
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले निजी प्रविधि कम्पनीले सञ्चालन गर्ने एपहरूमा आधारित व्यक्तिगत स्वास्थ्य प्रणाली शुरू गर्ने घोषणा गरेको छ ।
ती एपहरूमार्फत् चिकित्सकीय अभिलेखहरू सेयर गर्न मिल्ने भएकाले यो कार्यक्रमले मानिसहरूलाई आफ्ना स्वास्थ्य अभिलेखहरू सजिलै प्राप्त गर्न सकिने र निगरानी गर्न सहयोग पुर्याउने बताइएको छ ।
ती कम्पनीमा गुगल, अमेजन, एप्पलजस्ता ठूला ६० भन्दा बढी प्रविधि कम्पनी छन् भने त्यसमा युनाइटेड हेल्थ ग्रुप र सीभीएस हेल्थजस्ता ठूला स्वास्थ्य सेवा प्रदायकहरू पनि समावेश रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ट्रम्प प्रशासनले ल्याउने भनेर घोषणा गरेको यस प्रणालीमा बिरामीहरूको विवरण एक आपसमा साझा गर्ने सहमतिसमेत भइसकेको बताइएको छ ।
यो अभियानले विशेष रूपमा मधुमेह नियन्त्रण र तौल व्यवस्थापनमा ध्यान दिनेछ । साथै, मानिसहरूसँग संवाद गर्न सक्ने कृत्रिम बौद्धिक प्रणाली, बिरामीहरूलाई दर्ता गर्न वा औषधि ट्र्याक गर्न सक्ने एप र क्यूआर कोडजस्ता डिजिटल टूलहरूको प्रयोग गरिनेछ ।
‘दशकौँदेखि अमेरिकाको स्वास्थ्य सेवा प्रणालीलाई उच्च प्रविधिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता थियो,’ राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजित कार्यक्रमका क्रममा कम्पनीका प्रमुख कार्यकारीहरूसँग भने, ‘वर्तमान प्रणाली ढिलो, खर्चिलो र एक आपसमा नमिल्ने किसिमको छ, तर आजको यो घोषणासँगै हामी स्वास्थ्य सेवा प्रणालीलाई डिजिटल युगमा प्रवेश गराउँदैछौं ।’
तर, यस प्रणालीले नागरिकहरूले सुविधा पाए पनि आफ्नो स्वास्थ्यसम्बन्धी विवरणको गोपनीयताको पनि चिन्ता बढाएको छ ।
ट्रम्प प्रशासन विशेषगरी पहिलेदेखि नै अमेरिकी नागरिकको व्यक्तिगत विवरणहरूबारे उदासीन रहेको भन्दै गोपनीयताका विषयमा अमेरिकीहरू चिन्तित बनेको रोयटर्सले लेखेको छ ।
जर्जटाउन विश्वविद्यालयका सार्वजनिक स्वास्थ्यसम्बन्धी कानून विज्ञ लरेन्स गोस्टिनको भनाइ उदृत गर्दै रोयटर्सले लेखेको छ, 'यसमा ठूला नैतिक र कानुनी चिन्ताहरू छन् । अमेरिकाभरका बिरामीहरूले उनीहरूको चिकित्सकीय विवरणहरू गलत तरिकाले प्रयोग हुन कि भन्ने चिन्ता गरेका छन् । यस्तो गोपनीयताको भंग भएमा उनीहरू र उनीहरूको परिवारलाई हानि पुग्न सक्छ ।’
यो प्रणालीको व्यवस्थापन मेडिकेयर तथा मेडिकेड सेवा केन्द्रले गर्नेछ । अमेरिकी उच्च अधिकारीहरूले बिरामीहरूले आफ्ना विवरण साझा गर्नका लागि स्वेच्छिक रूपमा सहभागी हुनुपर्ने र सबै विवरणहरू सुरक्षित तरिकाले राखिने दाबी गरेका छन् ।
यो प्रणालीले बिरामीलाई पहिलेजस्तो ढिलो प्रक्रिया, कागजात फ्याक्स गर्नुपर्ने जस्ता झन्झटबाट छुटकारा दिई छिटो र सरल पहुँच दिने दाबी गरिएको छ ।
‘हामी उपभोक्तालाई आफ्ना अभिलेख प्रयोग गर्न सक्ने खालका अद्भुत प्रविधिमा प्रगति गर्दैछौं,’ मेडिकेयर तथा मेडिकेड सेवा केन्द्रका प्रमुख डा. मेहमेत ओजले ह्वाइट हाउसको कार्यक्रममा भने ।
यो प्रणालीमा तौल घटाउने र स्वास्थ्य सुधार सेवा दिने सदस्यता प्रणाली ‘नुम’ पनि सहभागी हुने बताइएको छ । नुमले यो प्रणाली शुरू भएपछि प्रयोगकर्ताको ल्याब परीक्षण वा अन्य स्वास्थ्य अभिलेख प्राप्त गर्न सक्नेछ ।
ती विवरणहरूमार्फत् नुमले प्रयोगकर्तालाई तौल घटाउन सहयोग गर्ने कृत्रिम बौद्धिक विश्लेषण उपलब्ध गराउने बताइएको छ । यस प्रणालीले एक कम्पनीको एपले अर्को कम्पनीको विवरण पनि सहजै पहुँचमा ल्याउन सक्नेछ ।
जसअनुसार नुमले प्रयोगकर्ताको एप्पल हेल्थमा रहेका विवरणसमेत उपयोग गर्न सक्ने बताइएको छ ।
नुमका प्रमुख कार्यकारी अधिकृत जेफ कुकले भने, ‘हालका अवस्थामा विवरणहरू अलग-अलग स्थानमा थुप्रिएका छन् । यो प्रणालीले ती सबैलाई एउटै ठाउँमा ल्याउँछ ।’
क्लिभल्यान्ड क्लिनिकका प्रमुख कार्यकारी डा. टमिस्लाभ मिहाल्जेभिकका अनुसार देशका विभिन्न स्थानबाट उपचारका लागि आउने बिरामीहरूले आफ्ना सबै चिकित्सक र अस्पतालबाट अभिलेख संकलन गर्न नसक्दा उपचारमा ढिलाइ हुन जान्थ्यो । अब यस्तो बाधा हट्नेछ ।
उनी भन्छन्, ‘बिरामीहरू घरमै के खाइरहेका छन्, कति व्यायाम गरिरहेका छन् भन्ने विवरणसमेत स्वास्थ्य एपबाट चिकित्सकले थाहा पाउने भएकाले तौल व्यवस्थापन तथा दीर्घकालीन रोगको उपचारमा मद्दत पुग्नेछ । ‘यी एपहरूले चिकित्सकको कक्षबाहिर बिरामीको स्वास्थ्यबारे जानकारी दिन्छन्,’ मिहाल्जेभिकले भने ।
मेडिकेयर तथा मेडिकेड सेवा केन्द्रले मेडिकेयर डट गभ वेबसाइटमा सिफारिस गरिएका एपहरूको सूची सार्वजनिक गर्नेछ, जसले नागरिकहरूलाई दीर्घकालीन रोग व्यवस्थापन, स्वास्थ्य सेवा प्रदायक चयन गर्न तथा बीमा योजना रोज्नमा सहयोग गर्नेछ ।
तर, अधिकारकर्मीहरू यो प्रणालीमार्फत् प्रयोगकर्ताले आफ्नो विवरण सुरक्षित रूपमा राख्न सक्ने सुनिश्चितता प्राप्त नहुन सक्नेमा चिन्तित देखिन्छन् ।
डिजिटल लोकतन्त्र केन्द्रका प्रमुख जेफ्री चेस्तरले भने, ‘संघीय सरकारले स्वास्थ्यसम्बन्धी एप र दूर-दराज स्वास्थ्य सेवा कार्यक्रमहरूलाई पर्याप्त नियमन गरेको छैन ।’
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागका सचिव रोबर्ट एफ. केनेडी जुनियर र उनको टोलीले स्वास्थ्य सेवामा प्रविधिको प्रयोगलाई तीव्र रूपमा अघि बढाइरहेका छन् । उनीहरूले मानिसहरूलाई स्वास्थ्य निगरानी गर्ने पहिरन उपकरणहरू (जस्तै स्मार्ट घडी), टेलिहेल्थ सेवा र अन्य डिजिटल उपायहरूमा जोड दिइरहेका छन् ।
केनेडीले नागरिकहरूको चिकित्सकीय विवरण बढी मात्रामा सङ्कलन गर्न खोजेको तथा ती विवरणहरूलाई अटिज्म र खोप सुरक्षा अध्ययनमा प्रयोग गर्न चाहेको कुरा पहिले नै बताइसकेका छन् ।
उनका धेरै सल्लाहकारहरू स्वास्थ्य प्रविधिसम्बन्धी नवप्रवर्तन कम्पनीहरूमा काम गरिसकेका वा सञ्चालन गरिसकेका व्यक्तिहरू हुन् ।
मेडिकेयर तथा मेडिकेड सेवा केन्द्रसँग हाल झन्डै १४ करोडभन्दा बढी नागरिकहरूको विवरण छ, जसमा नाम, ठेगाना र स्वास्थ्य सेवा अभिलेखहरू रहेका छन् ।
केही साताअघि उक्त संस्थाले ती विवरणहरू ‘गैरकानुनी बसोबास नियन्त्रण’ निकायलाई समेत हस्तान्तरण गरेको थियो ।
नयाँ प्रणालीले सरकार तथा प्रविधि कम्पनीहरूको पहुँचमा झनै बढी संवेदनशील विवरण पुर्याउनेछ, जसमा चिकित्सकका नोट, मानसिक स्वास्थ्य विवरण तथा पदार्थ दुरुपयोगसम्बन्धी जानकारीहरू पनि समावेश हुन्छन् ।
चेस्तरका अनुसार, ‘यो योजना अत्यन्त संवेदनशील तथा व्यक्तिगत विवरणहरूको प्रयोग र मुनाफाका लागि खुला ढोका हो ।’
ट्रम्प प्रशासनले सन् २०१८ मा एक सानो रूपको डिजिटल अभिलेख प्रणाली ल्याउने प्रयास गरेको थियो, तर त्यतिबेला प्रविधि कम्पनीहरूको समर्थन नपाएकाले त्यो कार्यक्रम कार्यान्वयनमा जान सकेको थिएन ।
यसपटक चाहिँ प्रमुख प्रविधि कम्पनीहरू सहभागी भएका कारण कार्यान्वयनको सम्भावना बलियो देखिएको छ ।