२३ असार २०८३, मंगलबार
कांग्रेसमा भद्रगोल

कांग्रेस भ्रातृ संस्थामा बेथिति: समिति बनेको ९ महिनापछि निर्देशिका, महाधिवेशन गर्न कि टार्न ?

साउन ३०, २०८२
काठमाडौं
कांग्रेस भ्रातृ संस्थामा बेथिति: समिति बनेको ९ महिनापछि निर्देशिका, महाधिवेशन गर्न कि टार्न ?

सुनौलो इतिहास भएका भ्रातृ संस्थाहरूलाई अलपत्र पारेको नेपाली कांग्रेसले यसपटक अन्तिम मौका भन्दै महाधिवेशनको तयारीमा जोडबल गरेको छ ।

पार्टी संगठनमा महत्त्वपूर्ण प्रभाव राख्ने नेविसंघ, तरुण दल र महिला संघसहितका थुप्रै संगठन वर्षौंदेखि तदर्थवादमा चल्दै आएका छन् । महाधिवेशन गर्न नसकेपछि कांग्रेसले २०८१ मंसिर २६ गते १० वटा निर्देशन समिति बनाएको थियो ।

केन्द्रीय पदाधिकारी र तहका नेतालाई समेट्दै कम्तीमा चैतभित्रै महाधिवेशन गर्नका लागि सहजीकरण गर्न यस्ता समिति बनाइएका थिए । तर, उच्च पदमा आसीन नेताले महाधिवेशन होइन, उल्टै लाचारी देखाएको आरोप खेपे ।

समयमा महाधिवेशन गर्न नसकेपछि कांग्रेसभित्र भ्रातृ संस्था खारेज नै गर्नुपर्ने विषय जोडतोडले उठेको थियो । तर, असार १६ गतेदेखि २३ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले नै एकपटक अन्तिम मौका दिनुपर्ने प्रस्ताव गरे । देउवाको कृपाका कारण तदर्थ समिति भंग हुनबाट जोगिए ।

महाधिवेशन गराउन नसकेकोमा सबैभन्दा बढी प्रश्न सम्बन्धित तदर्थ समिति र निर्देशन समितिमाथि देखियो । कांग्रेसले गत मंसिरमा तरुण दलका लागि सह–महामन्त्री महालक्ष्मी उपाध्याय, नेविसंघका लागि सहमहामन्त्री किशोरसिंह राठोर, महिला संघका लागि प्रवक्ता डा. प्रकाशशरण महतलाई संयोजक बनाएको थियो ।

नेपाल दलित संघका लागि सहमहामन्त्री जीवन परियार, नेपाल किसान संघका लागि केन्द्रीय सदस्य रमेश रिजाललाई संयोजक बनाइएको थियो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका लागि केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र नेपाल थारू संघका लागि केन्द्रीय सदस्य उदय शमशेर राणा संयोजक बनाइए ।

तर, त्यतिखेरै कांग्रेसले निर्देशिका दिएन । विवाद र आरोप प्रत्यारोप भएपछि मात्रै कसरी महाधिवेशन गर्ने भनेर निर्देशिका आवश्यक ठान्यो । वर्षौंदेखि तदर्थवादमा चलेका भ्रातृ संस्थाको महाधिवेशन गराउन यी कुनै पनि निर्देशन समितिले प्रभावकारी अग्रसरता नलिएको आरोप लाग्यो ।

भ्रातृ संस्था अलपत्र परेपछि सभापतिसहितका पदाधिकारी नै महाधिवेशन गराउन कस्सिएका छन् । २६ साउनमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित निर्देशन समितिसँग छलफल गरे ।

सो छलफलमा महाधिवेशन गराउन नसकेका भ्रातृ संस्थाका अध्यक्षहरू पनि सहभागी थिए । महाधिवेशनका लागि अन्तिम मौका दिएपछि निर्देशक समितिको काम, कर्तव्य र अधिकारको विषयमा निर्देशिका नै तयार पारिएको हो । निर्देशिकालाई अन्तिम रूप दिएपछि अलपत्र भ्रातृ संस्थालाई महाधिवेशनतिर होम्ने तयारी कांग्रेसको छ ।

तर, शंका पनि उत्तिकै रहेको एक पदाधिकारी बताउँछन् ।

‘गत मंसिरमा निर्देशन समिति बनाउँदै नै निर्देशिका दिएको भए के जान्थ्यो ? अनि अहिले आएर निर्देशिका बनाउन किन आवश्यक ठानियो ? ९ महिनापछि महाधिवेशनका लागि कार्यविधि दिनु भनेको पार्टी नेतृत्वको लाचारी हो,’ ती पदाधिकारी भन्छन्, ‘अहिले आएर कार्यविधि बनाउनु भनेको महाधिवेशन अल्झाउने र नगराउने नीति हुन सक्छ । केही नेता त्यस्तै नियतले लागेका छन् ।’

कांग्रेस सभापति देउवा

के छ निर्देशिकामा ?

सुझाव मात्रै लिइएको निर्देशिकाको अन्तिम टुंगो लगाइएको छैन । तर, ‘तोकिएको भ्रातृ संस्थाको महाधिवेशन गर्ने/गराउने मुख्य ध्येयमा निर्देशक समिति केन्द्रित रहने’ उल्लेख रहेको एक नेताले बताए ।

‘निर्देशिका फाइनल भएको छैन । तर, धेरै महिनाअघि निर्देशन समिति बने पनि बैठक नराख्ने, राखे पनि पर्याप्त छलफल नगर्ने, भ्रातृसंस्थासँग समन्वय नगर्ने जस्ता गुनासा धेरै आए,’ कांग्रेस स्रोतले भन्यो, ‘निर्देशन समिति र कतिपय भ्रातृ संस्थाले समझदारीभन्दा द्वन्द्व बढ्ने स्थिति आएपछि निर्देशन समितिको सहजताका लागि निर्देशिका बनाउन खोजिएको हो, ।’

यसअघि जस्तो तोकेरै समय दिनेभन्दा पनि भ्रातृ संस्थाको प्रस्ताव अनुसारको सुविधा दिइएको छ ।

‘निर्देशन समितिलाई काम गर्न अप्ठ्यारो नहोस् भनेर हो,’ कांग्रेस केन्द्रीय कार्यालय स्रोतले भन्यो, ‘बाँकीको अधिवेशनका लागि भ्रातृ संस्थाले मिति राखेर प्रस्ताव गरेका छन् । उनीहरूले मंसिर–पुससम्मको समय मागेका छन् । त्यसलाई थप समय मानेर मौका दिइएको हो ।’

महिला संघले आगामी मंसिर २९ देखि पुस २ गतेसम्म, तरुण दलले मंसिर २६ देखि २८ सम्म, नेविसंघले मंसिर १५ देखि १७ गतेसम्म अधिवेशन गर्न प्रस्ताव गरेका छन् । किसान संघले भदौ ३ गते अधिवेशन गर्न प्रस्ताव गर्दा थारू संघले दुईवटा मिति प्रस्ताव गरेको छ ।

कांग्रेसका एक नेताका अनुसार, नेविसंघको निर्देशन समितिका संयोजक किशोरिसंह राठोर सबैभन्दा बढी आलोचित हुन पुगेका छन् । नेविसंघसँग पर्याप्त छलफल र परामर्श नगरेको भन्दै उनीमाथि प्रश्न उठेको ती नेताले बताए ।

‘सबैभन्दा ठूलो र प्रभावशाली भ्रातृ संगठनले धेरै छलफल र संवादबाट महाधिवेशन गराउने वातावरण बनाउनुपर्थ्यो । तर, त्यस्तो हुन सकेन भन्ने गुनासो धेरै आयो,’ ती नेता भन्छन्, ‘उहाँले पर्याप्त बैठक राख्नुभएन, प्रतिनिधिका विवाददेखि गुटको सन्तुलन मिलाउन सक्नुभएन भनेर धेरै गुनासो आए । यसैले समितिका संयोजक हटाउनभन्दा तोकेरै काम दिने गरी निर्देशिका बनाइएको हो ।’

तरुण दलको निर्देशन समिति संयोजक महालक्ष्मी उपाध्यक्ष डिना आफूहरूले मंसिरसम्म महाधिवेशन गर्ने तयारी गरेको बताउँछिन् ।

‘महाधिवेशनलाई अप्ठ्यारो पार्छ भनेर केही कार्यविधिमा हामीले संशोधन हालेका छौं । चार/पाँचवटा बुँदाले अप्ठ्यारो पर्छ भनेर नेतृत्वलाई प्रस्ट भनेका छौं,’ डिनाले भनिन्, ‘तर, हामी दलको महाधिवेशन गराउने गरी लागेका छौं । हाम्रोमा अरूमा जस्तो विवाद छैन ।’

मंसिरसम्मको समय दिइएको भन्दै उनले क्षेत्रीय अधिवेशन सकिएर जिल्लातिर लागेको बताइन् । क्षेत्रसम्मको सबै र २ जिल्ला अधिवेशन सकिएको उनको भनाइ छ ।

अनावश्यक विवादभन्दा समाधान सुझाउन पनि उनले आग्रह गरिन् ।

‘हामी नेतृत्वमा छौं । तर, महाधिवेशन गर्ने गरी नै नेताहरूले सहयोग गरिदिएहुन्थ्यो, गुटबन्दी नगरे हुन्थ्यो भन्ने लागेको छ,’ डिनाले भनिन्, ‘चासो नै दिन नपर्ने ठाउँमा पनि नेताहरूले खेल्न खोजेपछि समस्या भएको छ ।’

नेविसंघ निर्देशन समिति सदस्य प्रतिमा गौतमले बीचमा स्ववियु चुनावले बिथोले पनि अब मंसिरमा महाधिवेशन हुने बताइन् ।

‘तोकिएको चैतभित्रै महाधिवेशन गर्न नसकेकोमा प्रश्न नउठेका होइनन् । तर, पार्टीले नै स्ववियु चुनावमा लाग्ने भन्दै हाम्रो हकमा पछाडि गर्दा पनि हुने भनेको थियो,’ गौतमले भनिन्, ‘ठूलो भ्रातृ संस्था हुँदा हामीमाथि अपेक्षा र प्रश्न छन् । अब मंसिरबाट महाधिवेशन उता पुर्‍याउन हुँदैन भनेर लागेका छौं ।’

नेविसंघका प्रभावशाली भ्रातृ संस्था १०–१५ वर्षयता तदर्थवादमा चल्दै आएका छन् । तदर्थवाद, बेथिति र जम्बो कार्यसमितिले कांग्रेसका भ्रातृ संस्था विवादमा पर्ने गरेका छन् ।

नेविसंघबाटै उदाएका नेता कांग्रेसको केन्द्रीय नेतृत्वमा छन् । २०२८ सालमा सभापति भएका शेरबहादुर देउवा लगातार दुईपटक पार्टी नेतृत्वमा आए ।

२०५३ सालमा नेविसंघको सभापति भएका धनराज गुरुङ पार्टीका उपसभापति हुन् । २०५७ सालमा नेविसंघको सभापति चुनिएका विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्री छन् ।

नेविसंघमा महामन्त्री भएका गगन थापा पनि पार्टीको महामन्त्री नै छन् । यीबाहेक पनि नेविसंघमा सभापति भएका विमलेन्द्र निधि, प्रदीप पौडेल, एनपी साउद,  ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, गोविन्द भट्टराई, कल्याण गुरुङ, नैनसिंह महरसम्म कांग्रेसको केन्द्रीय नेतृत्वमा छन् ।

नेविसंघ पृष्ठभूमिकै नेता पार्टी मूल नेतृत्वमा आउँदा पनि संगठन वर्षौंदेखि भद्रगोल अवस्थामा चलेका छन् । समयमा नेतृत्वले हस्तक्षेप नगर्ने, तर गुटबन्दीको अभ्यास गरिरहे । जसले नेविसंघसहितका भ्रातृ संस्था भद्रगोल बन्दै आएको नेताहरू बताउँछन् । नेविसंघमा ७५२ र तरुण दलमा ४०१ सदस्यीय जम्बो कार्यसमिति छ ।

salt training

कमेन्ट गर्नुहोस्