२६ जेठ २०८३, मंगलबार
दुई शक्ति राष्ट्रको बहुप्रतिक्षित वार्ता

‘वीकएन्ड’मा रमाइरहेका अलास्काबासीको चिन्ता: ट्रम्प-पुटिन भेटले हाम्रो बिदा त बिथोलिन्न ?

साउन २९, २०८२
काठमाडौं
‘वीकएन्ड’मा रमाइरहेका अलास्काबासीको चिन्ता: ट्रम्प-पुटिन भेटले हाम्रो बिदा त बिथोलिन्न ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्काको सबैभन्दा ठूलो सहर एन्कोरेजमा भेट वार्ता हुँदैछ । विश्वको ध्यान खिचिरहेको ट्रम्प र पुटिनबीच युक्रेन युद्ध अन्त्यको विषयमा हुने वार्ताबारे एन्कोरेजबासीले भने छुट्टै चासो देखाएका छन् ।

यतिबेला अलास्कामा गर्मी सिजनको अन्तिम हप्ता चलिरहेको छ । यो माछा मार्ने, बेरी टिप्ने र सम्भवतः स्विमिङ गरेर रमाइलो गर्ने वर्षको अन्तिम सप्ताह्न्न हो । अगस्टको १५ पछि त्यहाँ सामान्यतयाः जाडो शुरू हुन्छ । पर्यटकीय सिजन पनि भएकाले अलास्काबासी यतिबेला ‘होलिडे मुड’मा छन् । पर्यटकीय शहर भएकाले अलास्काबासी मात्र होइन, विश्वका धेरै देशबाट पर्यटकहरू त्यहाँ पुगेका छन् ।

अलास्कामा जुनको अन्तिमतिर ३७ डिग्री सेल्सियस (वर्षकै उच्च)तापक्रम हुन्छ भने जाडोमा माइनस ६० डिग्री सेल्सियससम्म तापक्रम पुग्छ ।

अलास्काको ठूलो सहर एन्कोरेज नर्वेको ओस्लो र रुसको सेन्ट पिटर्सबर्गभन्दा उत्तरमा अवस्थित छ । यहाँ करिब ३ लाख जनसंख्या बसोबास गर्छन् । कुक इनलेटको किनारमा रहेको यो सहर चुगाच पहाडको फेदमा फैलिएको छ । यहाँका फराकिला सडकहरू ‘स्ट्रिप मल’ र चिसो हावापानीमा मात्र पाइने बर्च रूखहरूले घेरिएका छन् ।

ग्रामीण भेगका पसलहरूमा अलास्काका मूलवासीहरूले बनाएको हस्तकला र ध्रुवीय भालु थीमका स्मृतिचिन्हहरू बिक्री हुन्छन् ।

एन्कोरेजमा उत्साह र आशंका

‘म प्रिन्स विलियम साउन्ड (अलास्काको दक्षिणी तटमा रहेको खाडी)मा मेरो डुंगा लिएर बाहिर निस्कने तयारी गरिरहेको छु,’ एक गैर-सरकारी संस्थामा कार्यरत एन्डी मोडरोको भनाइ उदृत गर्दै द गार्जियनले लेखेको छ, ‘यो होलिडे एकदमै रमाइलो भइरहेको छ । म ट्रम्प र पुटिनको भेटले यो रमाइलोलाई असर परोस् भन्ने चाहन्न ।’

अलास्का ल्यान्डमाइन समाचार साइटका मालिक जेफ ल्यान्डफिल्डको पनि भनाइ उस्तै छ । उनले भने, ‘यो गर्मी निकै रमाइलो भएको छ । हामी सिकार गर्ने, माछा मार्ने, क्याम्पिङ र फोर-ह्विलिङमा रमायौं । तर, यो सम्मेलनले हाम्रो योजना बिगार्छ कि भन्ने मेरो चिन्ता छ ।’

द गार्जियनका अनुसार स्थानीय बासिन्दाहरूमा ट्रम्प र पुटिनबीच हुने शिखर भेटवार्ताप्रति मिश्रित भावना छ ।

‘ट्रम्प र पुटिनबीच शुक्रबार हुने भेटले एन्कोरेजलाई फेरि विश्व नक्सामा ल्याएको छ र यो सबैलाई मन परिरहेको छ,’ अलास्काका पूर्वराज्य सिनेटर हलिस फ्रेन्चले भने, ‘हामीले हिजो राति दुई साथीहरूसँग खाना खाँदा सबैजना ट्रम्पले केही नराम्रो कुरा गर्ने हुन् कि भन्नेमा सशंकित थियौं ।’

युरोपको आशंका

बुधबार जर्मन चान्सलर फ्रेडरिक मर्जले ट्रम्प, युक्रेनी राष्ट्रपति जेलेन्स्की र युरोपका विभिन्न नेताहरूसँग भर्चुअल सम्मेलन आयोजना गरेका थिए ।

यो भर्चुअल बैठकको उद्देश्य शुक्रबार हुने ट्रम्प-पुटिन भेटमा युक्रेनको सहभागिता सुनिश्चित गर्नु र एकपक्षीय सम्झौताबाट जोगिनु थियो ।

युरोपेली नेताहरूले पुटिनले ट्रम्पलाई रुसको पक्षमा ल्याउन सक्ने आशंका व्यक्त गरेका छन् ।

उक्त भर्चुअल बैठकपछि फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनले सञ्चारकर्मीहरूसँग भने, ‘ट्रम्पले युक्रेनको क्षेत्रीय मुद्दाहरू जेलेन्स्कीविना वार्ता गर्न नहुने कुरामा स्पष्टता व्यक्त गरेका छन् ।’

उनका अनुसार ट्रम्पले यो भर्चुअल कुराकानीलाई धेरै राम्रो भन्दै यदि पुटिनसँगको भेट सफल भएमा जेलेन्स्कीसहितको त्रिपक्षीय बैठक तुरुन्तै हुन सक्ने बताएका छन् ।

जेलेन्स्कीले युरोपेली नेताहरूसँगको कुराकानीमा पाँच साझा सिद्धान्तहरूमा सहमति भएको उल्लेख गरे । उनले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्, ‘युक्रेनसँग सम्बन्धित सबै कुरा युक्रेनसँगै छलफल हुनुपर्छ । हामी त्रिपक्षीय वार्ताको तयारी गर्नुपर्छ । पहिलो कुरा, युद्धविराम आवश्यक छ । हामीलाई विश्वसनीय सुरक्षा प्रत्याभूति चाहिन्छ । आज ट्रम्पले यसमा समर्थन जनाए र त्यसमा अमेरिकाको सहभागिताको तयारी रहेको बताएका छन् ।’

युक्रेन युरोपेली युनियन र नाटोको सदस्यता बन्ने विषयमा रुसले भिटो लगाउन नसक्ने जेलेन्स्कीको भनाइ छ । उनले रुसमाथि कूटनीतिक र आर्थिक दबाब कायम राख्नुपर्ने बताए । यदि शुक्रबारको सम्मेलनमा युद्धविराम सम्झौता भएन भने रुसमाथि थप कडा प्रतिबन्ध लगाउनुपर्ने उनको माग छ ।

जर्मन चान्सलर मर्जले पनि शिखर वार्तामा युक्रेनको सहभागिता अनिवार्य भएको बताएका छन् । भर्चुअल बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले भने, ‘हामीले अर्को उच्चस्तरीय बैठकमा युक्रेनको उपस्थिति हुनैपर्छ भन्ने स्पष्ट गरेका छौं । पहिले युद्धविराम, त्यसपछि सम्झौताको ढाँचा तयार हुनुपर्छ ।’

उनले युक्रेनको क्षेत्रीय अखण्डताको कानूनी मान्यता कुनै पनि हालतमा छलफलको विषय नहुनेमा जोड दिए ।

रुसको प्रस्ताव र ट्रम्पको रणनीति

गत साता मस्को पुगेका ट्रम्पका दूत स्टिभ विट्कफसँगको भेटमा पुटिनले युक्रेनको डोनबास क्षेत्र रुसलाई सुम्पिएर युद्धविराम गर्ने प्रस्ताव राखेको सीएनएनले दाबी गरेको छ । तर, यो प्रस्तावको विवरण अस्पष्ट छ । ट्रम्पले सोमबार ‘क्षेत्रीय आदानप्रदान’को कुरा उठाए पनि युरोपेली नेताहरू र जेलेन्स्कीले यस्तो प्रस्तावलाई अस्वीकार गरेका छन् ।

ट्रम्पले गत अगस्ट ८ मा रुसलाई युद्धविरामका लागि समयसीमा दिँदै रुसमाथि कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । यद्यपि, समयसीमा सकिएपछि पनि कुनै ठोस कारबाही भएन बरु अलास्कामा भेट तय भयो ।

रुसप्रति ट्रम्पले सधैं ‘लव-हेट’को सम्बन्ध देखाइरहेका छन् । उनी कहिले युक्रेनी राष्ट्रपति जेलेन्स्कीमाथि कठोर देखिन्छन् भने कहिले रुसी राष्ट्रपति पुटिनलाई चेतावनी दिइरहेका हुन्छन् ।

उनले धेरैपटक युक्रेनलाई दिइने सैन्य सहायता रोकेर युद्धविरामका लागि दबाब दिएका थिए । पुटिनमाथि उनले दिएको दबाबले असर नगरेको युरोपेली देशहरूको आरोप छ ।  

अलास्काको सांस्कृतिक र भौगोलिक सन्दर्भ

एन्कोरेजका बासिन्दाहरूका लागि रुस कुनै टाढाको शत्रु होइन, बरु छिमेकी हो । रुसी जेटहरूले अलास्काको हवाई क्षेत्रमा उडान भर्ने र रुसी सरकारले अलास्काका मछुवारहरूलाई असर पार्ने गरेको स्थानीयको गुनासो छ ।

‘रुस हाम्रो छिमेकी हो,’ एन्कोरेजका एक स्थानीयको भनाइ उदृत गर्दै द गार्जियनले लेखेको छ, ‘हामीले सधैं उसको नजिकको उपस्थिति महसुस गरिरहेका हुन्छौं ।’

स्थानीय पत्रकार म्याट अकुना बक्सटनले पुटिनमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पुर्जी भएकाले उनको अलास्का भ्रमणप्रति धेरै अलास्कालीहरू असन्तुष्ट रहेको बताएका छन् । ‘यो सम्मेलन युक्रेनको बारेमा हो, तर हामी अलास्कालीहरूले यो अवस्थालाई हाँसो र व्यङ्ग्यले सामना गरिरहेका छौं,’ उनले द गार्जियनसँग भनेका छन् ।

अनुसन्धानकर्ता संस्था कार्नेगी रसिया युरेसिया सेन्टरका निर्देशक अलेक्जेन्डर गाबुएभले ट्रम्पसँग रुसमाथि आर्थिक प्रतिबन्ध र युक्रेनलाई सैन्य सहायता बढाउने ‘कार्ड’ रहेको बताएका छन् ।

‘तर, युक्रेनको मोर्चा पनि कमजोर हुँदै गएको छ । डोनेट्स्क क्षेत्रमा रुसी सेनाले साना समूहमा आक्रमण बढाएको र युक्रेनी रक्षा रेखा कमजोर भएको खबरले जेलेन्स्कीलाई दबाबमा राखेको छ,’ गाबुएभ भन्छन्, ‘समय निर्णायक छ । पुटिनलाई लाग्छ कि उनले अझ १२ देखि १८ महिना युद्ध लम्ब्याउन सक्छन्, तर युक्रेनसँग त्यति समय छैन ।’

salt training

कमेन्ट गर्नुहोस्