०६ साउन २०८३, बुधबार
सुल्झियो कांग्रेसको लफडा

देउवासहितका चार नेताको फोनपछि बानियाँलाई भोट दिन काठमाडौंबाट यसरी हेटौँडा पुगे कांग्रेसका १२ भाइ

साउन २७, २०८२
काठमाडौं
देउवासहितका चार नेताको फोनपछि बानियाँलाई भोट दिन काठमाडौंबाट यसरी हेटौँडा पुगे कांग्रेसका १२ भाइ

आफ्ना माग पूरा नभए कुनै पनि हालतमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँलाई विश्वासको मत नदिने अडानबाट अन्तत: कांग्रेसका १२ सदस्य ब्याक भएका छन् । 

सभापति शेरबहादुर देउवासहितका शीर्ष चार नेताको फोनपछि बहादुरसिंह लामा पक्षका १२ प्रदेशसभा सदस्य बानियाँलाई विश्वासको मत दिन तयार भएका हुन् ।

शीर्ष चार नेताको फोन आउँदा मंगलबार लामा पक्षका १२ भाइ दिउँसो साढे १२ बजेसम्म काठमाडौंको बुद्धनगरस्थित आरम्भ रेष्टुरेन्टमा थिए । तर, सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको फोनपछि उनीहरू हतारहतार हेटौँडा पुगेका हुन् । फर्पिङ–फाखेलको बाटो हुँदै १२ सदस्य ७ वटा गाडीमा हेटौँडा पुगेर विश्वासको मत दिएका हुन् ।

‘१४ जनामा एक जना रामकृष्ण चित्रकार विदेश जानुभएको छ । लक्ष्मी श्रेष्ठ पनि आउन सक्नुभएन । तर, हामी १२ जना मंगलबार बिहान पनि काठमाडौंको यूएनपार्क पारिको आरम्भ होटलमा थियौं,’ प्रदेशसभा सदस्य गोविन्द लम्सालले लोकान्तरसँग भने, ‘हामी छलफलमै हुँदा साढे १२ बजेतिर एक्कासी सभापति शेरबहादुर दाइले फोन गर्नुभयो । बहादुरजीलाई खुरुक्क विश्वासको मत दिन हेटौँडा जानुस्, तिमीहरूको काम पूरा हुन्छ भन्नुभयो ।’

देउवाका स्वकीय सचिव भानुले फोन लगाएपछि देउवाले बहादुरसिंहलाई ‘तिमीहरूको माग पूरा हुन्छ’ भन्दै आश्वासन दिएका थिए ।

‘शुरूमा भानुले कुरा गरेपछि देउवाले फोन गर्नुभयो । हामीले सबै कुरा सुनेनौं तर बहादुरजीले हस् हस् भन्नुभयो,’ लम्सालले भने, ‘बहादुरजीले अस्तिको हाम्रो तीन जनालाई मन्त्री बनाउने माग पूरा हुने आश्वासन आएको संकेत गर्नुभयो । सभापतिले नै वचन दिएपछि हामी मानसिक रूपमा तयार भयौं ।’

देउवालगत्तै उपसभापति पूर्णबहादुरले फोन गरे । उनको फोन प्रदेशसभा सदस्य एवं कांग्रेस काभ्रे सभापति तीर्थ लामालाई आएको थियो । उनले पनि हेटौँडा गएर भोट हाल्न निर्देशन दिएको लम्साल बताउँछन् ।

लगत्तै महामन्त्री विश्वप्रकाश शर्माले बहादुरसिंह लामालाई फोन गरे । उनले पनि एउटै पार्टीमा यसरी फरक मत राखेर अडान नलिन आग्रह गरे ।

अर्का महामन्त्री गगन थापाले तीर्थ लामालाई फोन गरेर सम्झाएको लम्साल बताउँछन् । ‘फोन गर्ने चारै जना शीर्ष नेताको कुरा तिमीहरूको माग पूरा हुन्छ । हेटौँडा जानुपर्छ भन्ने थियो,’ लम्सालले भने, ‘त्यसपछि हामी १२ जना सातवटा मोटरमा फर्पिङ–फाखेल हुँदै हेटौँडा आएर विश्वासको मत दिएका हौं ।’ उनीहरूले यसअघि मोबाइल अफ गरेर बस्दै पार्टीसँग बार्गेनिङ गरेका थिए । 

हेटौँडा पुगेपछि मुख्यमन्त्री एवं कांग्रेस प्रदेश सभापति बानियासँग उनकै दलको कार्यकक्षमा १२ जना नेताले छलफल गरेका थिए । लामा पक्षमा रामकृष्ण चित्रकार, कुन्दनराज काफ्ले, तीर्थ लामा, उत्तम जोशी, गोविन्द लम्साल, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गीसहितका छन् ।

आफ्नै पार्टीका १२ भाइको साथपछि मंगलबार साँझ प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री बानियाँले विश्वासको मत पाएका छन् । विश्वासको मतको पक्षमा ६३ प्रदेशसभा सदस्यले मत दिए भने विपक्षमा २२ मत परेको छ । यसैगरी ७ सदस्य तटस्थ रहेका छन् ।

११० सदस्य रहेको बागतमी प्रदेशभामा मंगलबारको बैठकमा ९२ जना सांसद सहभागी भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि उनले मंगलबार विश्वासको मत लिएका हुन् । 

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । ​

यसरी बढेको थियो बागमती कांग्रेसका तनाब

बागमतीमा बहादुरसिंह लामाको सरकारमा रहेका ५ मन्त्रीले राजीनामा दिएपछि टसल शुरू भएको थियो । पाँच मन्त्रीले छोडे पनि लामाले गोविन्द लम्साल, रिता गुरुङ र माया श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरे । तर, शपथ गराउन पाएनन् ।

बरु उल्टै लामाविरुद्ध बानियाँले संसदीय दलमा बहुमत जुटाए । ३७ सदस्य रहेको कांग्रेस प्रदेशसभा संसदीय दलमा शुरूमा बानियाँले २२ जनाको समर्थन पाए । लगत्तै भएको संसदीय दलको निर्वाचनमा लामाले १४ जनाको साथ पाए । तर, बानियाँलाई २३ सांसदको साथ रह्यो । संसदीय दलको नेतामा पराजित भए पनि लामाले मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान राखे । आफूलाई हठात् हटाइएको र तीन मन्त्रीलाई शपथ नगराएको भन्दै उनी राजीनामा दिन तयार भएनन् ।

तर, सभापति शेरबहादुर देउवाले बोलाएर सम्झाएपछि लामा राजीनामा दिन तयार भए । मुख्यमन्त्री छाड्दा लामा पक्षले यी तीन जनालाई मन्त्री बनाउनुपर्ने शर्त राखेको दाबी गर्दै आएको छ । 

शनिबार लामा पक्षले काठमाडौंमा आफूनिकट सांसदहरूको भेला नै गरेर तीन जनालाई मन्त्री नबनाए विश्वासको मत नदिने अडान राखे । तर, अन्तत: देउवाले आश्वासन दिएको दाबीसहित हतारहतार बानियाँलाई भोट हाल्न हेटौँडा पुगे ।

केन्द्रीय कार्यालयमा आइतबार भेट्न आएका १२ सदस्यलाई देउवाले कारबाही भोग्नुपर्ने चेतावनी पनि दिएका थिए । ‘तपाईंहरूले सहमति मानेको भए अविश्वासको प्रस्ताव आउने थिएन । कांग्रेस बदनाम हुने थिएन भनेर सभापतिले भन्नुभएछ,’ कांग्रेसका एक प्रदेशसभा सदस्यले लोकान्तरसँग भने, ‘बहादुरसिंहलाई तिमीले त मान्दैनौ, अरूले मान्छन् त भनेर पनि हकार्नुभएछ । सभापतिले बार्गेनिङ होइन, सरसल्लाह गरेर सन्तुलित रूपमा क्याबिनेट बन्छ भनेर पठाउनुभएको सुनेका छौं ।’

बागमतीमा बानियाँ र लामाबीच आलापालो मुख्यमन्त्री बन्ने समझदारी भएको दाबी गरिएको छ । १० महिनामा छोड्न तयार नभएपछि अविश्वासको प्रस्ताव राख्नुपरेको दाबी बानियाँ पक्षले गर्दै आएको छ ।

साउन २० गते मुख्यमन्त्री बानियाँले कांग्रेसबाट कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई मन्त्री बनाएका छन् । तामाङ खानेपानी र अधिकारी विनाविभागीय मन्त्री बनेका हुन् ।

कांग्रेसको भागमा परेका ७ मध्ये पाँचवटा मन्त्रालय मुख्यमन्त्री बानियाँसँगै छ । जसमा आर्थिक मामिला, आन्तरिक मामिला, संस्कृति तथा पर्यटन, युवा तथा खेलकुद, सहकारी तथा गरिबी निवारण मन्त्रालय छन् । यिनै मन्त्रालयमा लामा पक्षले कम्तीमा तीन जना आफ्नो पक्षका खोजेका हुन् ।

एमालेबाट मधुसूदन पौडेललाई कृषि, किरण थापालाई स्वास्थ्य, जयराम थापालाई श्रम, दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार, विन्दु श्रेष्ठलाई उद्योग र भरतबहादुर केसीलाई वन मन्त्री बनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्