३० जेठ २०८३, शनिबार
प्रभावशाली नेताका सस्ता अभिव्यक्ति

बोलेरै बिगार्दै शेखर !

भदौ १, २०८२
काठमाडौं
बोलेरै बिगार्दै शेखर !

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला १५ औं महाधिवेशनमा पुन: सभापतिमा दाबेदारी प्रस्तुत गर्ने तयारी गरिरहेका छन् । सभापतिका लागि अहिले नै तयारी र दाबेदारी गर्नेमा उनीबाहेक कांग्रेसका अर्को नेता खुलेका छैनन् । 

शेरबहादुर देउवापछि सभापति को हो ? भनेर पात्रको खोजी भइरहेको छ । सभापतिको प्रबल दाबेदार मानिएका नेता शेखर भने बोलीमा ठेगान र रणनीतिक चातुर्यता देखाउन नसक्दा बोलेर आफैंलाई पोलिरहेका छन् ।

पार्टीको केन्द्रीय समितिदेखि सार्वजनिक मञ्चबाटसमेत शेखरले नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन् । पुन: सभापतिको दौडमा रहेका नेताले आफूलाई फरक देखाउन नेतृत्वको बारेमा कटाक्ष गर्नु अस्वाभाविक पनि होइन । तर, शेखर कांग्रेस सभापतिमाथि मात्रै निशाना साँधिरहेका छैनन्, सरकारको नेतृत्व गरिरहेको दल एमालेमाथि झनै निर्मम भएर प्रस्तुत भइरहेका छन् ।

शनिबार काठमाडौंमा ‘नेपाली कांग्रेसभित्रको अपरिहार्यता- सहमति, सहकार्य र एकता आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा शेखर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति निर्मम देखिए । उनले खुलेरै एमालेमाथि गम्भीर प्रश्न उठाए ।

यी तिनै शेखर हुन् जो एमाले र कांग्रेस मिल्नुअघि दुई दल मिल्नुपर्ने पक्षमा सबैभन्दा बढी वकालत गर्ने नेता थिए । तर, २०८१ असारमा जब कांग्रेस र एमाले मिले तब शेखर विरोधमा उत्रिँदै आएका छन् । ओली न देउवा शेखरले दुवैप्रति निशाना साँध्न कम गरेका छैनन् । बरु उनको निशानाको तीर झन् झन् तीखो हुँदै गएको छ ।

‘हामीले निजामती विधेयकमा कुलिङ पिरियड राख्नुपर्ने गरी विधेयक बनायौं तर त्यसलाई समाप्त गर्ने खेल एमालेबाट शुरू भयो । अहिलेसम्म त हामीले पनि लुकायौं तर अब लुकाउनुपर्ने कुनै आवश्यकता छैन’, एमालेमाथि खनिएका शेखरले भने, ‘राष्ट्रियसभामा त एमालेका सांसदहरूले माथिको निर्देशन भन्दै कुलिङ पिरियडको विपक्षमा संशोधन प्रस्ताव हालेको छ । एमाले त छलकपट गर्दो रहेछ भनेर यसले देखाउँछ ।’

शेखरको एमालेप्रतिको कटाक्ष यत्तिमै सीमित भएन । खाली जग्गामा एमालेको आँखा जाने भन्दै शेखर झन् निर्मम भएर प्रस्तुत भए ।

‘जहाँ खाली जग्गा देख्यो एमालेको आँखा गइहाल्दो रहेछ । गोकर्ण रिसोर्ट हेर्नुस्, राजा वीरेन्द्रको सम्पत्तिमा एमालेको आँखा हेर्नुस् । पोखराको लिचीबारी हेर्नुस् । गिरीबन्धु टी–स्टेट हेर्नुस्, जताततै एमालेको मात्रै सुनिन्छ’, शेखरले भने, ‘संघीय मामिलामन्त्रीले त राजीनामा दिनुभयो तर भूमि सुधार मन्त्री अहिले पनि जबर्जस्ती बसिराख्नुभएको छ ।’ 

आन्तरिक विषययमा बोले पनि प्रतिस्पर्धी पार्टीबारे विनासन्दर्भ बोल्न आवश्यक हुँदैन । त्यसैमाथि शेखरले आरोप लगाएका विषय प्रमाणित होइनन् । यद्यपि विवाद भएका विषय भने हुन् । तर, शेखरले यी जग्गामा एमाले जोडिएको प्रमाणित भएकै शैलीमा विवादित अभिव्यक्ति दिन भ्याए । 

कांग्रेसभित्र पनि उनी केही समयअघि खुलेरै कठोर देखिएका थिए । गत असार १६ गते केन्द्रीय समितिको बैठक शुरू भएकै दिन शेखरले चित्त नदुखाउनुहोला भन्दै देउवामाथि आक्रोश पोखेका थिए । १५ औं महाधिवेशनको माहोल नबनाएको, माओवादीसँग चुनावी गठबन्धन र एमालेसँग सत्ता समीकरणमा पनि शेखरले प्रश्न उठाएका थिए ।

‘२०७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौं । अहिले एमालेसँग सरकारमा छौं । त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्‍यौं र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ? कांग्रेस-एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ,’ शेखरले भनेका थिए, ‘तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? सभापतिज्यूले यसको चितबुझ्ने जवाफ दिनुपर्छ ।’

१४ औं महाधिवेशनमा संस्थापन (देउवा)को काउन्टरमा शेखर अर्को समूहको नेताको रूपमा उदाएका थिए । आफू सभापति र महामन्त्रीमा गगन थापालाई उठाए । गगन शानदार मतसहित महामन्त्री निर्वाचित भए । तर, शेखर दोस्रो चरणमा पुगेको सभापतिको निर्वाचनमा पराजित हुन पुगे । 

यद्यपि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हिस्सा शेखरले पाएका थिए । त्यसपछि महामन्त्री थापासँग बिग्रँदै गएको सम्बन्धलाई शेखरले राम्रो बनाउन सकेका छैनन् ।

null

गत चुनावपछि संसदीय दलको नेतामा शेखर पक्षबाट गगन थापा देउवासँग भिडे । तर, शेखर पक्षले भोट दिएन । समूहको ३० देखि ३३ भोट पनि थापाले पाएनन् । २५ मा खुम्चिए । त्यसयता दुवैबीचको सम्बन्ध सौहार्द छैन । शेखर सभापतिको दाबेदार छँदैछन् । अर्कोतिर गगनले पनि सभापतिमा उठ्ने गरी तयारी अगाडि बढाएका छन् ।

आफूसँग सम्बन्ध बिग्रिएपछि शेखरले गगनसँग सुधारको प्रयास गरेका छैनन् । तर, उल्टै कटाक्ष गर्दै आएका छन् । गगन आफ्नो टिममा नभए पनि फरक नपर्ने अभिव्यक्ति शेखरले दिएका छन् । 

गगनलाई आफ्नो लोकप्रियताको बलमा कांग्रेसमा टिक्नुपर्ने अवस्था छ । आफूलाई सभापतिको दौडमा उतार्नुपर्ने दबाब छ । बलियो महामन्त्रीको रूपमा गगन खरो उत्रिएका छन् ।  तुलानात्मक रूपमा शेखर सहज अवस्थामा छन् । किनकि प्राविधिक रूपमै सही शेखरलाई ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले साथ दिएको एउटा अंक छ । यसैलाई ११ प्रतिशत मात्रै बढाउँदा शेखरलाई सभापति जित्न गाह्रो नहुनुपर्ने हो । तर, उनी ‘बोलेर शेखर आफैंलाई पोलिरहेका’ छन् ।

अर्कोतिर देउवालाई अब विधानले सभापतिमा उठ्न दिँदैन । यस्तोमा अरु जोसुकैलाई ५१ प्रतिशत मत पुर्‍याउने सुविधा हुँदा शेखरलाई ११ प्रतिशत मत बढाउँदा सभापति हुने अवसर छ । सभापतिका लागि सर्वमान्य नेता देउवा टिमले तयार गर्न सकेको छैन । यस्तोमा रणनीतिक चातुर्यता देखाउन सक्दा मात्रै शेखरलाई सहजता हुने देखिन्छ । तर, राजनीतिको सामान्य रणनीतिक विषयप्रति शेखरले ढंग पुर्‍याइरहेका छैनन् । बरु आफ्ना विरोधीलाई एक हुने अवसर दिइरहेका छन् ।

आफ्ना भाइ शशांकले सभापति देउवासँग सम्बन्ध सुधारेका छन् । १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवारमै आफूलाई वचन मिल्ने आशा शशांकले मारिसकेका छैनन् । लगातार दुईवटा महाधिवेशनबाट देउवालाई सभापति बनाउन शशांकले रणनीतिक रूपमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

रामचन्द्र पौडेल र शेखर दुवै समूहबाट सभापतिको उम्मेदवार बन्दा शशांक देउवातिर लागेका थिए । यसैले अहिलेसम्म सभापतिको दाबेदार नबनेका बीपीपुत्र शशांकले देउवाको वचन आफूलाई मिल्ने आशा मारिसकेका छैनन् ।  तर, शेखर भने ठीक उल्टो आफैं निकटका नेतालाई समेत भड्काइरहेका छन् ।

१४ औं महाधिवेशनमा शेखर–गगन समूहबाटै केन्द्रीय सदस्य भएका मधु आचार्य हरेक कुरामा शेखरले फरक मत राख्न खोजे पनि टिम त्यो अनुसार बोल्ने वातावरण नभएको बताउँछन् ।

‘शेखर दाइ बोल्नुहुन्छ । तर, उहाँको टिम बोल्दैन । उहाँले के प्रयोजनमा बोल्नुभएको छ, ककसलाई भेट्नुभएको छ, टिमभित्र कम्युनिकेशन हुँदैन । यति ठूलो पार्टीमा एक्लै रणनीति बनाएर पुग्दैन । टिमलाई आत्मविश्वासमा लिने र थप्दै जानुपर्थ्यो’ आचार्य भन्छन्, ‘तर, हिजोको बलियो र राम्रो शेखर–गगन समूहमा नेता थपिने होइन रणनीतिक रूपमा उहाँले लिनुभएको कदमले भएको गुम्ने र अरु नजुट्ने स्थिति बनेको छ ।’

आफ्नो टिमबाट जितेका केन्द्रीय सदस्य र संसदीय दलमा नेताको संख्या घट्दा शेखरले दलको नेता फेर्न सकिनेबारे गरेको कसरत पनि विवादमा परेको छ ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नुले रणनीतिक हिसाब शेखर परिपक्व नदेखिएको आचार्य बताउँछन् ।

‘संसदीय दलको नेतामा आवश्यकताभन्दा बढी हल्ला भयो । पूर्व राष्ट्रपति र प्रचण्डलाई भेट्न जानेसम्मको प्रक्रियामा कांग्रेस बाहिरका अमरेश कुमार सिंहको साथ लिनु भनेको नतिजामा पुग्न खोजेको होइन, रणनीतिक रूपमा गरिएको कमजोरी हो भन्ने देखाउँछ’, आचार्य भन्छन्, ‘गगन थापाले मेरो तागत नै १४ औं महाधिवेशनको शेखर-गगन समूह हो भन्दै आउनुभएको छ । आफ्नो तागत गुमाउने तर विवादितको साथ खोज्ने शेखर दाइको कदमले धेरै चिढिएका छन् ।’

null

शेखरलाई प्रमुख अतिथि बनाएर गगनले आफू विशिष्ट अतिथि बन्ने उदारता देखाउँदा पनि शेखरले बोध नगरेको आचार्य बताउँछन् । 

‘गगनले आफ्ना लागि स्पेश बनाउनुभएको हो । शेखरबारे विरुद्धमा एकवचन बोल्नुभएको छैन । शेखर दाइले गगनलाई एकै ठाउँमा राख्न सक्ने र पावर सेयरिङ गर्न सक्ने धेरै ठाउँ थियो । शेखर प्रमुख अथिति भएर पनि विशिष्ट अतिथिमा महामन्त्री थापाले हार्दिकता देखाउनुभएको थियो,’ आचार्यले लोकान्तरसँग भने, ‘तर, जब शेखरले ‘गगन हिजो सिटौला टिममा हुनुहुन्थ्यो, अघिल्लो महाधिवेशनमा मेरोमा आउनुभयो, अब कहाँ जान्छन्’ भनेर भन्नुभयो त्यसैले माहोल बिगार्‍यो । सभापतिमा उम्मेदवार घोषणा गर्न शेखरले गगनलाई घचेट्नुभएको छ ।’

नेता आचार्य राम्रा छवि भएका नेता तान्न सक्ने स्थिति रहे पनि त्यो अग्रसरता शेखर समूहले नदेखाएको बताउँछन् । 

‘हिजोकाले साथ दिएका मसँगै छन् भन्ने छ । तर, पोल्टाका गुमाउने अवस्था विकसित हुँदैछ । राम्रो छवि भएका मान्छे तान्न कसरत गर्नुपर्थ्यो । तर, विवादित र भ्रष्टाचारमा आरोपिततिर उहाँको ध्यान गयो,’ आचार्य भन्छन्, ‘शेखर र गगनबीचमा सहमति हुने स्पेश धेरै थिए । तर, स्थिति टाढा टाढा पुग्दैछ । केन्द्रीय सदस्य र पक्षका सांसदको बैठक बोलाउँदा पनि उपस्थित हुनेको संख्या घट्दो छ ।’ 

केन्द्रीय सदस्य दिनेश कोइराला अरु नेतालाई ५१ प्रतिशतका लागि प्रयत्न गर्दा शेखरलाई ११ प्रतिशतका लागि बल गर्दा पुग्ने बताउँछन् ।

‘अब सभापतिमा देउवा उठ्नु हुँदैन । यस्तोमा ४० प्रतिशत मत ल्याउनुभएका शेखर दाइ यो जोगाएर ११ प्रतिशत बढाउन सक्दा सभापति हुने ५१ प्रतिशत मत पुग्न सक्छ । नयाँलाई सभापति हुन कम्ता कठिन छैन,’ कोइरालाले लोकान्तरसँग भने, ‘तर, शेखर दाइ सभापति बन्छु भनेर तिकडम बुन्ने र रणनीति तयार गर्ने काममा देखिनुभएको छैन ।’

पदभन्दा विकृति अन्त्यलाई कोइरालाले प्राथमिकतामा राखेको उनी बताउँछन् ।

‘कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ भनेर सबैभन्दा पहिले भन्ने उहाँ नै हो । तर, समीकरण बनेपछि संविधान संशोधनको काम अगाडि बढेन । नागरिकले समेत दुई ठूला दलको सरकारबाट कुनै अपेक्षित डेलिभरी पाएनन्’, दिनेश भन्छन्, ‘यस्तोमा नाफाघाटा नहेरी शेखर दाइले अब चुनावी गठबन्धन र समीकरण हुँदैन, प्रतिस्पर्धी एमालेसँग मिल्नु घातक हो भन्दै आउनुभएको हो ।’

पढ्नुहोस् यो पनि-

कांग्रेसका ११ भाइ देउवाको दैलोमा पुग्दा शेखर टीममा उत्साह !

पूर्णबहादुरको जिल्लामा शेखरले पाएको ‘भव्य स्वागत’को अन्तर्य​

शेखरको टीममा रामसरोजको ‘इन्ट्री’ले देउवा क्याम्पमा हलचल !

 

salt training

कमेन्ट गर्नुहोस्