
गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा बधाई कार्यक्रम आइतबार सम्पन्न भएको छ।
निर्वाचन समितिका सदस्य सचिव विकास आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोर्चुगलवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख आतिथ्य आईएएडी विश्वविद्यालयका प्राध्यापक जोसे प्रेरिरा रहेका थिए ।
विशेष आतिथ्यमा नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलकी अध्यक्ष सीता ढकाल सुबेदी, नेपाली जनसम्पर्क समितिका सदस्य तथा गैरआवासीय नेपाली संघ पोर्चुगलकी निर्वतमान उपाध्यक्ष रेखा रेग्मी, किरात राई सोसाइटी पोर्चुगलका अध्यक्ष दिपेश राई, नेपाल राष्ट्रिय तामाङ गेदुङ पोर्चुगलका अध्यक्ष फुर्वा तामाङ, पाली जनसम्पर्क समितिका सभापति राम सापकोटा, स्याङ्जा समाज पोर्चुगलका अध्यक्ष बिपिन अर्याल, ठकुरी समाजका अध्यक्ष सज्जन हमाल, पत्रकार महासंघ युरोप शाखाका उपमहासचिव तथा नमूना नेपाल डटकमका सम्पादक कलश खरेललगायतका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो।
सचिव बिनोद भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्त्यतिर नव निर्वाचित अध्यक्ष सुजन लामा मोक्तान र कार्यसमितिले प्रमुख आतिथ्य र निर्वाचन समितिका सदस्य सचिवलाई प्रशंसा प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा एनआरएनएलाई सबै नेपालीको साझा मञ्चका रूपमा सबल बनाउन आह्वान गरेका थिए।
अध्यक्ष सुजन लामा मोक्तानले गैरआवासीय नेपाली संघलाई कुनै पार्टी, जात वा क्षेत्रको सीमामा राख्न नहुने भन्दै यसलाई सबै नेपालीहरूको साझा र गैरनाफामूलक संस्था बनाउनुपर्नेमा जोड दिए।
उनले विगतमा केही दलाल र शोषक प्रवृत्तिका व्यक्तिहरूले व्यक्तिगत स्वार्थका लागि संस्थालाई कमजोर बनाउन खोजे पनि प्रजातान्त्रिक मूल्य र मान्यता मान्ने सबै नेपालीहरूले मिलेर समाजलाई एकताबद्ध बनाउनुपर्ने बताए।
मोक्तानले दलाल र स्वार्थी प्रवृत्तिलाई त्यागेर निष्ठापूर्वक समाजसेवामा लाग्न सबै नेपालीहरूलाई आह्वान गर्दै अन्यथा यस्तो प्रवृत्तिले भविष्यको पुस्तामाथि पनि गलत प्रभाव पार्ने चेतावनी दिए।