
अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिजले गाजामा भइरहेको युद्धका परिणामबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ‘यथार्थ अस्वीकार’ गरिरहेको आरोप लगाएका छन् ।
उनले इजरायली सरकारप्रति असन्तुष्टिले निर्णयमा भूमिका खेलेको उल्लेख गर्दै अष्ट्रेलियाली नागरिकहरू हत्या र हिंसाको चक्र रोकिएको देख्न चाहिरहेको बताए ।
गाजामा युद्ध अन्त्य गर्न इजरायलमाथि चाप बढ्दै जाँदा नेतान्याहुले अष्ट्रेलियालगायत अन्य मुलुकहरूको निर्णयलाई ‘लाजमर्दो’ भन्दै आपत्ति जनाएका छन् । इजरायलले प्यालेस्टिनी राज्यलाई मान्यता दिनु ‘आतंकवादलाई पुरस्कार दिनु’ भएको दाबी गरेको छ ।
अल्बानिजले भने आफ्नो देशले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टिनी राज्यलाई मान्यता दिने बताएका छन् । यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि यस्तै कदम चालेका थिए ।
गाजामा भोकमरीका रिपोर्टबारे नेतान्याहु सरकारमाथि आलोचना बढ्दो क्रममा छ । हमासको नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच जनाको भोकमरीका कारण मृत्यु भएको छ, जसमा एक बालबालिका पनि छन् । हालसम्म २२२ जना, जसमा १०१ बालबालिकाको मृत्यु भोकमरीका कारण भएको बताइएको छ ।
इजरायलले गाजामा भोकमरी भएको दाबी अस्वीकार गर्दै संयुक्त राष्ट्रसंघका एजेन्सीहरूलाई सीमा नाकाबाट सहायता नउठाएको आरोप लगाएको छ । तर, संयुक्त राष्ट्रसंघले इजरायली नियन्त्रणमा रहेका सीमा क्षेत्रहरूबाट सहायता संकलन गर्दा अवरोध र ढिलाइ भएको बताएको छ ।
अल्बानिजले मंगलबार अष्ट्रेलियन ब्रड्कास्टिङ कर्पोरेसनसँग कुरा गर्दै गत बिहीबार नेतान्याहुलाई अष्ट्रेलियाको निर्णयबारे जानकारी दिएको बताए । ‘सहायता रोकिएको र खानेपानी–खाना वितरण केन्द्रहरूमा लाइनमा उभिएका मानिसहरूको ज्यान गएको स्थिति पूर्णरूपमा अस्वीकार्य छ र हामीले यो कुरा स्पष्ट रूपमा भनेका छौं’, उनले भने ।
उनका अनुसार नेतान्याहुले निर्दोष जनतामाथि परेको परिणामबारे पुनः सार्वजनिक रूपमा जस्तै ‘यथार्थ अस्वीकार’ गर्ने अभिव्यक्ति दिएका थिए ।