
एनएमबि बैंकले नेपाल प्रहरीलाई उद्धार सामग्री प्रदान गरेको छ ।
मनसुनको मौसम र यसमा देखिने अस्थिरता तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै, एनएमबि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एउटा १६ फिटको सेल्फ-बेलिङ राफ्ट, लाइफ ज्याकेट र अन्य विपद् उद्धार सामग्री नेपाल प्रहरीलाई दिएको हो ।
मंगलबार काठमाडौंको रानीपोखरी स्थित, काठमाडौं उपत्यका प्रहरी कार्यालयमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई ती उद्धार सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीमा रबर बोटसहित लाइफ ज्याकेट र अन्य आपतकालीन उपयोगी उपकरण समावेश छन् ।

मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाको सम्भावना उच्च हुने भएकाले, यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।
एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद् व्यवस्थापन जस्ता विभिन्न क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ । यस प्रकारको सहयोगले समुदायमा बैंकको प्रतिबद्धता झल्काउने विश्वास बैंकको रहेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।