०९ साउन २०८३, शनिबार
राजधानीमा गुण्डागर्दी

चरी, घैंटे र पुन 'इन्काउटर'पछि सुस्ताएको गुण्डागर्दी फेरि सल्बलाउन थालेको हो ?

प्रमाणसहित बलियो कानूनमा टेक्न नपाउँदा चक्रे पक्राउ ‘स्टन्ट’ मात्र हुने खतरा
साउन १६, २०८२
काठमाडौं
चरी, घैंटे र पुन 'इन्काउटर'पछि सुस्ताएको गुण्डागर्दी फेरि सल्बलाउन थालेको हो ?

जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख रमेश खरेल (डीआईजीबाट अवकाशप्राप्त) ले एउटा प्रसंगमा भनेका थिए, ‘गुण्डा समात्नै हुँदैन, नेताको फोन आउन शुरू भइहाल्छ, तर म इग्नोर गरिदिन्छु ।’

एसपी हुँदै काठमाडौं प्रहरीको प्रमुख रहेर काम गरिसकेका खरेल एसएसपी भएपछि २०७० माघमा पुन: काठमाडौं आए । उनले गुण्डा पक्राउको अपरेसन नै चलाएका थिए । त्यतिबेला ५० जना गुण्डालाई पक्राउ गरिएको थियो ।

नाम चलेका गुण्डाहरू क्रमशः: तेजेन्द्र गुरुङ, कान्छा लामा, राजीव श्रेष्ठ, रिंकी भनिने रिंकज लिम्बु, विराट घिमिरे, राम तामाङ, दीपक तालु लगायतलाई पक्राउ गरेपछि खरेललाई नेताको फोनको ओइरो लागेको थियो । उनीहरूलाई सार्वजनिक अपराधको मुद्दा चलाइयो । सबै धरौटीमा छुटे ।

****

एकताका धादिङका गुण्डा नाइके दिनेश अधिकारी उर्फ ‘चरी’को धादिङदेखि काठमाडौंसम्मै दबदबा थियो । व्यक्ति हत्या प्रयासदेखि ठेक्कापट्टामा हप्ता असुली गर्नमा चरीको नाम २०६० तिरैदेखि चर्चामा आएको थियो । उनी २०६२ कात्तिक १५ मा पक्राउ परे । तर, मंसिरमै प्रहरी हिरासतबाट भागे । पुन: चैतमा पक्राउ परे । क्षेत्रपाटीमा एक व्यक्तिलाई धारिलो हतियार प्रहार गरेर हत्या प्रयास गरेको घटनामा उनी पक्राउ परेका थिए ।

त्यतिबेला प्रहरीले बलियो मिसिल सरकारी वकिललाई बुझाएपछि चरी ११ महिना जेल बसेर छुटे । जेलबाट छुटेपछि पनि उनले गुण्डागर्दी गर्न छाडेनन् । अनि प्रहरीले इन्काउन्टरको हल्ला फिँजाएपछि २०६५ असोजमा चरीले प्रहरीमा आत्मसमर्पण गरे । ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा जेल परेका उनी ८ महिनामै छुटे । पछि थानकोटमा हतियार र २५ लाख रुपैयाँ अंकित चेकसहित पक्राउ परेका चरी ९ दिनमै जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर छुटे ।

प्रहरी र चरीबीच ‘पौंठेजोरी’ चलिरह्यो । एमालेका नेतासँग नजिक चरीले राजनीतिक आडमा अपराध गरिरहे । त्यहीबीचमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (त्यतिबेला अपराध महाशाखा) प्रमुखको रूपमा एसएसपी पुष्कर कार्की (एआईजीबाट अवकाशप्राप्त) को सरुवा भयो । उनले गुण्डाको लिस्ट हेरे । चरीको दबदबा थियो । तत्कालीन समयमा गृहमन्त्री वामदेव गौतम थिए । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल थिए ।

चरीले गौतमनिकट एकजनालाई धम्की दिएका थिए । बहालवाला गृहमन्त्रीनिकट व्यक्तिलाई धम्की दिएपछि चरीको ‘सफाया’ गर्ने रणनीति बन्यो ।

एसएसपी कार्कीले आईजीपी अर्यालको निर्देशनबमोजिम चरीको रेकी गर्न थाले । २०७१ साउनमा काठमाडौंको भीमढुंगामा चरी प्रहरी इन्काउन्टरमा मारिए ।

****

सामाखुसी क्षेत्रमा चरीका दुस्मन कुमार घैंटेको दबदबा थियो । पक्राउ पर्दै छुट्दै गरेका घैंटेलाई तत्कालीन अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रणबहादुर चन्द (एआईजीबाट अवकाश) ले जीपीएस राखेर निगरानी गरेका थिए । त्यतिबेला नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रहरी कार्यालयमै पुगेर जीपीएस झिक्न दबाब दिएका थिए ।

आपराधिक पृष्ठभूमि केलाउँदा घैंटे र प्रहरीबीच धेरैपटक ‘चोर–पुलिस’ खेल भएको देखिन्छ । २०५५  कात्तिक ५ मा एक व्यक्तिलाई खुकुरी प्रहार गरेको घटनामा घैंटे पहिलोपटक अपराधमा मुछिएका थिए ।

उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा पनि चल्यो । तर, राजनीतिक दबाबमा धरौटीमा छुटेका थिए ।

त्यसपछि पाँचपटक विभिन्न मितिमा घैंटे विभिन्न अभियोगमा पक्राउ पर्दै छुटेका थिए ।

नेपाली कांग्रेसनिकट घैंटेको दबदबा सामान्य हिसाबले नरोकिने भएपछि प्रहरीले इन्काउन्टरको रणनीति तय गर्‍यो ।

तत्कालीन अपराध महाशाखामा एसएसपी सर्वेन्द्र खनाल (प्रहरी महानिरीक्षकबाट अवकाशप्राप्त) प्रमुख भएर आएपछि घैंटेको दिनगन्ती शुरू भयो ।

सामाखुसी, गोंगबुलगायतका क्षेत्रमा व्यवसायीहरूलाई धक्म्याएर रकम असुल्दै आएको गुनासो प्रहरीसमक्ष आएको थियो । भूकम्पका बेलामा समेत धम्क्याएर राहत उठाउने गरेको भनेर प्रहरीमा उजुरी आएको थियो । गुण्डागर्दीलाई निमिट्यान्न पार्ने लक्ष्यसहित अनुसन्धान कार्यालयमा सरुवा भएका खनालकै कार्यकालमा इन्काउन्टर भयो, २०७२ भदौ ३ गते कपुरधारामा ।

****

अर्का गुण्डा नाइके मनोज पुनको २०७४ फागुन ३० मा रुपन्देहीमा इन्काउन्टर भएको घटनाबारे प्रहरी वृत्तमा अझै चर्चा चल्ने गरेको छ । फोनमा धम्की दिएर रकम असुली गर्ने पुनको गतिविधिले प्रहरी वाक्कदिक्क भएको थियो । हत्या, अपहरण र फिरौतीमा संलग्न गुण्डा नाइके समिरमान सिंह बस्न्यात (हाल कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका)का सहयोगी पुनको इन्काउन्टर गर्न सीआईबीमा दरबन्दी रहेका तत्कालीन डीएसपी कुमोध ढुंगेल रुपन्देही पुगेका थिए । रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु र काठमाडौंमा समेत पुनको दबदबा थियो । त्यतिबेला रुपन्देही प्रहरी प्रमुख श्यामलाल ज्ञवाली (एआईजीबाट अवकाशप्राप्त) ले पुनको इकाउन्टरबारे ढिला मात्रै पत्तो पाएका थिए ।

****

गुण्डागर्दी त्यतिबेला पनि थियो, अहिले पनि छ । तर, जेल हाल्न मिल्ने कानूनमा टेक्न नसक्दा गुण्डाहरू धरौटीमा छुट्दै आएका छन् । यदाकदा हुने गुण्डा समात्ने अपरेसनलाई ‘प्रहरीको स्टन्ट’को रूपमा व्याख्या हुँदै आएको छ । समूह नै बनाएर हिँडेका गुण्डा नाइकेहरू अहिले कोही राजनीतिमा छन्, त कोही पटक–पटक मन्त्रीसमेत भइसके ।

गुन्डा नाइकेहरू गणेश लामा, दीपक मनाङे, पर्शुराम बस्नेत, चक्रे मिलन र अभिषेक गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलेको थियो । तर, सबैले सफाइ पाइसके । लामा अहिले नेपाली कांग्रेसको सक्रिय राजनीतिमा छन् । मनाङेले शुरूमा नेकपा एमालेबाट राजनीति गरे । उनी मनाङको सांसद समेत भए । गण्डकी प्रदेशमा पटक–पटक मन्त्रीसमेत भए । संख्या थपघट हुँदा मनाङेले सरकार हेरफेर गर्ने सामर्थ्य समेत राख्थे । एमालेबाट माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीमा समेत लागेर मनाङेले गण्डकी प्रदेशको राजनीति हल्लाउँदै आएका थिए । पछिल्लोपटक उनी ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा जेल सजाय काटिरहेका छन् ।

गुण्डागर्दी विगतमा भन्दा संगठित हुँदै गएको र भित्रभित्रै सल्बलाइरहेको प्रहरीको निष्कर्ष छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेत भन्छन्, ‘सामाजिक सञ्जालमा गुण्डाका गतिविधि छरप्रस्ट छन् । कुनै काम नगरी उनीहरूका जीवनशैली कसरी माथि उठिरहेको छ ? त्यसको अनुसन्धान हुनुपर्छ । समाजमा कसैले पनि अशान्ति फैलाउन पाउँदैन, हुन दिइँदैन ।’

प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले गुण्डाविरुद्ध उजुरबाजुर नभएको अवस्थामा सस्तो लोकप्रियताका लागि प्रहरीले मनपरि पक्राउ गर्दा बाहिर राम्रो सन्देश नजाने बताउँछन् ।

‘हो, गुण्डागर्दीलाई प्रश्रय दिनुहुँदैन, तर उसलाई पक्राउ गर्न कसैले उजुरी दिनु पर्ला, उसले कसैबाट हप्ता असुली गरिरहेको होला, अपराधमा संलग्न भएको हुनुपर्ला,’ ठकुरी भन्छन्, ‘विगतलाई हेर्दा पनि गुण्डा समात्यो, एकदुई हप्ता थुन्यो, छाड्यो गरेको देखिन्छ । प्रहरीले एकदुई दिन चर्चा पाउने छुट्टै कुरा होला तर, बाहिर राम्रो सन्देश जाँदैन ।’

पक्राउ परेका चक्रेसहितका गुण्डाहरू

प्रहरीले बाहिर हल्लाखल्ला गर्नुभन्दा सम्बन्धित गुण्डाको आपराधिक गतिविधिमाथि सूक्ष्म निगरानी गरी पीडितले जाहेरी दिन सक्ने वातावरण बनाएर मात्रै पक्राउ गर्दा गुण्डा तह लगाउन सजिलो हुने ठकुरी बताउँछन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले गुण्डाका असामाजिक गतिविधि नियन्त्रण गर्ने प्रहरीको प्रयासलाई ‘स्टन्ट’ भनेर बुझ्न नहुने बताए ।

‘प्रहरीले कानूनी आधार टेकेरै पक्राउ गरेको हो, पक्राउ गर्छ,’ घिमिरेले लोकान्तरसँग भने, ‘गुण्डागर्दी नियन्त्रण गर्ने प्रहरी प्रयास जारी छ । कसैका गतिविधिले समाज आक्रान्त भइरहेको छ भने नियन्त्रण वा हस्तक्षेप त गर्नैपर्‍यो नि, छाडा छाडेर पनि भएन ।’

हाल काठमाडौं परिसरको हिरासतमा राखिएका चक्रे मिलनसहितका गुण्डाहरूमाथि स्क्रिनिङ भइरहेको उनले बताए । उनीहरूबाट पीडित भएका, तर जाहेरी दिन नचाहेका पीडितहरूलाई उनले सप्रमाण प्रहरीमा आएर जाहेरी दिन सुझाव दिए ।

‘प्रहरीले स्क्रिनिङ गरिरहेको छ । कोही उनीहरूबाट पीडित हुनुहुन्छ भने सप्रमाण जाहेरी दिनुस्, अनुसन्धान हुन्छ ।’

प्रहरीले बिहीबार मध्यराति महाराजगञ्ज क्षेत्रमा अपरेसन चलाएर चक्रेसहित गुण्डागर्दीमा संलग्न ६७ जनालाई पक्राउ गरेको थियो ।

महाराजगञ्जमा चक्रेको बर्थ डे मनाएर होहल्ला गरिरहेको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई कुन मुद्दामा म्याद थप्ने भन्ने विषयमा अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा छलफल चलिरहेको छ । तर, यसपटक पनि उनीहरूविरुद्ध मुद्दा चलाउन प्रहरीसँग बलियो कानूनी विकल्प देखिँदैन ।

यसअघि सार्वजनिक स्थानमा तरबारले केक काटेर जन्मदिन मनाइरहेका केही युवालाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालतमा म्याद थपका लागि लैजाँदा अदालतले म्याद थपको स्वीकृति नदिएपछि प्रहरी अधिकारी यसपटक आन्तरिक गृहकार्यमा जुटेका हुन् ।

उपत्यका प्रहरी प्रमुख टेकबहादुर तामाङले काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतलाई रानीपोखरीस्थित कार्यालयमा डाकेर बलियो र प्रमाणसिद्ध मुद्दा लैजान निर्देशन दिएका छन् । चक्रेको सहयोगीका गाडीबाट खुकुरी र फलामका रडहरू बरामद भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्