
आज श्रावण ६ अर्थात् ४३औं बीपी स्मृति दिवस । नेपाली राजनीतिका अद्वितीय, बहुआयामिक, दूरदर्शी युगद्रष्टा र अतुलनीय व्यक्तित्व (बीपी)– नेपाली साहित्यका उज्ज्वल नक्षत्र विश्वेश्वरप्रसाद कोइरालालाई सम्झने, उहाँका योगदानहरूका बारेमा चर्चा गर्ने र उहाँले देखाएको बाटोमा हिँड्ने संकल्प गर्ने दिन ।
नेपालको राजनीतिलाई ऐतिहासिक मोड दिँदै प्रजातन्त्रको आलोक प्रदान गर्ने प्रातःस्मरणीय व्यक्तित्व तथापि समकालीन राजनीतिले वर्षमा यस्तै एकाध पटक कर्मकाण्डीय रूपमा स्मरण गर्ने र उतिसारो सम्झन र अनुशरण गर्न छाड्दै गएका बीसौं शताब्दीका महानायक ! खासगरी मौजुदा नेपाली शासन सत्ताद्वारा उपेक्षित शिखरपुरुष !
साँच्चै विडम्बना नै मान्नुपर्छ, दमनकारी, निरंकुश जहानियाँ राणा शासन पल्टाएर प्रजातन्त्र ल्याउने राजनेतालाई राज्यले संस्थागत रूपमा कहिल्यै कुनै दिन सम्झदैन । उहाँले स्थापना गरेको राजनीतिक दलले समेत झारा टार्छ ।
अनौपचारिक रूपमा नेपालका कम्युनिस्ट, राजावादी र नयाँ दलका नेताहरू समेत बीपीलाई महान् राजनेता स्वीकार्छन् र आफ्नो आदर्श मान्छन् । तर, उहाँलाई संस्थागत रूपमा कहिल्यै सम्झिँदैनन् ।
राज्यले आफ्ना अभिभावकहरूलाई कम्तिमा वर्षको एकदिन जन्मजयन्ती वा स्मृति दिवस पारेर सम्झने वा श्रद्धा प्रकट गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । त्यस अर्थमा नेपाल कृतघ्नहरूको देश हो भन्दा फरक पर्दैन ।
एउटा प्रसंगबाट आजको बहस प्रारम्भ गरौं । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले आफ्नो टेबलमा पुरानो र जर्जर भइसकेको पातलाई कहिलेकाहीँ सुम्सुम्याएको देखेर पार्टीका एकजना साथीले सोधेछन्, 'सान्दाजु, यो के गरेको ? हामी जहिले पनि देख्छौं, तपाईं त्यो थोत्रो पात सुम्सुम्याउनुहुन्छ, किन ?' उहाँले मुस्कुराउँदै जवाफ दिनुभएछ, 'तिमीहरू कुरा बुझ्दैनौ । यो पातमा जुम्लातिरको एकजना साथीले धेरै पहिले मलाई कोदोको रोटी ल्याइदिएको थियो । उसले यहाँ ल्याइपुर्याउँदा रोटी त खानलायक थिएन नै, तर मैले यो पात सम्हालेर राखेको छु । रोटी मुख्य कुरा होइन, उसले रोटीमार्फत मप्रति देखाएको प्रेम र श्रद्धा प्रमुख कुरा हो । जब म यस टेबलमा यो पातलाई देख्छु, उसलाई सम्झन्छु र द्रवित हुन्छु, मभित्र उसप्रति स्नेहको बाढी उर्लिन्छ । कति माया गर्छन् साथीहरूले मलाई । यसले मलाई मेरा साथीहरूप्रतिको कर्तव्य सम्झाउँछ । देश र जनताप्रति जिम्मेवार र संवेदनशील बनाउँछ ।' यतिबेला यो सबै देखेका, भोगेका र आजीवन संघर्ष गरेका नेताहरूको हातमा पार्टी र देशको बागडोर छ । तर, अहिलेका नेताहरूको व्यवहार, आचरण र गतिविधि कस्ता छन् त ? केहीबेर चर्चा गर्नु युक्तिसंगत हुनेछ र आजको दिन निकै सान्दर्भिक पनि हुनेछ ।
केही दिनअघि आफ्नो छोराका दुवै मिर्गौला फेल भएका एकजना पुराना नेता एवं प्रजातन्त्र सेनानी महिनौं काठमाडौं आएर बसे, उपचारमा हारगुहार गर्दै । यस पंक्तिकारसँग पनि भेट भयो । एकजना उद्यमी साथीलाई भनेर थोरैबहुत साथ/सहयोग पनि गरियो । तर, राज्य सञ्चालनमा रहेका अनेकौं साथीहरूसँग भेट्न खोज्दा या त भेट भएन या राम्रो व्यवहार गरिएन । उपचारमा ढिलाइ भएकाले अल्पायुमै छोराको मृत्यु भयो । उनले प्रजातन्त्रका लागि आजीवन गरेको संघर्षको न्यूनतम् मूल्य पनि भएन । छोराको अन्त्येष्टिमा उनी लगभग बेहोश नै थिए । खबर पाएर पनि धेरै महानुभावहरूले सहभागी हुने आँट समेत गरेनन् । यो त प्रतिनिधि उदाहरण मात्र हो । एकातिर शासनमा आफ्नै सहकर्मीहरूको रजगज, अर्कातिर हजारौं प्रजातन्त्र सेनानीहरूको दुर्दशा !
हामीलाई थाहा छ, व्यक्तिको चेतनाले संस्था र संस्थाको चेतनाले समाजलाई डोहोर्याउने र समुन्नत बनाउने हो । कहिलेकाहीँ धेरै व्यक्तिको सामूहिक चेतनाले संस्था आलोकित हुँदै अघि बढ्छ र निर्धारित गन्तव्यमा पुग्छ । अझ प्रजातान्त्रिक संस्थाहरू त सामूहिकतामा विश्वास गर्छन् एवं गौरव पनि । र, नेतृत्व त केवल प्रतीकात्मक मात्र हुन्छ । उसले सामूहिक विचारको वकालत मात्र गर्छ । उसका विचारहरू समेत सामूहिक विचारकै अंश हुन्छन् । यहाँ कोही सर्वोपरि वा कसैको प्राधिकार बन्दैन । यी विश्वव्यापी मान्यताहरू हुन् । बीपीजस्ता महापुरुषहरू भने अपवाद हुन् । नेपाल भने यसको छेउछाउ पनि छैन । प्रजातन्त्र देखाउने दाँतमात्र भएको छ । यसलाई सार्वजनिक प्रहसनमा कलाकारले पहिरिने बहुरङ्गी पोशाकजस्तो बनाइएको छ, जो हेर्दा सुन्दर तर मूल्य र प्रतिष्ठाविहीन तथा लोकजीवनमा प्रयोजनविहीन । हिजोआज यसका दुष्प्रभावहरू जताततै देखिन थालेका छन् । जसका प्रेरणाले राजनीति चल्यो र आज पनि चलाइरहेका छौं, तिनै महामानवहरूको दुर्दशा भएपछि अरूको के हाल होला, हामी सहजै अनुमान गर्न सक्छौं । यतिबेला हामीले राजनीतिलाई निर्धक्क रूपले व्यापार बनाएका छौं । आफ्नो दुनो सोझ्याएका छौं र प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाको संघर्षमा धेरै योगदान पुर्याएका साथीहरूलाई घोर अपमान गरेका छौं । यो सिलसिला जारी छ ।
नेपालको राजनीति दिनानुदिन बिग्रँदै र संवेदनहीन बन्दै गएको विषयमा नेपालीहरूबीच एकमत नै छ भन्दा अत्युक्ति नहोला । यसले राजनीतिका न्यूनतम मानकहरूलाई समेत भत्काएर अघि बढेको देखिन्छ । नेपालीमा एउटा उखान छ, 'बिग्रेको मान्छेको भत्केको घर, भत्केपछि केको डर ।' हिजोआज जति बिग्रिन सक्यो, उति बहादुरीजस्तो देखिन थालेको छ । यस्तो अवस्थामा नेपाली समाजको सुदूर भविष्य कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । यहाँका हरेक संस्था र व्यक्ति समेतको ध्यान समग्र राष्ट्रिय चिन्तनमा होइन, निजी लाभ र उपलब्धिमा केन्द्रित पाइन्छ । यस प्रवृत्तिलाई नयाँ पुस्ताले टाप्पकै टिपेको छ । नेपालमा अहिले चार्वाक दर्शन (प्रारम्भमा चारुवाक, अपभ्रंश भएर चार्वाक) को प्राधान्यता छ । यसले भन्छ–
यावज्जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं पिवेत् ।
भस्मीभूतस्य देहस्य पुनरागमनं कुत: । ।
जहिलेसम्म बाँच्ने हो, सुखसँग बाँच्नुपर्छ, त्यसैले ऋण काढेर पनि घिउ खानुपर्छ । मसानघाटमा डढेपछि भौतिक शरीर कहाँ फर्केको छ र ! हिजोआज नेपाली राजनीतिमा यही दर्शन हावी भएको छ । यसलाई भौतिकवादी वा उपभोक्तावादी दर्शन मानिन्छ । कम्युनिस्टहरूमा यसको सोझो प्रभाव र अनुशरण पनि छ । जसरी पनि सत्तामा पुग र उपयोग गर । प्राचीन कालमा यस मान्यताका प्रणेता देवताका गुरु बृहस्पति थिए । यसले द्वैतवादको वकालत गर्छ, आत्मा र परमात्मालाई अलग ठान्छ । पञ्चतत्त्वको आकाश तत्त्व अर्थात् शून्यलाई मान्दैन । शङ्कराचार्यको अद्वैतवादले चार्वाकको मान्यतालाई ओझेलमा पारेको भएपनि अहिलेसम्म यो जीवित छ । हाम्रो जीवनमा यसको अत्यधिक प्रभाव छ । कम्युनिस्ट मात्र होइन, बीपीवादीहरूले समेत यसलाई आफ्नो आदर्श बनाएका छन् । हाम्रो जनजीवन यही मान्यताले आक्रान्त छ । सबैभन्दा बढी यसको शिकार नयाँ पुस्ता छ । यसको कारण हाम्रा समकालीन नेताहरूको जीवनशैली र आचरण हो ।
श्रीमद्भागवतमा एउटा कथा छ, महर्षि व्यास पुत्र सुकदेव मुनिको । कथाअनुसार उनी आमा आरुणीको गर्भबाट बाह्र वर्षपछि मात्र पृथ्वीमा अवतरित भएका थिए, सांसारिक मायामा पर्ने डरले । कथाकै अनुसार लुकेर अमर कथा सुनेका कारण क्रोधित भगवान् शिवका डरले भाग्दाभाग्दै उनी व्यास पत्नी आरुणीको मुखबाट प्रवेश गरी गर्भमा पुगेका थिए । तर, जबसम्म सांसारिक मायाले आफूलाई नछुने कुरामा आश्वस्त भएनन्, तबसम्म उनले जन्म नै लिएनन् । किनकि भगवान् शिवबाट अमरत्व प्राप्त हुने अमर कथा अर्थात् भागवत कथा श्रवण गरिसकेका उनी पूर्वजन्ममा सुगाको रूपमा वैकुण्ठवासी पन्छी थिए । सुकदेव जन्मनेबित्तिकै जङ्गलतिर भाग्न लागेको देखेर आमा विलाप गर्न लागिन् भने महाज्ञानी पिता व्यास छोराको पछि–पछि दौडिए, छोरालाई रोक्न । तर, उनी रोकिएनन् । उनले पितालाई भने, 'न तिमी मेरा पिता हौ, न म तिम्रो पुत्र । हामी त कार्यकारणले यस लोकमा आएका हौं । वृक्षको सन्तान हो- फल । तर त्यसलाई कसैले तोडेर खान्छ, तथापि वृक्ष खुशी हुन्छ । मेरो पुत्रले कसैको हित गर्छ वा सन्तुष्टि दिन्छ भनेर । असल पिताले पुत्रको समेत त्याग गर्न सक्नुपर्छ ।'
यस कथाबाट थप के शिक्षा प्राप्त हुन्छ भने अभिभावकले अरूको भलाइका लागि आफ्नो सर्वाधिक प्रिय वस्तु पनि त्याग्न तयार हुनुपर्छ । अझ राजनीतिमा त नेताले कुनै कुराको लोभ गर्नु हुँदैन । तर, हिजोआज के हुँदैछ वा के चल्दैछ, हामीलाई राम्रोसँग थाहा । समाजका अन्य क्षेत्रहरू समेत राजनीतिबाट नराम्ररी प्रभावित भएका छन् । नेपाली जनताले यसको लेखाजोखा राम्रोसँग राखेका छन् । समयक्रममा राम्रोसँग पटाक्षेप हुनेछ ।
अर्को एउटा प्रसङ्ग छ । एकदिन बुद्धलाई चेलाहरूले प्रवचनकै दौरान सोधेछन्, 'तपाईं यतिबेला राजा नै भइरहनुभएको भए के गर्नुहुन्थ्यो ?' बुद्धले शान्त मुद्रामा अनुहार हसिँलो पारेर जवाफ दिनुभएछ, 'निःसन्देह रूपमा मैले आफूलाई जनसेवामा समर्पित गर्नुपर्थ्यो, जसका म राजा हुँ वा रहन्थें । मेरा प्रजाहरूको सुखलाई दिनरात ध्यान दिनुपर्थ्यो । आज म जुन सुखमा छु, यस्तो आनन्द मलाई कहाँ प्राप्त हुन्थ्यो र !'
दरबारको शक्ति, युवराजको पद, वैभव, ऐश्वर्य र सम्पूर्ण सुख त्यागेर सन्यासीको जीवन धारण गरेका भगवान् बुद्धको यस भनाइले पनि सिद्ध गर्छ कि राजाको नवसंस्करणका रूपमा रहेको राजनीतिक दलका नेताहरूको आचरण र प्रवृत्ति कस्तो हुनुपर्दछ । हामी कसैले पनि वर्तमान नेताहरूबाट त्यसतहको आचरण, व्यवहार र प्रवृत्तिको अपेक्षा गरेका छैनौं । तथापि न्यूनतम् लक्षणहरू पनि नपाउँदा असाध्यै दुःख लाग्नु अस्वाभाविक होइन । हामी सबैलाई थाहा छ, राजनीति समस्या होइन, समाधान हो । तर, विडम्बना मान्नुपर्छ, नेपालको राजनीति नेपालीहरूका लागि समस्या भएको छ, अझ कतिपय अवस्थामा त संकट नै ।
आज ४३औं स्मृति दिवसका दिन बीपीलाई सम्झिँदा दलको सदस्य वा उहाँलाई श्रद्धा गर्ने नेपाली नागरिकले पूरा गर्नुपर्ने दायित्व के हो त भन्ने प्रश्न उठ्छ । अब नागरिकका हकमा त यो बाध्यात्मक छैन किनकि उनीहरूले राजनीतिक दललाई आफ्नो दायित्व सुम्पेका हुन्छन् । पार्टी सदस्यले पनि आफ्नो नेतृत्वलाई जिम्मा लगाएको हुन्छन् । अनि राज्यको बागडोर लिएका दलहरूले जिम्मेवार हुनुपर्छ कि पर्दैन ? देश थिलथिलो छ । नयाँ पुस्ता निराश छ । जनता आहत छन् । के चुनाव लड्नु, सरकारमा पुग्नु र यान्त्रिक रूपमा चल्नुमात्र राजनीति हो ? के यसरी नै अमेरिका, चीन, भारत, युरोप, सिङ्गापुर, कोरिया र जापान बनेका हुन् ? आजको मूल प्रश्न यही नै हो । जनताको एउटै आवाज हो, कि त अविलम्ब सुधर, कि राजनीतिक आत्महत्याको सामूहिक तयारी गर । यो भन्दा अर्को बाटो देखिँदैन । बीपीले परिकल्पना गरेको समाज र जनताको सम्पन्नता हामी सबैको साझा सपना थियो । बीपीको शालिक ठड्याउनु, सिद्धान्तको रट लगाउनु र बारम्बार सरकारमा पुग्नु मात्रले राजनीतिक परिवर्तनलाई सार्थक बनाउँदैन । र, बीपीप्रति सच्चा श्रद्धाञ्जली समेत हुँदैन । आजको दिन गम्भीर बनौं र कमी कमजोरी त्यागेर अघि बढ्ने संकल्प गरौं । युगनायक बीपीप्रति भावपूर्ण श्रद्धाञ्जली !