०७ साउन २०८३, बिहीबार
संसदमा प्रधानमन्त्री

प्रचण्ड, रवि र रास्वपालाई इंगित गर्दै ओलीले संसदमा उठाएका केही अर्थपूर्ण कुरा

साउन २८, २०८२
काठमाडौं
प्रचण्ड, रवि र रास्वपालाई इंगित गर्दै ओलीले संसदमा उठाएका केही अर्थपूर्ण कुरा

नमिल्ने विषयलाई उरालेर प्रतिपक्षले नागरिकको भावनामा खेलेको आरोप प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएका छन् ।

संसद् र विचाराधीन मुद्दाका विषयमा समाजलाई भड्काउने र उत्तेजनामा ल्याउने प्रयासमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लागेको टिप्पणी ओलीले गरे ।

प्रतिनिधिसभाको बैठकमा बुधबार सम्बोधन गर्दै ओलीले प्रतिपक्षले संसद्लाई प्रश्नबाट कपटी बहसतिर लगेको बताए । ओलीले रास्वपा र माओवादीले भीडलाई उराल्ने काम गरेको आरोप लगाए ।

सहकारी ठगीमा रास्वपाका सभापति लामिछानेलाई पनि अरूलाई सरह व्यवहार गरिएको भन्दै उनले राजनीतिक प्रतिशोध नसाँधिएको बताए । कोही पनि न्यायको हत्या गरेर भीडमार्फत अभियोगमुक्त नहुने उनको टिप्पणी थियो ।

प्रमाणित अभिव्युक्तहरूले राजनीतिक प्रतिशोधको नाममा भीडलाई उराल्ने काम लोकतन्त्र र विधिको शासनविरुद्ध भएको प्रधानमन्त्री ओलीले बताए ।

‘म यो संसद्मा सरकारले यी–यी घोषित उद्देश्य अनुरूप के कति काम गर्‍यो भन्ने प्रश्न उठोस् भन्ने चाहन्थें । यस्ता प्रश्नले सरकारलाई आफ्ना कामको समीक्षा गर्न प्रेरित गर्थे,’ ओलीले भने, ‘तर, हाम्रो संसद्लाई होस् वा बहसको सार्वजनिक वृत्तलाई– सरकारले यसबारेमा के गर्‍यो भन्ने प्रश्नबाट बहकाएर अर्थहीन बहसमा विषयान्तर गर्ने प्रयास भइरहेको छ ।’

null

युवालाई भरोसाभन्दा भर्त्सनाका कन्टेन्ट उत्पादन गराउने नियतसहित विपक्षी दलहरू लागेको उनले बताए ।

‘विषयान्तर गरिएका यस्ता कपटी बहसले देशको समृद्धिका लागि होइन, देशमा केही गरौं भन्ने युवाहरूलाई भरोसा प्रदान गर्न पनि होइन– उनीहरूलाई गाली, निन्दा, आरोप र भर्त्सनाका कन्टेन्ट उत्पादनमा भुलाउने र समाजलाई उत्तेजनामा ल्याउने नियत राख्छ,’ ओलीले भनेका छन् ।

ओलीले संसदलाई सोसियल मिडियाका लागि ‘कन्टेन्ट’ उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास गरिएको बताए ।

‘संसद्मा उचालिएका कतिपय विषय राष्ट्रिय प्राथमिकता र आवश्यकतामा आधारित छैनन् । देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नु पर्ने यस सम्मानित सदनलाई झुटा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छ,’ ओलीले भनेका छन्, ‘के आजको हाम्रो राष्ट्रिय आवश्यकता यही हो ? पोजिसनका हिसाबले प्रतिपक्षमा भए पनि जनताको मत लिएर आइसकेपछि प्रतिपक्षको पनि देशप्रति केही न केही दायित्व त होला नि !’

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपाको नाम लिएका छैनन् । तर, उनले गम्भीर सहकारी ठगीका विषयमा विचाराधीन मुद्दालाई प्रतिशोधको राजनीतिको नाम दिएकोप्रति आपत्ति नै जनाए ।

‘लाखौं जनताले सहकारीमा गरेको वचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ । अदालतले मुद्दा हेरिरहेको छ । पूर्वमन्त्री, पूर्वसांसद्, बहालवाला मेयरलगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौं व्यक्तिहरूलाई अदालतले थुनामा पठाएको छ,’ ओलीले भनेका छन्, ‘तर, अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ । एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ? त्योचाहिँ कानूनी कारबाही हो ?’

भीडबाट न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेसँग समयले जवाफ माग्ने ओलीले बताए ।

‘अर्बाैं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौंमध्ये कुन–कुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो ? कुन–कुन व्यक्तिमाथिको थुना जायज हो ?,’ प्रश्न गर्दै ओलीले भने, ‘भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूसँग समयले जवाफ माग्ने छ । त्यस्ताको पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन, दयालाग्दो पनि छ ।’

सरकारको कुनै हात नहुने कानूनी निरुपणको विषय उठाउँदै संसद् अवरुद्ध गर्ने, भावनात्मक उत्तेजना ल्याउने विषय मुलुकका लागि अनुचित रहेको ओलीको भनाइ छ । ‘मास म्यानुपुलेसन’ गर्न खोज्ने पेशेवरबाट प्रणाली बचाउनुपर्ने ओलीले बताए ।

‘संसद्, सरकार, न्यायालयलगायत आफ्नो काम गर्नुपर्ने लोकतान्त्रिक प्रणालीका सबैजसो अंगहरूलाई पेशेवर ‘मास म्यानुपुलेसन’को आक्रमणबाट बचाउनु पर्छ,’ ओलीले भनेका छन्, ‘लोकतान्त्रिक शक्तिहरूले यो काम गर्नै पर्छ ।’

null

रास्वपा सभापति रवि लामिछानेका नाम नलिई ओलीले प्रमाणित अभियुक्तहरूले गलत भाष्य बनाइरहेको टिप्पणीसमेत गरे ।

‘कतिसम्म भने भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरू र भिजिट भिसामा गएर उतै दुई–दुईपटक बिहे गरिसकेका व्यक्तिहरूले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन्,’ ओलीले भने, ‘यसका पछाडि मुलुक र नागरिकको हित जोडिएको छैन, यसले इमोसनल ब्ल्याकमेलिङमार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ ।’

ओली रवि र रास्वपा केन्द्रित मात्रै भएनन्, कीर्तिपुरमा बनिरहेको क्रिकेट रंगशालाको प्रगतिलाई समेत इस्यु बनाउन खोजेकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गरे । ‘मेरो नेतृत्वमा सरकार बनेपछिको पहिलो निर्णय कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइटको काम अन्तिम चरणमा पुगेको छ,’ ओलीे भने, ‘देशभरि नै क्रिकेट मैदान बनिरहेका छन् । यो अवरोधका बीच पनि अन्तिम चरणमा पुगेको योजना हो ।’

काम हुँदाहुँदै पनि अनावश्यक प्रश्न गर्ने गरिएको भन्दै ओलीले रंगशाला निर्माणको अवलोकन गर्न जान पनि विरोधीहरूलाई आग्रह गरे ।

‘प्यारापिट बन्यो ? मेरो जवाफ छ बन्यो । फ्लडलाइट जोडियो ? जोडियो,’ ओलीले प्रचण्डतर्फ लक्षित गर्दै भने, ‘एकपपटक संसदीय समितिका मान्य सदस्यहरूले अवलोकन भ्रमण गरेजस्तै, अवलोकन भ्रमणका लागि सिफरिस गर्छु, सँगै जाने भए पनि कुरा मिलाएर सँगै हेर्न जाऊँ ।’

रोकिएका कामको प्रगतिका विषय विगतका सरकारसँग तुलना गरेर हेर्दा पनि आपत्ति नहुने ओलीको भनाइ थियो ।

‘मेरो नेतृत्वमा सरकार गठन भएपछि विकास निर्माणका कामको गतिमा कस्तो परिवर्तन आयो, म यस विषयमा उल्लेख गर्न चाहन्नँ,’ ओलीले भनेका छन्, ‘विगतको सरकारको काम गर्ने गति कस्तो थियो र अहिलेको सरकारको कस्तो छ, सार्वजनिक तथ्यका आधारमा आफैं विश्लेषण गर्न माननीयज्यूहरूलाई आग्रह गर्दछु ।’

ओलीले हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालले जोडेको, दैलेखमा ११२ अर्ब घनमिटर ग्यास भेटिएको, विधेयक निर्माणमा प्रगति भएको, नारायणगढ–बुटवल पूर्वी सडक खण्ड स्तरोन्नति भएको, मुग्लिन–पोखरा सडक आकर्षक बनेको विषयलाई उपलब्धिमा राखेका छन् । एसईईमा नतिजा बढेको, शेयर बजार बढेको, पेट्रोलियम पाइपलाइन, सडक पूर्वाधारका काम, ऊर्जामा बढ्दो लगानी, सातवटै प्रदेशमा जलन, मुटु, क्यान्सर र मिर्गौला रोगको उपचार सेवा विस्तारजस्ता विषयलाई सरकारको राम्रो काममा राखेका छन् ।

null

सरकार तलमाथि नहुने प्रस्टता

ओलीले प्रतिस्पर्धी कांग्रेससँग सरकार बन्नुको सैद्धान्तिक कुरा पनि प्रस्ट्याउन खोजे । बिथोलिएको राजनीतिलाई लयमा फर्काउनेदेखि शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन कांग्रेससँग समीकरण बनाएको ओलीको भनाइ छ ।

‘हामी सरकारमा आउँदा संसद्को यो रोस्ट्रममा उभिएर हामीले संकल्प गरेका थियौं– बिथोलिएको राजनीतिलाई लयमा फर्काउने,’ ओलीले भनेका छन्, ‘शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने, राजनीति र नीतिमा उत्पन्न अस्थिरतालाई अन्त्य गरी नीतिगत स्थिरता कायम गर्ने, थालेको काम सक्ने, प्रतिनिधिसभाको यस कार्यकालमा हुन नसक्ने कामलाई थाती राख्ने र मुलुकलाई बोझ बनेका असान्दर्भिक योजना/कार्यक्रमहरू खारेज गर्ने ।’

सम्बोधनका क्रममा ओलीले कांग्रेससँगको सत्ता समीकरण २०८४ को चुनावसम्म ढुक्कले चल्ने दाबी गरे ।

‘मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलको सरकार बनेको हो । तर, विपक्षमा रहेका दलहरूलाई स्थिरता कति अप्रिय लागेको हो ? प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्मा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन् । सरकार बनाउने संसद्को गणितले हो,’ ओलीले भने, ‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण केका लागि ? देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन । म सबैलाई स्पष्ट पार्न चाहन्छु,  अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’

ओलीले कांग्रेसभित्र संसदीय दलको नेता फेर्ने प्रयास समेत असफल भएको टिप्पणी गरेका छन् । मंगलबार भूमि समस्या समाधान आयोगको कार्यक्रममा ओलीले कांग्रेसमा दलको नेता फेर्न १२ मत नपुगेको भन्ने हल्लालाई कथा भनेर टिप्पणी गरेका थिए ।

‘मंगलबार बिहानै आएर मलाई एक जनाले भने नेपाली कांग्रेसभित्र एकदम ठूलो समस्या आउने भयो, दलको नेता फेर्नका लागि १२ जना पुगेको छैन । १२ जना पुर्‍याएर ढाल्ने भए भनेर सुनाएको थियो,’ ओलीले कार्यक्रममा भनेका थिए, ‘यो कथा सुन्दा–सुन्दा मेरो कान नै  टट्याइसक्यो । अब फेरि यही कथा अर्को संस्करण भएर आइरहन्छ । तर, बोल्नेहरू भए पनि केही हुँदैन ।  बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन । स्थिरताका लागि बनेको यो समीकरण २०८४ सम्मै जान्छ ।’

salt training

कमेन्ट गर्नुहोस्