
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाका नेतासँग सीमा क्षेत्रमा भएको लडाइँलाई तत्काल रोकेर युद्धविराम गर्न आग्रह गरेका छन् ।
ट्रम्पले ट्रुथ सोसियलमा एक टिप्पणी लेख्दै दुवै देशका नेताहरू युद्धविरामका लागि सहमत भएको र चाँडै शान्ति स्थापनातर्फ अघि बढ्ने बताएका छन् ।
थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचयाचाईले पनि थाई पक्ष युद्धविरामको सिद्धान्तमा सहमत भएको पुष्टि गरेका छन् । यद्यपि उनले कम्बोडिया पक्षको यसप्रति इमानदारी हेर्न चाहेको पनि बताएका छन् ।
२४ जुलाईदेखि शुरू भएको झडपमा हालसम्म ३३ जना सैनिक तथा सर्वसाधारणको मृत्यु भइसकेको छ भने हजारौं नागरिक विस्थापित भएका छन् ।
ट्रम्पले व्यापार वार्ता पुनः शुरू गर्ने आशा व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘जबसम्म लडाइँ रोकिन्न, वार्ता उपयुक्त हुँदैन ।’ अमेरिकी व्यापार महसुल लागू हुनुअघि ट्रम्पको यो हस्तक्षेपलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
त्यसअघि कुनै सम्झौता भएन भने अगस्ट १ देखि अमेरिकामा थाइल्यान्ड वा कम्बोडियाबाट सामान आयात गर्दा ३६ प्रतिशत शुल्क तिर्नुपर्नेछ ।
हालैको झडपमा थाइल्यान्ड र कम्बोडियाले एकअर्कालाई पहिला गोली चलाएको आरोप लगाएका छन् । थाइ सेनाले कम्बोडियाले सीमाक्षेत्रमा ड्रोन परिचालन गरेर निगरानी थालेको दाबी गरेको छ भने कम्बोडियाले थाइ सेनाले पूर्वसम्झौता उल्लंघन गर्दै खमेर–हिन्दू मन्दिर नजिकै अग्रसर भएको आरोप लगाएको छ ।
दुवै देशबीचको यो विवाद एक शताब्दीयभन्दा पुरानो हो, जसको जरा फ्रेन्च उपनिवेशकालीन सीमांकनसँग जोडिएको मानिन्छ ।