१८ असार २०८३, बिहीबार

असन्तुष्टि र पारिवारिक बेमेलले बढाउँदैछ जघन्य अपराध

साउन ८, २०८२
विराटनगर
असन्तुष्टि र पारिवारिक बेमेलले बढाउँदैछ जघन्य अपराध

सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा बुधबार एक छोराले आफ्नै बाबुको हत्या गरेको घटना सार्वजनिक भयो । जग्गा विवादका कारण मोहम्मद रियाज अन्सारीले छुरा प्रहार गरी ६० वर्षीय बाबु सचिव अन्सारीको हत्या गरेका गरेका प्रहरी बताउँछ ।

सुनसरी प्रहरी प्रमुख, एसपी सुमनकुमार तिम्सिनाका अनुसार मोहम्मदले बुधबार बिहान सचिवको छाती र ढाडमा छुरा प्रहार गरेका थिए । जग्गा विवाद चरम सीमामा पुगेपछि मोहम्मदले आक्रोशमा आएर आफ्नै बुवामाथि धारिलो हतियार प्रहार गरेको तिम्सिना बताउँछन् ।

गम्भीर घाइते भएका सचिवलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको छ । प्रहरीले आरोपित छोरालाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ ।

यसअघि २१ गते असारमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एक जघन्य हत्याकाण्ड घटेको थियो । भोजपुर नगरपालिका–२ हेलौचाका ३० वर्षीय राजेन्द्र राईले आफ्नै श्रीमती र ससुराली परिवारको हत्या गरेका थिए । 

राजेन्द्रले आफ्नी १७ वर्षीया पत्नी मनिषा गिरि, ६८ वर्षीय ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासू मञ्जु गिरि र ९ वर्षीय सालो सपन गिरिको हत्या गरेका थिए । प्रहरीले हत्यामा संलग्न राजेन्द्रलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

हत्याको पछाडी पारिवारिक कलह रहेको देखिएको छ । राजेन्द्र र मनिषाबीच करिब नौ महिनाअघि प्रेमविवाह भएको थियो । तर, समाज र परिवारमा उनीहरूको अन्तरजातीय विवाह सहज रूपमा स्वीकार्य बनेन । त्यही अस्वीकृति अन्तत: हिंसामा परिणत भएको प्रहरीको भनाइ छ ।

असार २१ गते राति राजेन्द्रले पत्नीलाई लिएर घर फर्किने तयारी गरेको तर, ससुराली पक्षले सहमति नदिएपछि विवाद चर्किएको थियो । ससुराली पक्षले राजेन्द्रलाई रोक्न खोजेका थिए ।

१५ गते असारमा मोरङको धनपालथान गाउँपालिकामा एक दर्दनाक घटना सार्वजनिक भयो ।  अक्षय सरदारकी ७ वर्षीया छोरी आत्तिका सरदारको आफ्नै काका अनिष सरदारले बलात्कारपछि हत्या गरेको खुलासा भयो ।

बालिकाको शव घर नजिकैको दुर्गा आधारभूत विद्यालय जाने बाटोमा विभत्स अवस्थामा फेला परेको थियो । उनको अनुहार, घाँटी र शरीरका विभिन्न भागमा गहिरो चोटपटक देखिएको थियो । अपराध लुकाउने उद्देश्यले बालिकाको हत्या गरी शव फालिएको प्रहरीको निष्कर्ष छ ।

प्रहरीले घटनाको अनुसन्धान थालेलगत्तै शंकाको घेरामा रहेका अनिष सरदारलाई नियन्त्रणमा लिएको थियो । शुरूमा घटना स्वीकार नगरे पनि अनुसन्धान बढ्दै जाँदा उनको संलग्नता पुष्टि हुने प्रमाण भेटिएको छ । 

मृतक बालिकाका हजुरबुबाको जाहेरीका आधारमा कर्तव्य ज्यान र हाडनाता करणी मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

यी घटनाहरू पारिवारिक अपराधको बढ्दो प्रवृत्तिका प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्लो समय परिवारभित्रका सदस्यबाटै जीवनमा खतरा हुने घटनाको संख्या बढिरहेको छ । 

सामान्य घरेलु विवादकै कारण आफन्तबाटै मारिनुपर्ने डरलाग्दो पारिवारिक अपराधको दर निरन्तर बढिरहेको तथ्यांकले देखाउँछ ।  भनाभनबाट शुरू हुने असमझदारी भौतिक आक्रमणको तहमा उक्लिने क्रम बढ्दै जाँदा यस्ता अपराधको संख्या लगातार कोशी प्रदेशमा बढिरहेका छन् । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो एक वर्षको तथ्यांकले सबैभन्दा सुरक्षित संस्था मानिने परिवार असुरक्षाको कारखानाजस्तै बनिरहेको देखाउँछ । १४ जिल्ला रहेको कोशी प्रदेशमा आर्थिक वर्षमा ८ हजारभन्दा बढी मुद्दा दर्ता हुने गरेको छ ।

दर्ता भएकामध्ये झण्डै १५० भन्दा बढी कर्तव्य ज्यान मुद्दाको घटनामा पारिवारिक हत्याका मात्रै ५० भन्दा बढी घटना भएका छन् । मोरङमा मात्रै आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ६०६ वटा मुद्दा दर्ता भएको छ । 

दर्ता भएकामध्ये १ हजार ९२० मुद्दा फर्छ्यौट भएको छ भने ६८६ मुद्दा बाँकी रहेको मोरङ प्रहरीले जनाएको छ । यसमध्ये कर्तव्य ज्यान मुद्दा १३ वटा दर्ता भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआइजी ईश्वर कार्कीका अनुसार जघन्य अपराध नजिकको आफन्तबाट हुने गरेको पाइएको छ । उनले पारिवारिक किचलो, माया प्रेममा धोका, सबैलाई चिन्तित तुल्याएको कारणले हत्याका घटना भएको बताए ।

पारिवारिक सम्बन्ध सुमधुर राख्न नसक्दा, एकअर्कामा विश्वास गुम्दा र आपसी बेमेल उत्पन्न हुँदा पारिवारिक अपराधका घटना हुने गरेको उनको भनाइ छ । 

‘विभिन्न क्षेत्रमा निराश भएपछि अमुक व्यक्तिलाई दोष दिने गर्दछ ।  त्यसमा आफन्तलाई बाधकको रूपमा हेर्ने गर्दछन्,’ डीआईजी कार्कीले भने, ‘आवेगमा आएर जघन्य प्रकृतिका घटना घटाउने गरेका छन् ।’

प्राथमिकता दिनुपर्ने कुराभन्दा अरूतिर मानिस बढी आकर्षित हुँदा, परिवारले सही गति र दिशा लिन नसक्दा, एकअर्कालाई शंकाको नजरले हेरिँदा, एकले अर्काको भावना बुझ्न नसक्दा यस्ता घटना हुने गरेको उनको भनाइ छ ।

समाजशास्त्री प्राध्यापक डा. डिल्ली प्रसाइँ पछिल्लो समय बढ्दो कलहसँगै सृजित अपराधका कारण पारिवारिक सम्बन्ध जटिल मोडमा पुगिरहेको विश्लेषण गर्छन् । सामाजिक र आर्थिक कारणले अहिले परिवारभित्रका सदस्य अपराध कर्ममा लाग्ने गरेको उनको बुझाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्