०५ साउन २०८३, मंगलबार
रुस-युक्रेन युद्ध

अमेरिका-रूस शिखर सम्मेलनअघि लन्डनमा युक्रेनबारे उच्चस्तरीय वार्ता, के भयो कुराकानी ?

साउन २५, २०८२
काठमाडौं
अमेरिका-रूस शिखर सम्मेलनअघि लन्डनमा युक्रेनबारे उच्चस्तरीय वार्ता, के भयो कुराकानी ?

अमेरिकी उपराष्ट्रपति जेडी भान्स र बेलायतका परराष्ट्रमन्त्री डेभिड लाम्मीले युक्रेन युद्धबारे छलफल गर्न लन्डन नजिकै सुरक्षा अधिकारीहरूको बैठक आयोजना गरेका छन् । यो बैठक अमेरिकी अनुरोधमा बोलाइएको बताइएको छ ।

उनीहरूलाई युक्रेनी अधिकारी र युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले साथ दिएका थिए । लाम्मीले भने, ‘न्यायपूर्ण र दिगो शान्तिका लागि काम गर्दै जाँदा बेलायतको युक्रेनप्रतिको समर्थन दृढ छ ।’

यो बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को हप्ता अलास्कामा हुने शिखर सम्मेलनअघि भएको  हो। त्यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसलाई कुनै पनि भूभाग नदिने अडान दोहोर्‍याएका थिए ।

शनिबारको बैठक केन्टस्थित लाम्मीको आधिकारिक निवास चेभेनिङमा भएको थियो, जहाँ भान्स र उनको परिवार सहभागी थिए । 

बैठकमा युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तेम उमेरोभ, राष्ट्रपति कार्यालयका प्रमुख आन्द्रि यर्माक र बेलायत, अमेरिका, युरोपियन युनियन, फ्रान्स, जर्मनी, इटाली, फिनल्यान्ड तथा नाटोका प्रतिनिधिहरू सहभागी थिए ।

बैठकअघि बेलायती प्रधानमन्त्री कियर स्टार्मरले राष्ट्रपति जेलेन्स्कीसँग फोनवार्ता गर्दै यसलाई ‘शान्तितर्फको प्रगति छलफल गर्न अत्यावश्यक मञ्च’ हुनेमा सहमति जनाएका थिए ।

ट्रम्प र पुटिनबीच १५ अगस्टमा युद्धको भविष्यबारे छलफल हुने तय भएको छ ।

ट्रम्पले संकेत गरेका छन् कि युद्ध अन्त्य गर्न युक्रेनले केही भूभाग त्याग्नुपर्ने हुनसक्छ । शुक्रबार उनले भने, ‘दुवैको हितका लागि केही भूभाग साटासाट हुनेछ ।’

‘तपाईं त्यस्तो भूभाग हेर्दै हुनुहुन्छ जुन तीन वर्षभन्दा बढी समयदेखि लडाइँ भइरहेको छ । धेरै रूसी मरेका छन्, धेरै युक्रेनी पनि मरेका छन्’, उनले थपे ।

शनिबार राति बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, फिनल्यान्डका नेताहरू र युरोपियन आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायनले संयुक्त वक्तव्य जारी गर्दै युक्रेनको समर्थन दोहोर्‍याए र शान्तिवार्तामा उसको सहभागिता अनिवार्य हुने बताए ।

‘युक्रेनमा शान्तिको बाटो युक्रेनबिना तय गर्न सकिँदैन’, वक्तव्यमा भनिएको छ, ‘यूक्रेनलाई आफ्नो भविष्यको स्वतन्त्र निर्णय गर्ने अधिकार छ ।’

उनीहरूले अन्तर्राष्ट्रिय सिमाना बल प्रयोग गरेर परिवर्तन गर्न नहुने र आफ्नो देशहरूले युक्रेनलाई कूटनीतिक, सैनिक र वित्तीय सहयोग जारी राख्ने पनि जनाएका छन् ।

रूसले सधैं युक्रेनले केही क्षेत्रहरूमा आफ्नो सार्वभौमसत्ता स्वीकार गर्नुपर्ने, गैरसैन्यीकरण गर्नुपर्ने र नाटोमा सामेल हुने आकांक्षा त्याग्नुपर्ने अडान राख्दै आएको छ ।

ट्रम्पको धारणा पनि प्रायः युक्रेनले भूमि सुम्पेर शान्ति पाउनुपर्नेमा आधारित रहँदै आएको छ ।

जेलेन्स्कीले ट्रम्पको प्रत्यक्ष आलोचना नगरे पनि उनको सामाजिक सञ्जाल पोस्टले त्यो अडान अस्वीकार गर्ने संकेत दिएको छ ।

शनिबार बिहान उनले टेलिग्राममा लेखे, ‘युक्रेनीहरूले आफ्नो भूमि कब्जावालालाई दिने छैनन् ।’  शान्तिका कुनै पनि समाधानमा युक्रेनको सहभागिता हुनुपर्ने उनले दोहोर्‍याएका छन् ।

‘हामी राष्ट्रपति ट्रम्प र सबै साझेदारहरूसँग मिलेर वास्तविक र दीर्घकालीन शान्तिका लागि तयार छौं । यस्ता शान्ति जसलाई मस्कोको इच्छा अनुसार भंग गर्न सकिँदैन’, उनले भनेका छन् ।

शनिबार फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, ‘युक्रेनको भविष्य युक्रेनीहरूको सहभागिताविना तय गर्न सकिँदैन ।’ उनले युरोपेलीहरूको सुरक्षा दाउमा भएकाले उनीहरू पनि समाधानको हिस्सा अवश्य हुने चेतावनी दिएका छन् । 

ट्रम्पका रूसबारेका शब्दहरू पछिल्ला महिनामा कडा भए पनि युक्रेनका लागि अझै ठोस कदम भने देखिएको छैन ।

शुक्रबार, अमेरिकाले रूसलाई युद्धविराम स्वीकार गर्न वा थप प्रतिबन्धको सामना गर्न दिएको समयसीमा समाप्त भए पनि कुनै प्रभाव देखिएन ।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजले एक वरिष्ठ ह्वाइट हाउस अधिकारीलाई उद्धृत गर्दै, पुटिन–ट्रम्प बैठकको तयारी अझै परिवर्तनशील भएकाले कुनै न कुनै रूपमा जेलेन्स्की त्यसमा संलग्न हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

भूमि क्षेत्रमा भने प्रारम्भिक शान्तिवार्तामा यूक्रेन नसमेटिने यथार्थबोध देखिन्छ ।

बीबीसीले कुरा गरेका सैनिक र नागरिकहरूले शान्तिको तीव्र चाहना व्यक्त गरेका छन् । लगातारको युद्ध र रूसी ड्रोन तथा मिसाइल आक्रमणले थकान बढाएको छ ।

तर, कुनै पनि मूल्यमा शान्ति स्वीकार गर्ने तयारीको प्रमाण भने देखिँदैन । विशेषगरी आफ्नो आवाज नै नसुनी थोपारिएको सम्झौता त झन् मान्न नसकिने अधिकारीहरूले बताएका छन् । -बीबीसी

salt training

कमेन्ट गर्नुहोस्