
जेफ्री एप्स्टिनको रहस्यमय जीवन र उनको आपराधिक गतिविधिले अमेरिकी राजनीतिलाई तरंगित बनाइरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत जोडिएको यो प्रकरणमा जोडिएको आरोपमा पूर्वराष्ट्रपतिबिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनलाई बयानका लागि बोलाइएकोछ ।
अमेरिकी संसद्को ‘हाउस ओभरसाइट कमिटी’ले पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनलाई जेफ्री एप्स्टिनसँग सम्बन्धित अनुसन्धानमा बयान दिन बोलाएको फक्स न्यूजले लेखेको छ ।
कमिटीका रिपब्लिकन अध्यक्ष जेम्स कोमरले बिल र हिलारी क्लिन्टनलाई बयानका लागि नोटिस जारी गरेका छन् । बिल क्लिन्टनले सन् २००२ र २००३ मा एप्स्टिनको निजी जेटमा चारपटक यात्रा गरेको र न्यूयोर्कमा उनको अपार्टमेन्टमा भेट गरेको तथ्यलाई आधार बनाइएको छ ।
फक्सन्यूजले क्लिन्टनले सिक्रेट सर्भिसको टोलीबिना नै एप्स्टिनको जेटमा २६ पटकसम्म यात्रा गरेको दाबी गरेको छ । यद्यपि, ६ वर्षअघि नै क्लिन्टनका प्रवक्ताले उनले एप्स्टिनका अपराधबारे केही नजान्ने र उनको आपराधिक गतिविधिसँग कुनै सम्बन्ध नभएको दाबी गरेका थिए ।
बिलकी श्रीमती हिलारीको हकमा भने उनको एप्स्टिनसँग प्रत्यक्ष सम्बन्धको कुनै ठोस प्रमाण सार्वजनिक भएको छैन ।
तर, क्लिन्टन दम्पतीको शक्तिशाली राजनीतिक प्रभाव र एप्स्टिनसँगको सम्पर्कले उनीहरूलाई यो अनुसन्धानको दायरामा ल्याएको छ ।
नोटिसमा पूर्वमहान्यायाधिवक्ताहरू मेरिक गारल्यान्ड, लोरेटा लिन्च, एरिक होल्डर, अल्बर्टो गोन्जालेज, जेफ सेसन्स र विलियम बार, साथै पूर्व एफबीआई निर्देशकहरू जेम्स कोमी र रोबर्ट म्युलर जस्ता अन्य हाइप्रोफाइल व्यक्तिहरू पनि छन् ।
एप्स्टिन प्रकरणको पृष्ठभूमि
जेफ्री एप्सटिन एक अमेरिकी सरकारका वित्तीय सल्लाहकार र सामाजिक व्यक्तित्व थिए । उनी १९९० को दशकमा आफ्नो सम्पत्ति र शक्तिशाली व्यक्तिहरूसँगको सम्बन्धका कारण चर्चित थिए । उनीसँग बिल क्लिन्टन, बिल गेट्स, बेलायतका राजकुमार एन्ड्र्यूजस्ता विश्वप्रसिद्ध व्यक्तित्वहरूसँग सम्पर्क थियो ।
तर, उनको यो चमकदार छवि २००५ मा धमिलो हुन थाल्यो । कारण थियो- उनीमाथि नाबालिग बालिकाहरूलाई यौन शोषण र तस्करीको आरोप लाग्नु ।
२००८ मा उनले फ्लोरिडामा यौन अपराधको एक मामिलामा आफ्नो दोष स्वीकार गरेका थिए र अदालतले उनलाई १३ महिना जेल सजाय सुनायो । जेल सजाय सकेर उनी पुनः सार्वजनिक जीवनमा फर्के । तर, अमेरिकामा धेरैले उनलाई 'यौन अपराधी'का रूपमा चिन्न थाले ।
ट्रम्पको पहिलो कार्यकालको अन्त्यतिर एप्सटिनलाई पुनः यौन अपराधको आरोपमा पक्राउ गरियो । तर, मुद्दामा सुनुवाइ हुनुअघि नै न्यूयोर्कको जेलमा उनको रहस्यमय मृत्यु भयो ।
आधिकारिकरूपमा उनको मृत्युलाई आत्महत्या भनिए पनि धेरैले यो 'हत्या' भएको दाबी गरे । यही मृत्यु र उनको 'क्लाइन्ट लिस्ट'ले विश्वभर षड्यन्त्र सिद्धान्तलाई जन्म दिएको हो ।
डोनाल्ड ट्रम्प र जेफ्री एप्सटिनको सम्बन्ध १९९० को दशकदेखि नै थियो । उनीहरू दुवै न्यूयोर्क र फ्लोरिडाको सामाजिक 'सर्कल'मा सक्रिय थिए ।
ट्रम्पले २००२ मा एक अन्तर्वार्तामा एप्सटिनलाई 'रमाइलो व्यक्ति' भनेका थिए । तर, जसै ट्रम्पले अमेरिकी राजनीतिमा चासो राख्न थाले, त्यसपछि उनले आफू र एप्सटिनबीच सम्बन्ध टुटेको दाबी गर्न थाले ।
यद्यपि, ट्रम्पको दोस्रो कार्यकालमा उनको प्रशासनले एप्सटिन फाइलहरूलाई लिएर बारम्बार प्रश्नको सामना गर्नुपरेको छ । ट्रम्पका समर्थक र विशेषगरी दक्षिणपन्थी समूहहरूले यी फाइलहरू सार्वजनिक गर्नुपर्ने माग राख्दै आएका छन् ।
ट्रम्प र उनकी महान्यायाधिवक्ता पाम बन्डीले २०२५ को शुरूमा एप्सटिनको फाइलहरूबारे खुलासा गर्ने संकेत दिएका थिए ।
बन्डीले फक्स न्यूजमा दिएको एक अन्तर्वार्तामा 'क्लाइन्ट लिस्ट' आफ्नो टेबलमा रहेको दाबीसमेत गरेकी थिइन् । अब फाइल खुल्ने भयो भनेर ट्रम्पका दक्षिणपन्थी समर्थकहरूमा ठूलो आशा जाग्यो ।
तर, केही दिनअघि न्याय मन्त्रालय र एफबीआईले कुनै नयाँ तथ्य नभएको भन्दै अनुसन्धान बन्द गर्ने घोषणा गरेपछि फाइल कुरेर बसेका अमेरिकीहरूमा निराशा छाएको छ ।
फाइलमा के छ?
एप्सटिन फाइल उनको यौन तस्करी नेटवर्कमा संलग्न व्यक्तिहरूको 'क्लाइन्ट लिस्ट' हो । धेरैले यो सूचीमा विश्वका शक्तिशाली व्यक्तिहरूको नाम रहेको विश्वास गर्छन् ।
तर, हालसम्मको अनुसन्धानले यस्तो कुनै सूचीको अस्तित्व रहेको पुष्टि गरेको छैन । केही दिनअघि अमेरिकी न्याय मन्त्रालयले जारी गरेको मेमोमा भनिएको छ, 'एप्सटिनले कुनै यौन तस्करीको क्लाइन्ट लिस्ट राखेका थिएनन् र थप अपराधीको संलग्नताको कुनै विश्वसनीय प्रमाण भेटिएको छैन ।'
अनुसन्धानका क्रममा एप्स्टिनले यौन दुर्व्यवहार गरेको भनिएको भिडियोहरू विश्लेषण गरिएको थियो । तर, ट्रम्पकी महान्यायाधिवक्ता बन्डीले ती भिडियोहरूमा एप्सटिनले डाउनलोड गरेको बाल यौन दुरुपयोग सामग्री मात्र रहेको दाबी गरेकी छन् । त्यसलाई सार्वजनिक गर्न सम्भव नभएको पनि उनले बताइन् ।
बन्डीको यस्तो भनाइमाथि अहिले धेरै अमेरिकीहरूले असन्तुष्टि पोखिरहेका छन् । ट्रम्पलाई जोगाउन उनले 'कभर अप' गरेको आरोप लगाइएको छ ।