
रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्न आफूले यसअघि नै राखेका जटिल मागहरू पूरा गर्नुपर्ने अडान पुनः दोहोर्याएको छ ।
युक्रेन र उसका सहयोगीहरूलाई चुनौती दिँदै रुसले आफूले कब्जा गरेको भू-भाग फिर्ता नगर्ने लगायतका मागमा अडिग रहेको बताएको हो ।
यससँगै, रुसले युक्रेनले नेटोमा सामेल हुने आकांक्षा त्याग्नुपर्ने माग पनि रुसले दोहोर्याएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता रुसलाई ५० दिनभित्र युद्धविराम नगरे कडा प्रतिबन्ध लगाउने धम्की दिएका थिए ।
त्यसको प्रत्युत्तरमा रुसले युद्ध अन्त्यका लागि आफ्ना मागहरू पुनः दोहोर्याएको हो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आइतबार रुसी राज्य नियन्त्रित टेलिभिजनमा भने, 'हाम्रा लक्ष्यहरू स्पष्ट छन् र हामी तिनलाई प्राप्त गर्न प्रतिबद्ध छौँ ।'
युक्रेन र उसका पश्चिमी सहयोगीहरूले रुसका यी मागहरू अस्वीकार गरेका छन् । शान्ति प्रक्रियाको सम्भावना थप जटिल बन्दै गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ट्रम्पको ५० दिने अल्टिमेटमले युद्धको गतिरोध तोड्ने अपेक्षा गरिएको भए पनि रुसको अडानले तनाव मत्थर हुने छाँट देखिएको छैन ।
यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार नयाँ चरणको शान्ति वार्ताको प्रस्ताव राखेका छन् भने रुसले पनि वार्तामा बस्न तयार भएको संकेत दिएको छ ।
रुसी सञ्चारमाध्यमहरूले कुनै मिति नतोकीकन टर्कीयको राजधानी इस्तानबुल सम्भावित वार्ताको केन्द्र भएको समाचारहरू प्रसारण गरिरहेका छन् ।
ट्रम्पले युद्ध अन्त्यका लागि गरिएका असफल वार्ताप्रति असन्तुष्टि व्यक्त गर्दै युक्रेनलाई अमेरिकी हतियार आपूर्तिको नयाँ बाटो खोलेको घोषणा गरेका छन् ।
यो कदमले युक्रेनको सैन्य क्षमता बलियो बनाउने अपेक्षा गरिएको छ, तर रुसको आक्रामक रणनीतिलाई रोक्न पर्याप्त हुनेमा आशंका जनाइएको छ ।
दुईतर्फी आक्रमण जारी
सोमबार राति रुसले युक्रेनको राजधानी किभमाथि ड्रोन र मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणमा परी कैयनको मृत्यु भएको किभका मेयर भिटाली क्लिट्स्कोले बताएका छन् ।
उनका अनुसार रुसी आक्रमणमा राजधानीका चार जिल्लामा रहेका मेट्रो स्टेशन, व्यावसायिक भवन, पसल र घरमा क्षति पुगेको छ ।
युक्रेनले रुसको आक्रमण रोक्न हवाई प्रयास गरे पनि शहरभर विस्फोटका आवाज सुनिएका थिए । धेरै किभवासीहरू सुरक्षाका लागि भूमिगत स्टेशनहरूमा आश्रय लिन बाध्य भएको किभले जनाएको छ ।
युक्रेनका अन्य क्षेत्रमा पनि आक्रमण जारी छ । जापोरिज्जिया र खार्किभमा ड्रोन आक्रमणमा सर्वसाधारण घाइते भएका छन् । सुमी शहरको केन्द्रमा ड्रोन आक्रमणले एक महिला र उनको सात वर्षीय छोरालाई घाइते बनाएको छ भने विद्युत आपूर्तिसमेत अवरुद्ध गरेको छ ।
युक्रेनको वायुसेनाले रुसका ५७ मध्ये १८ ड्रोन खसालेको जनाएको छ । रुसले ९३ युक्रेनी ड्रोन खसालेको र मस्कोनजिकै १० ड्रोन नष्ट गरेको दाबी गरेको छ ।
यसैबीच, युरोपेली संघ (ईयू)को १८औँ प्रतिबन्ध प्याकेजले रुसको तेल र ऊर्जा उद्योगलाई निशाना बनाएको छ ।
रुसको सबैभन्दा ठूलो तेल उत्पादक रोसनेफ्टले भारतको नायारा इनर्जी रिफाइनरीमाथिको प्रतिबन्धलाई अवैध र भारतको ऊर्जा सुरक्षामाथिको खतरा भन्दै निन्दा गरेको छ ।
रोसनेफ्टले नायारामा आफ्नो हिस्सेदारी ५० प्रतिशतभन्दा कम रहेको दाबी गरेको छ ।
ईयूकी विदेश नीति प्रमुख काजा कालासले यो प्रतिबन्ध रुसविरुद्ध अहिलेसम्मकै कडा भएको र मस्कोका लागि अब आक्रमण रोक्नु एक मात्र बाटो हुने बताएकी छन् ।