टामा इलेक्ट्रोनिक जीपीएस ट्याग लगाउन आदेश दिएको छ भने उनलाई विदेशी कूटनीतिज्ञहरूसँग सम्पर्क गर्न, दूतावासमा जान र सामाजिक सञ्जाल प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

बोल्सोनारोले सन् २०२२ को राष्ट्रपति निर्वाचनको परिणाम उल्टाउने षड्यन्त्र गरेको भन्दै ब्राजिलको सर्वोच्च अदालतले यी कडा प्रतिबन्धहरू लगाएको हो ।

उनी देश छोडेर भाग्न सक्ने सम्भावना रहेको भन्दै कडा निगरानी गर्न अदालतले आदेश दिएपछि प्रहरीले उनको घर र कार्यालयमा छापा मारेको हो ।

बोल्सोनारोमाथि निर्वाचन हारेपछि सत्ता कब्जा गर्न सैन्य 'कू' को योजना बनाएको गम्भीर आरोप लागेको छ । उनले यी आरोपहरूको खण्डन गर्दै आफूलाई निर्दोष बताएका छन् ।

छापा मार्ने क्रममा प्रहरीले बोल्सोनारोको घरबाट करिब १४ हजार अमेरिकी डलर नगद बरामद गरेको छ । बोल्सोनारोले यो रकम व्यक्तिगत प्रयोगका लागि भएको र यसको रसिद आफूसँग रहेको दाबी गरेका छन् ।

प्रहरीले उनलाई ब्रासिलियाको प्रहरी स्टेशनमा लगेर खुट्टामा इलेक्ट्रोनिक ट्याग लगाएको छ । बोल्सोनारोले यो कदमलाई 'अत्यन्त अपमानजनक' भन्दै आक्रोश व्यक्त गरेका छन् ।

'म ७० वर्षको पूर्वराष्ट्रपति हुँ, मैले देश छोड्ने कुरा कहिल्यै सोचिनँ,' उनले प्रहरी स्टेशनबाहिर पत्रकारहरूसँग भने ।

ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारो र उनका छोरा एडुआर्डोले अमेरिकासँग मिलेर ब्राजिलका अधिकारीहरूमाथि प्रतिबन्ध लगाउने षड्यन्त्र गरेको आरोप लगाएको छ ।

उनीमाथि कारवाही नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमै चेतावनी दिएको सीएनएनले लेखेको छ ।

वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला)ले ट्रम्पको धम्कीलाई 'प्रोटोकलविपरीत' भन्दै कडा आपत्ति जनाएका छन् ।

उनले भने, 'ब्राजिलको न्यायिक प्रणाली स्वतन्त्र छ, राष्ट्रपतिमा मेरो कुनै प्रभाव हुँदैन । बोल्सोनारोमाथि व्यक्तिगत नभई उनले सैन्य कूको प्रयास गरेको कार्यको आधारमा मुद्दा चलाइएको हो ।'

बोल्सोनारोसहित ३४ जनामाथि सैन्य कूको प्रयास, सशस्त्र आपराधिक संगठनमा संलग्नता, लोकतान्त्रिक शासनको उन्मूलन र हिंसात्मक कार्यमार्फत राज्य सम्पत्तिमा क्षति पुर्‍याएको लगायत पाँचवटा अभियोगमा मुद्दा चलाइएको छ ।

अभियोजकहरूले बोल्सोनारोको योजनामा लुला, उनको उपराष्ट्रपति र सर्वोच्च अदालतका एक मन्त्रीको हत्या गर्ने सम्भावित योजना समेत रहेको दाबी गरेका छन् । यदि दोषी ठहर भएमा बोल्सोनारोलाई ४३ वर्षसम्म जेल सजाय हुन सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्