
बुधबार (साउन २१ गते)को प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका दुई प्रभावशाली नेताले भड्किएको समाज, राष्ट्रिय राजनीति र वैकल्पिक भनिएका नयाँ दलबारे केही धारणा राखे ।
संयोग हो वा सल्लाह गरेर, कांग्रेस–एमालेका सांसदको एकै स्वर सुनियो– लोकप्रियतावादले समस्या निम्त्यायो, नयाँ राम्रा र पुराना खराब होइनन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले लगभग उस्तै विषयमा बोले । शर्मालाई ३८ र बाँस्कोटालाई १५ मिनेट समय छुट्ट्याइएको थियो ।
वाकपटुतामा निपूर्ण दुई नेताले यो ५३ मिनेट आफ्नो बचाउभन्दा पनि नयाँ भनिएका दल र तिनका नेताका कमजोरी उजागर खर्च गर्नमा व्यतीत गरे । सरकारको बचाउभन्दा पनि उनीहरूले अरूको बारेमा प्रश्न गरे ।
रास्वपाले संसदमा उठाइराखेको भिजिट भिसाको विषयमा बोल्न पछिल्ला ५ गृहमन्त्रीको पालामा भिजिट भिसामा बाहिरिएका नेपालीको डाटासहित संसदमा प्रस्तुत भएका शर्माले रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियानको समेत चिरफार गरे ।
लोकप्रियतावादको आडमा हिटलर, नेपोेलीयन बोनापार्ट जस्तै नेपालमा नयाँ जेलेन्स्की जन्मिन खोजेकाले प्रमुख दल सतर्क हुनुपर्ने तर्क बाँस्कोटाले राखे ।
युक्रेनलाई युद्धमा होमेर देशलाई तहसनहस बनाएको आरोप जेलेन्स्कीमाथि लाग्दै आएको छ । बाँस्कोटाको यो टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौंका मेयर बालेन शाहप्रति लक्षित भएको बुझ्न सकिन्छ ।
कांग्रेस महामन्त्री शर्माले पुराना दल खराब र नयाँ उदाएका सही भन्नेहरूलाई प्रश्न गरे– पुराना सबै खराब हुन् भने हाम्रो देश नेपाल पनि पुरानो हो, हाम्रा धर्म संस्कृति पुराना हुन्, दाल–भात–तरकारी पुरानै खाना हो, यो पनि छाड्दिने ?
राजनीतिक प्रतिशोध साँधेर आफ्नो सभापति लामिछानेलाई जेल हालिएको तथा रविमाथि अन्याय भएको भन्दै रास्वपाले गरेको हस्ताक्षर अभियानप्रति लक्षित गर्दै शर्माले अदालतलाई धम्की दिइएको टिप्पणी गरे ।

नयाँप्रति पुराना दलको निषेध
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले ७० दिनदेखि संसद्मा विरोध प्रदर्शन गरिरहेका छन् । तर, उनीहरूको माग सम्बोधनबारे कांग्रेस–एमालेले ती दलसँग गम्भीर वार्ता गरेका छैनन् ।
भिजिट भिसा प्रकरणलाई लिएर उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने मागबारे सत्ता सञ्चालक दलले गम्भीरता साथ छलफल गरेनन् ।
प्रमुख प्रतिपक्षी माओवादीले कांग्रेस–एमालेसँग २ बुँदे सहमति गरेपछि अरू विपक्षीसँग किन सहमति गर्नुपर्यो ? भनेर कांग्रेस–एमालेकै जिम्मेवार नेताहरूले भने । संवाद गर्नेभन्दा कांग्रेस–एमालेका सांसदले रास्वपालाई पेल्ने रणनीति लिएको देखिन्छ । उनीहरूले रास्वपालाई निरन्तर कटाक्ष गरिरहेका छन् ।
जस्तो कि– मंगलबारको संसद् बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले संसद्मा अरूलाई एकोहोरो गाली गर्ने रास्वपाको कार्यशैलीको अन्य सांसदले प्रतिरोध गर्नुपर्ने धारणा राखे ।
‘भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने ? यो के भन्न खोजेको ? गोयबल्स शैलीमा झुटो प्रचार गरेर जनतालाई दिग्भ्रमित पार्ने र संसद्लाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ, यो बन्द हुनुपर्छ । बन्द नगरिए सम्पूर्ण सांसद प्रतिवादमा उभिनुपर्ने हुन सक्छ,’ घिमिरेले चेतावनीको भाषामा भने ।
सोही दिन एमाले सांसद दयालबहादुर शाहीले रास्वपालाई भगौडाले खोलेको पार्टी र त्यसका नेतालाई जीबी राईको पैसाले उम्रिएका बर्खाका च्याउको संज्ञा दिएका थिए ।
‘संकटकालमा देश छाडेर विदेश गएको भगौडाले नयाँ पार्टी खोल्यो र सहकारी डुबाएर पार्टी चलायो । तामझासहित जीबीको पैसाले बर्खाका च्याउ उम्रिए,’ शाहीले भने ।
रास्वपाका एक नेताले कांग्रेस–एमालेलाई आफूहरूको अस्तित्व स्वीकार गर्न कठिन भइरहेको टिप्पणी गरे ।
‘०६४ सालको चुनावमा उदाएको माओवादीलाई संविधानसभाको कार्यकाल भरी कांग्रेस–एमालेले स्वीकार्न सकेका थिएनन्, अहिले रास्वपालाई सकिरहेका छैनन्,’ एक अनौपचारिक कुराकानीमा रास्वपाका ती सांसदले भनेका थिए ।
सबैलाई ०८४ को चिन्ता
२७ महिना बाँकी रहँदै समाजमा ०८४ सालको चुनावको चर्चा चलिरहेको छ । नयाँ दलले पुरानालाई बढार्छाैं भनेका छन् ।
पुरानाले नयाँलाई खहरेको संज्ञा दिँदै ०८४ मा सुक्ने दाबी गरेका छन् । समाज नयाँ र पुराना दलको विरोध र बचाउमा ध्रुवीकृत छ ।
कांग्रेस–एमालेका नेताले भाषणैपिच्छे ०८४ सालको चुनावमा नयाँ दलबाट 'थ्रेट' महसुस नगरेको भनेर दाबी गरेका छन् । किन्तु– सबै दलमा ०८४ सालको संशय देखिन्छ । पुराना र नयाँ भनेर समाजमा भइरहेको कित्ताकाटबारे कांग्रेस–एमालेजस्ता मूलधारमा दल बेखबर छैनन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा एमाले सांसद बाँस्कोटाले ०८४ सालमा देखाउँछौं भन्ने भूतले तर्साउन खोजे पनि उनीहरू (नयाँ भनिएका दल)को खुट्टी जनताले देखिसकेको दाबी गरे ।
‘सबैलाई एउटा परेको छ– ०८४ मा देखाउने । यो भूतले सबैलाई लखेटेको देखेको छु । जनताले तिनका खुट्टी देखेका छन्,’ उनले भने ।
२०७९ सालको चुनावलगत्तै नेकपा एमाले र रास्वपाले ‘मिसन ०८४’को अभियान सञ्चालन गर्दै आएका छन् । एकअर्कासँग तर्सिएका दलले ०८४ को चुनावका लागि अहिलेदेखि नै रणनीति बनाइरहेका छन् ।

नायक खोजीमा भड्किएको समाज
साउन ६ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा वामपन्थी नेता घनश्याम भुसालले नेपाली समाज सन्केको र यो उग्र हुँदै जाँदा अराजक बन्ने विश्लेषण गरेका थिए ।
बुधवार संसदमा एमाले नेता बाँस्कोटाले पनि लोकप्रियतावाद फस्टाउने र चलाखीपूर्ण ढंगले जनताको सपना चोरी र डकैती गर्न खोजेको तथा समाज भड्काउन खोजेको टिप्पणी गरेका थिए ।
‘शासन प्रणालीका कमजोरी, ढिलासुस्ती र सरकारी काममा भएको ढिलासुस्तीले सिर्जना गरेका सामान्य निराशाका आधारमा नयाँ भाष्य बनाउन खोजिँदै छ– हामी रातो घोडामा सवार भइसक्यौं, अब पुरानाको काम छैन । हिजोको जनआन्दोलन र जनक्रान्तिले स्थापना गरेको मूल्य पद्धतिको केही अर्थ छैन । केही चटकेहरूले कसैको दिमागमा फुरेको चिजले जता–जता समाजलाई नचाउन खोज्यो, त्यतै नाच्ने छ र समय हाम्रो मुठ्ठीभित्र छ भन्ने मानक बनाउन खोजिँदै छ, यो आफैंमा भ्रम हो,’ बाँस्कोटाले भने ।
नेपालमा लोकतन्त्र स्थापनाका लागि लडेका दलको औचित्य सकियो र अब नयाँले मात्र गर्न सक्छन् भन्ने जबरजस्त भाष्य सिर्जना गरिएको छ । मानौं कि ०८४ सालको चुनावले नेपालमा नयाँ नायक जन्माउने छ र उसले जादु चलाएर नेपालीका समस्या क्षणभरमा समाप्त गर्नेछ ।
नेपाली समाजले खोजेको त्यस्तो ‘नायक’ शायद भौतिक संसारमा छैन होला, जसले तमाम समस्या एआईले जसरी क्षणभरमा समाधान गरोस् । खुम्चिँदै गएको स्रोत परिचालन गरेर विदेश गएका दशौं लाख नेपालीलाई स्वदेश फर्काउन सकोस् ।
भन्न त ०६४ सालको चुनावमा उभार ल्याएको माओवादीले नेपाललाई सिंगापुर, स्वीट्जरल्यान्ड बनाउने आकर्षक नारा दिएको थियो । ती नाराले १५ वर्षमा नेपाली समाज कसरी सफर गर्यो, समीक्षायोग्य विषय छ ।
कसैले नारा दिँदैमा छोटो समयमा कायापलट हुँदैन । तर, सुतुरमुर्ग जस्तै तिर्खाएको नेपाली समाज वास्तविकता मान्न तयार छैन । धैर्यता छैन । तिहारको लागि माला बनाउन असारमा फुल रोप्नुपर्छ, तर अहिलेको समाजमा त्यो धैर्यता र लगन दुवै देखिन्न । फूलको ठाउँमा प्लास्टिकका माला बनाएर भए पनि लगाउनुपरेको छ ।
नायकको खोजीमा भड्किएको समाजले ०८४ सालको चुनावमा हलचल ल्याइदिने सम्भावना छ । विद्यमान निर्वाचन प्रणालीका कारण नेपालमा कुनै पनि दलले चमत्कार गरेर बहुमत ल्याउने सम्भावना त छैन । त्यसमाथि कांग्रेस–एमालेजस्ता गाउँसम्म जरा फिँजाएका दल पावरशून्य हुन पनि सम्भव देखिन्न ।
निकास दिन नसके पनि भड्किएको समाजले राजनीतिक समीकरणमा फेरबदल ल्याउन सक्छ । यहाँनेर फेरि घनश्याम भुसाललाई उद्धृत गरौं–‘राजनीतिक सिद्धान्त, मूल्यमान्यता भन्दा पनि सत्ताधारीको विरोधमा जसले चर्को स्वरमा बोल्छन्, उनीहरू नै चुनिएर आउने सम्भावना पनि छ । त्यसो हुँदा ३ महिना सरकार बन्दैन । बनेको १५ दिनमा ढल्छ । नेपालीका दुर्दिन देख्छु । धेरै डरलाग्दो कुरा छ ।’
जनतामा बढेको तीव्र महत्त्वाकांक्षा र बढेका आशालाई पूरा गर्न नयाँ बन्ने सरकार र दललाई चुनौती हुनेछ । चुलिएको आशा निराशामा रूपान्तरण हुँदा उत्पन्न हुन सक्ने परिस्थितिलाई कसले र कसरी सम्हाल्छ, भन्न गाह्रो छ ।
पढ्नुहोस्, यो पनि :
संकटको भुमरीमा ठूला दल– सक्किने बाटोमा छन् कि सच्चिने ?
०८४ सम्म सत्ता समीकरणको रोडम्याप र सम्भावित ३ राजनीतिक परिदृश्य