३० असार २०८३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्यको प्रयास

युक्रेनमा शान्ति अझै टाढा, जेलेन्स्कीसँग भेट्न किन अनिच्छुक छन् पुटिन ?

भदौ ४, २०८२
काठमाडौं
युक्रेनमा शान्ति अझै टाढा, जेलेन्स्कीसँग भेट्न किन अनिच्छुक छन् पुटिन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच गत सोमबार ह्वाइट हाउसमा भएको भेटवार्तामा युक्रेन युद्ध अन्त्य गर्ने विषयमा सकारात्मक छलफल भएको थियो ।

राष्ट्रपति ट्रम्पले जेलेन्स्कीसँग छिट्टै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट हुने तयारी रहेको बताए । उनले पुटिनसँग यसबारे आफ्नो कुरा भइरहेको बताएका थिए । जेलेन्स्कीसँग भेट गरिरहेका बेला ट्रम्पले पुटिनसँग पनि फोनमा कुरा गरेका थिए ।

तर, रुसले पुटिन र जेलेन्स्कीबीच छिट्टै वार्ता हुनेबारे दोधारे अभिव्यक्ति सार्वजनिक गरेको छ । ह्वाइट हाउसमा भएको भेटघाटपछि क्रेमलिनका सहयोगी युरी उशाकोभले ट्रम्प र पुटिनको फोनवार्ताबारे पत्रकारहरूलाई जानकारी दिँदै भने, ‘रुसी र युक्रेनी पक्षका प्रतिनिधिहरूको स्तर बढाउने अवसरको अध्ययन गर्नु उपयुक्त हुनेछ भन्ने विचारमा छलफल भयो ।’

दुवै युद्धरत पक्षका प्रतिनिधिहरूको स्तर बढाउने विषयमा रुसले अध्ययन गरिरहेको अभिव्यक्तिले पुटिन जेलेन्स्कीसँग सिधा भेट गर्न तयार नभएको संकेत देखाएको छ । 

पत्रकारहरूसँग कुरा गर्दै उशाकोभले न त पुटिनको नाम लिए, न त जेलेन्स्कीको । न त उनले ‘प्रतिनिधिहरू’को स्तर बढाएर शीर्ष नेतृत्वसम्म पुर्‍याउने कुनै संकेत नै दिए । उशाकोभको यो अभिव्यक्तिपछि क्रेमलिनले झारा टार्ने नीति लिएको भन्दै आलोचना भइरहेको छ । 

विदेशमन्त्री लाभ्रोभ सकारात्मक 

उशाकोभले पत्रकार सम्मेलन गरेको केही समयपछि रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले सरकारी टेलिभिजनमा अलि नरम स्वरमा कुरा गरे । उनले भने, ‘हामी युद्ध अन्त्यका लागि सबै प्रकारका भेटहरू गर्न तयार छौं ।’ 

उनले थपे, ‘शीर्ष अधिकारीहरू समावेश हुने कुनै पनि भेटवार्तालाई अत्यन्त सावधानीपूर्वक तयार गरिनुपर्छ ।’

यो अडान कुनै आश्चर्यको विषय होइन । पुटिनले युक्रेनको ‘डोनेट्स्क’ र ‘लुहान्स्क’ क्षेत्रलाई एकतर्फी रूपमा स्वतन्त्र घोषणा गरेर युद्ध शुरू गरेका हुन् । 

उनी युक्रेनलाई रुसको इतिहास, संस्कृति र आध्यात्मिक स्थानको अभिन्न अंग मान्छन् र युक्रेन अलग हुनुलाई ‘ऐतिहासिक भूल’ भन्छन् ।

पुटिनले पछिल्लो समय जेलेन्स्कीसँग भेट्नु भनेको आफ्नो असफलता स्वीकार्नु रहेको भनेर आन्तरिक भेटघाटमा अभिव्यक्ति दिने गरेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । 

रुस र युरेसिया हेर्ने एक गैर-सरकारी संस्थाका कार्यक्रम निर्देशक ओरिसिया लुत्सेभिच भन्छिन्, ‘यदि यो भेटघाट भयो भने, पुटिनले ठूलो असफलता स्वीकार गर्नुपर्नेछ ।’

उनले पुटिनले जेलेन्स्कीलाई ‘मजाक’ र युक्रेनलाई ‘अस्तित्व नै नभएको देश’ ठान्ने बताइन् । ‘त्यस्तो नेतासँग वार्ताको टेबलमा बस्नु भनेको आफ्नो सम्पूर्ण अडानको असफलता स्वीकार गर्नु हो,’ उनको भनाइ छ ।

उनका अनुसार जेलेन्स्कीसँग भेट्नु भनेको रुसका लागि उल्टो चाल हुने र घरेलु राजनीतिमा पुटिनको हार हुनु हो । 

‘पुटिनले सरकारी टेलिभिजनमार्फत् जेलेन्स्की नाजी भएको, युक्रेन पश्चिमको कठपुतली राज्य रहेको र जेलेन्स्की अवैध नेता भएको भनेर आफ्ना जनतालाई बुझाइरहेका छन् । यस कारणले पनि जेलेन्स्कीसँग भेट्दा आफ्ना जनतालाई जवाफ दिन गाह्रो हुनेछ,’ उनले भनिन् । 

जेलेन्स्कीसँग होइन, पश्चिमसँग वार्ता 

क्रेमलिनले युक्रेनी नेताको वैधानिकतामाथि निरन्तर प्रश्न उठाइरहेको छ । रुसी अधिकारीहरूले जेलेन्स्कीलाई नाम लिएर सम्बोधन गर्न रुचाउँदैनन्, बरु उनीहरू ‘किभ शासन’ भन्ने कठोर शब्दावली प्रयोग गर्छन् ।

कारनेगी रुस युरेसिया केन्द्रकी वरिष्ठ अध्येता तात्याना स्तानोवायाको तर्क छ, ‘यो युद्ध रुसका लागि युक्रेनभन्दा पनि पश्चिमा शक्तिसँगको मुठभेड हो । त्यसैले पुटिन जेलेन्स्कीसँगको भेटलाई महत्त्वपूर्ण ठान्दैनन् ।’

तर, वार्ता सफल हुने निश्चित भएमा पुटिनले भेट गर्न सक्ने उनको भनाइ छ । ‘त्यसका लागि मुख्य मागहरू टेबुलमा हुनुपर्छ र जेलेन्स्की ती मागबारे कुरा गर्न तयार हुनुपर्छ,’ स्तानोवायाले बताइन्।

जेलेन्स्कीले हालसम्म रुसका मुख्य मागहरू अस्वीकार गर्दै आएका छन् । तर, पुटिनको नजरमा जेलेन्स्कीको यस्तो अडानलाई परिवर्तन गर्न ट्रम्पले मात्र सक्छन् । 

स्नोतोवायाले भनिन्, ‘ट्रम्पलाई समाधानको सक्षमकर्ताका रूपमा हेरिएको छ । त्यसका लागि संयुक्त राज्य अमेरिकाले किभ (जेलेन्स्की)सँग काम गरेर उनीहरूलाई रुसी मागहरूप्रति बढी लचिलो हुन दबाब दिनुपर्छ ।’

आफ्ना माग अस्वीकार हुने अवस्थामा पुटिन जेलेन्स्कीसँग बसेर ‘पोलिटिकल एम्बुस’मा फस्न नचाहेको टिप्पणी सीएनएनले गरेको छ ।
 
किन हतारमा छैनन् पुटिन ?

पुटिनले जेलेन्स्कीलाई अहिले कुनै पनि सहुलियत दिनुपर्ने कारण देखेका छैनन् । उनले युक्रेनलाई केही राहत हुने निर्णय नगरिकनै अलास्कामा एक भव्य शिखर सम्मेलनको ‘पुरस्कार’ पाएका छन् । 

ट्रम्पले पनि युद्धविरामको माग छोडिदिएका छन् र अहिलेसम्मका सबै प्रतिबन्धहरूको अल्टिमेटम विफल भएको छ ।

सैन्य मोर्चामा पनि मस्को बलियो देखिएको छ । अगस्टमा रात्रिकालीन ड्रोन आक्रमणको संख्या केही कम गरेपछि रुसले सोमबार राति फेरि त्यसलाई बढायो, २७० ड्रोन र १० मिसाइल प्रहार गर्‍यो । 

ट्रम्पको जेलेन्स्कीमाथिको दबाबले मस्कोले चाहेको परिणाम दिएन भने पनि पुटिनसँग सैन्य शक्तिको विकल्प छ । पुटिनको दृष्टिकोणमा जबसम्म जेलेन्स्कीले रुसको ‘नयाँ भू-राजनीतिक वास्तविकता’ स्वीकार गर्न तयार हुँदैनन्, तबसम्म यो भेटघाट असम्भव देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्