
सूचना प्रविधिको गतिशील संसारमा नयाँ पुस्तालाई अघि बढाउने उद्देश्यसहित, इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमी, काठमाडौंको सहकार्यमा तीन दिने प्रविधि महोत्सव 'फ्युचरामा २०२५' सम्पन्न गरेको छ।
साउन २१ देखि २३ गतेसम्म इस्लिङ्टन कलेज परिसरमा आयोजना गरिएको उक्त प्रदर्शनीले नेपाली युवाहरूको प्रविधिमैत्री सोच, सिर्जनशीलता र प्रयोगात्मक सीपलाई उजागर गरेको थियो।
प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका स्वचालित सवारीसाधनका मोडलहरू, रोबोटिक सहायकहरू, जस्तै : Project कृषक (Farm Bot), Telepresence Robot र विभिन्न एनिमेसन अनुभवहरू सहभागी दर्शकहरूका विशेष आकर्षणको केन्द्र बनेको थियो ।

कार्यक्रममा डिजिटल सुरक्षादेखि लिएर कृत्रिम बुद्धिमत्ता (एआई) सम्मका विषयमा अन्तरक्रियात्मक बूथ, प्रत्यक्ष प्रस्तुति र कार्यशाला राखिएको थियो । प्रदर्शनीको प्रमुख समन्वयकर्ता अनिशा आचार्यका अनुसार, 'फ्युचरामाको उद्देश्य प्रविधिमा रुचि राख्ने युवाहरूलाई प्रयोगात्मक सिकाइको अवसर दिनु थियो । यसले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै दिगोपन र उद्यमशीलताको सोच पनि विकास गर्नेछ।'
कार्यक्रमको अन्तिम दिन, अहिले युवामाझ चर्चित रहेको कफी रेभ भएको थियो।
आयोजकका अनुसार, तीन दिनको अवधिमा ३५०० भन्दा बढी युवाहरूले प्रदर्शनी अवलोकन गरेका थिए ।
फ्युचरामा २०२५ ले केवल प्रविधिको प्रदर्शन मात्र नभएर दिगोपन, उद्यमशीलता र प्रयोगात्मक शिक्षाको संस्कृति स्थापना गर्ने दिशामा पनि उल्लेखनीय योगदान पुऱ्याएको आयोजकहरूले बताएका छन् ।
आयोजकका अनुसार, फ्युचरामा २०२५ नेपालका अन्य प्रमुख शहरहरूमा पनि आयोजना हुनेछ, जसले देशभरका युवाहरू माझ प्रविधिमा सहभागिता र नवीनताको चेतना फैलाउने अपेक्षा गरिएको छ।



