२० असार २०८३, शनिबार
सौन्दर्य सफलता

ब्युटिसियनको चमक : मेकअपलाई ब्रान्ड बनाएर मासिक लाख कमाउने सोनिस्ता

साउन १७, २०८२
बुटवल
ब्युटिसियनको चमक : मेकअपलाई ब्रान्ड बनाएर मासिक लाख कमाउने सोनिस्ता

बुटवलकी सोनिस्ता लामा सजावट र सौन्दर्य क्षेत्रलाई पेशा बनाएर अघि बढेको दशक भयो । ‘इन्टरनेशल टेनिङ’समेत लिएकी लामा ‘मेकअप आटिस्ट’को क्षेत्रमा उदाहरणीय बनेकी छन् । साधारण परिवेशबाट सौन्दर्य उद्योगमा प्रवेश गरेकी लामा बुटवल मात्रै होइन, देशविदेशमा समेत पहिचान स्थापित गर्न सफल भएकी हुन् ।

विसं २०६८ सालमा सौन्दर्य क्षेत्रको साधारण कोर्ष गरेर करिअर शुरूआत गरेकी उनले अहिले बुटवल र कपिलवस्तुका ‘हाउस अफ ब्यूटी– द कम्प्लिट ब्यूटी सोलुसन’बाट सेवा दिइरहेकी छन् ।

सोनिस्ता मेकअप आटिस्ट, ब्युटिसियन र हेयर स्टालिस्ट पनि हुन् । उनी ब्युटिसियनको सबै कामसँगै मेकअप, हेयर कलरिङ, कटिङ, नेल्ससहित सबै काम गर्छिन् ।

ब्युटिसियनमा आफूलाई परिचित बनाउँदै उनले महिनामा लाखौं कमाइसमेत गरिरहेकी छिन् । ‘म ब्युटिसियन र हेयर आटिस्ट बन्छु भनेर यो क्षेत्रमा लागेको त होइन, गरौं न त कस्तो हुन्छ भनेर लागेकी थिएँ, काम गर्दै अघि बढ्दा सफल भएँ,’ उनी भन्छिन् ।

लामाले शुरूमा काठमाडौंबाट सौन्दर्य क्षेत्रको ट्रेनिङ लिएर सैलुन सञ्चालनमा ल्याइन् । प्राविधिक समस्याले केही समयपछि त्यसलाई बिक्री गर्नुपर्ने अवस्था आयो । विवाहपछि उनी तराई (कपिलवस्तु) झरिन् । पुन: सौन्दर्य क्षेत्रको अध्ययनलाई अघि बढाउँदै काठमाडौं गएर सौन्दर्य क्षेत्रमा भित्रिएका नयाँ र पछिल्लो टेक्निक सिकिन् ।

सी सिकेर उनी कपिलवस्तु फर्किइन् र यहीँ क्षेत्रमा नयाँ–नयाँ सीप र ज्ञान बढाउँदै बुटवलमा नमस्ते नेपाल भोकेशनल टेनिङ सेन्टरमा प्रशिक्षकको रूपमा काम गर्न थालिन् । नमस्तेमा ५ वर्ष काम गरिन् । त्यहाँ नेल्स, मेकअप, ब्युटिसियनको कोर्ष एकैपटक पूरा गरिन् ।

फेरि घर फर्किएर कपिलवस्तुमा आफ्नै पार्लर सञ्चालन गरिन् । त्यसपछि लाखौं खर्चिएर उनले दुबई, सिंगापुर, भारत, मलेसियामा गएर सौन्दर्यकर्मी हेयर डिजाइनसम्बन्धी सीप सिकिन् । त्यसपछि हरेक वर्षजसो नयाँ-नयाँ सौन्दर्यसम्बन्धी कुराहरू भित्राउने गर्छिन् । ‘वाटर प्रुफ पेस मेकर, हेयर स्टालिस्टलगायत नयाँ-नयाँ कुरा भित्र्याएर मैले शुरूआत गर्छु तर, त्यसको क्रेडिट भने अरूले लिने गर्छन्,’ उनी भन्छिन् ।

उनले विश्वका विभिन्न देशहरू सिंगापुर, रसिया, यूएई, भारतसहित ९ देशका चर्चित मेकअप आर्टिस्टबाट तालिम लिएकी छन् । सिकाइमा ठूलो लगानी गरे पनि त्यहीँ अनुसारका अहिले कमाइ भएपछि उनी खुसी पनि छिन् ।

सिंगापुरमा एकैपटक १४ लाख शुल्क तिरेर पनि तालिम लिएको उनले सुनाइन् । ‘अहिलेसम्म तालिमको लागि मात्रै १ करोड ५० लाख रुपैयाँ तिरेकी छु,’ उनी भन्छिन्, ‘दुई दिनको क्लासको तीन/चार लाख रुपैयाँसम्म पनि पे गर्नुपर्ने हुन्छ । डेढ करोड सिकाइमा सकियो, डेढ करोड डेकोरेसको लागि भ्याएँ,’ उनले थपिन् ।

विसं २०७२ मा उनले बुटवलमा ‘हाउस अफ ब्यूटी– द कम्प्लिट ब्यूटी सोलुसन’ नामक मेकअप एण्ड हेयर स्टुडियो शुरूआत गरेकी थिइन् । अब छिट्टै काठमाडौंमा अर्को शाखा सञ्चालनमा ल्याउने उनको तयारी छ ।

अन्तर्राष्ट्रिय स्तरमा सर्टिफाइड भएपछि मात्र स्वदेशमा अरूलाई तालिम दिँदा राम्रो हुन्छ भन्ने उद्देश्यसहित विदेशी प्रशिक्षकसँग बर्सेनि नयाँ–नयाँ सीप सिक्ने गरेको लामाको भनाइ छ ।

ज्ञान र सीपको विकाससँगै उनले आफ्नो शाखा कपिलवस्तुमा विस्तार गरिन् । हरेकजसो ब्युटिसियन पेशामा आबद्धलाई मेकअप हेयर क्रियटिभिटी र नयाँ डिजाइन सिकाउने गरेकी उनी नेपाली महिलाले नेपालमै सीप सिकेर राम्रो आम्दानी गर्न सक्छन् भन्ने उदाहरण बनेकी छन् ।

यसको लागि मेहनत र नवीनतम् सीपको आवश्यकता पर्ने उनको भनाइ छ ।  ‘महिलाले सक्दैनन् वा ब्युटिसियन पेशाप्रति मानिसले हेर्ने नजर बदल्न र व्यवसायीक सौन्दर्यकर्मीको सम्मान गर्न राज्यले खासै चासो दिएको छैन,’ उनी भन्छिन् ।

उनीसँग दैनिक २३ घण्टा उभिएर कठोर काम गरेको अनुभव पनि छ । अहिलेसम्म १५ हजारलाई तालिम दिएकी उनले एसियन इन्टरनेशनल फेसन स्टार अवार्ड पाइसकेकी छन् । वाटर प्रुफ मेकअप, ब्राजिलियन बेस मेकअप, रसियन हेयर, माइक्रो आइब्रो, ल्यासेस, सेमी पर्मानेन्ट लिप मेकअप र बीबी ग्लो सेमी फाउण्डेसनलगायत विषयमा उनले काठमाडौंसहित धेरै ठाउँमा तालिम दिएकी छन् । अहिले अन्य ब्युटिसियन पनि विदेश गएर सिक्ने गरेकोले नेपालमा विदेशी स्टाइल भित्रिएको उनको बुझाइ छ ।

उनले आफ्नो सीपलाई भर्चुअल प्लेट फर्म टिकटकमार्फत् विद्यार्थी र आफ्ना ग्राहकसमक्ष पुर्‍याउँदै पनि आएकी छन् । टिकटकमार्फत् विदेशी विद्यार्थी र क्लाइन्ट पनि आएका छन् । इन्डोनेशिया, भारत र यूएईका विद्यार्थीलाई पनि तालिम दिइसकेकी छन् । उनले स्टुडियोमा सात दिनको तालिमको ४५ हजार रुपैयाँ लिने गर्छिन् । आफू यो ठाउँमा आइपुग्न गरेको मेहनत र संघर्षलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उनको चाहना छ । विदेशमा प्रशिक्षक बनेर सिकाउनेतर्फ उनले ध्यान दिइरहेकी छन् ।

उनले सौन्दर्यतामा फेसियललाई फोकस गर्दिनन् । किनभने, अनुहारमा धेरै समस्या निम्तिन सक्छ । अनावश्यक प्रचार गरेर दुई/चार दिनमै चायापोतो हटाउँछौं भन्ने गलत प्रचारप्रति नझुक्निन सुझाव पनि दिन्छिन् । ‘एउटा चायापोतो जान कम्तीमा तीन/चार वर्ष लाग्छ, गलत प्रचारप्रति सचेत हुनुपर्छ,’ उनी भन्छिन्, ‘ब्युटिसियनले गर्न नमिल्ने कामहरू पनि गरिरहेका छन् ।

उनले रसियन हेयर स्टालिस्ट शुरूआत गरेको जर्जिकोटबाट हेयर आर्टिस्टबाट पनि तालिम लिएकी छन् । विश्वमा जति हेयर आर्टिस्टहरू छन् उनीहरू सबै जर्जिकोटका विद्यार्थी हुन् । उनले ब्युटिसियनको फूल कोर्ष गराउँछिन् ।

लामाको सफलतालाई घरपरिवारले पनि पूर्ण साथ दिएका छन् । उनको श्रीमान स्वास्थ्य क्षेत्रमा कार्यरत छन् ।

salt training

कमेन्ट गर्नुहोस्