
आफ्नो सदस्यता नवीकरण रद्द गरेको नेकपा एमालेलाई पूर्व राष्ट्रपति एवं सो पार्टीकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले प्रश्नै-प्रश्न गरेकी छन् । ‘मदन भण्डारी ७५औं जन्म जयन्ती मूल व्यवस्थापन समिति’को सम्पर्क कार्यालय बुधबार काठमाडौंको थापागाउँमा उद्घाटन गर्दै भण्डारीले आफ्नो सदस्यता कसैले खोस्न नसक्ने बताएकी हुन्
‘साथीहरू नेता भन्छन्, तर मेरो त पार्टी सदस्यताबारे नै च्यासलले प्रश्न उठाएको छ । एमाले अहिले भयो, पहिले माले थियो । मालेदेखि नै सदस्य भएको हो म । ३७ सालमा सदस्यता लिएको रहेछु,’ एमालेको निर्णयपछि अब के गर्नुहुन्छ भन्ने जिज्ञासा रहेको भन्दै भण्डारीले भनिन्, ‘सदस्यता लिएको ४५ वर्ष भएछ । राष्ट्रपति हुँदा ३५ वर्ष भएको थियो । पार्टीले विशेष निर्णय गरेर जानैपर्छ भनेपछि राष्ट्रपतिको शपथ खाएको हुँ ।’
गत असार १४ गते भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । तर, साउन ६ गते बसेको एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टी राजनीतिमा आउने बाटो बन्द गरेको थियो । आफूलाई बाटो छेकेपछि भण्डारीले एमाले नजन्मिँदैदेखि आफू कम्युनिस्ट राजनीतिमा जोडिएको बताइन् ।
‘हामी आन्दोलनमा लाग्दा नेकपा एमाले जन्मिसकेको थिएन । को-अर्डिनेसन केन्द्र जन्मियो । यसको सम्पर्कमा हामी पुग्यौं,’ भण्डारीले भनिन्, ‘यो हुँदै माले स्थापना भयो । माले स्थापनाको पहिलो सन्देश पर्चा छर्ने काम भोजपुरमा हामीले नै गरेका थियौं ।’

भण्डारीले जोड दिएरै एमालेलाई एउटा ब्रान्डजस्तो बनाएकोमा पनि थप व्याख्या गर्न खोजिन् ।
‘मालेबाट एमाले भयो । तर, एमाले भनेको के–के न हो भन्ने परेको छ । एकीकृत मार्क्सवादी–लेनिनवादी (एमाले) त हो नि । यो एउटा उपमा हो । मार्क्सवादी र माले छुट्टै भएकाले एकता भएपछि एमाले भनेको हो,’ भण्डारीले भनिन्, ‘अहिले एमाले भनेको एउटा ब्रान्डजस्तो भएको छ । खासमा नेपाल कम्युनिस्ट पार्टी एमाले हो । नेपालमा थुप्रै कम्युनिस्ट पार्टी छन् । नामको पछाडि थर, गोत्र भएजस्तै पार्टीको नाम हो ।’
आफूले राष्ट्रपति हुँदा गौरव हुने गरी काम गरेको दाबी गर्दै उनले तथ्यमा आधारित भएर प्रश्न उठाउन आग्रह गरिन् । ‘राष्ट्रपतिबाट गर्नुपर्ने भूमिका मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव हुने गरी गरेको छु । इतिहासका पानाहरू खुला छन् । सार्वजनिक रूपले भनेको छु– म आलोचनाबाट बाहिर छैन । सबैले आलोचना गर्न सक्नुहुन्छ, तर हरेक कुरा तथ्यमा आधारित हुनुपर्छ,’ भण्डारीले भनिन्, ‘म निरन्तर एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु, गरिहरहन्छु ।’
उनले जनताको बहुदलीय जनवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने एमालेमाथि प्रश्न उठाइन् । जबजको मर्मअनुसार काम भयो कि भएन भनेर समीक्षा गर्नुपर्ने उनको तर्क छ ।
‘एमालेले मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई लिएको छ । यसको मर्मअनुसार काम गर्ने हो,’ भण्डारीले भनिन्, ‘मर्म अनुसारका काम भयो कि भएन ? समीक्षा गर्नुपर्ने बेला भएको छ ।’
जबजको सान्दर्भिकता अहिले पनि रहेको भन्दै उनले फाउन्डेसनले निरन्तर जबजको विषयमा पैरवी गर्नुपर्ने बताइन् । निश्चित सिद्धान्तबाट प्रेरित भएर बनेको पार्टी भएपछि सोहीअनुसार काम गर्नुपर्ने उनको भनाइ थियो ।
‘५० सालपछि निरन्तर यो पार्टीले चुनावमा भाग लिएको छ । चुनाव सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्नु हो । त्यो अनुसार काम गर्न सक्यौं कि सकेनौं ?’ भण्डारीले भनिन्, ‘आर्थिक, सामाजिक–सांस्कृतिक क्षेत्रमा काम गर्न सक्यौं कि सकेनौं । काम गर्नुपर्ने बेला आएको छ ।’
पार्टीले जिम्मेवारी नै नदिए पनि सिद्धान्त धारण गरेकाले आफू लडिरहने उनले बताइन् ।

‘पार्टीले जिम्मेवारी देओस् कि नदेओस् । एमालेको सिद्धान्त धारण गरेको छु । मेरो तर्फबाट मेरो पूर्ण साथ रहने छ,’ मदन भण्डारी फाउन्डेसनलाई निर्बाध कार्यक्रम गर्न आग्रह गर्दै भण्डारीले भनिन्, ‘पार्टीमा विकृति विसंगति फैलाएको छ भने लडिरहन्छु । राष्ट्रको गौरव बढाउन र अस्तित्व रक्षाका लागि चन्द्रसूर्य रहेरसम्म लडिरहन्छु ।’
फाउन्डेसनको संस्थापक आफू रहेको भन्दै उनले यसलाई वैचारिक थिंक ट्यांकको रूपमा अगाडि बढाएको बताइन् । गणतन्त्र आएपछि जनताले बोध गर्नेगरी शिक्षा, स्वास्थ्य, रोजगारीमा आमूल परिवर्तन आउनुपर्नेमा ठूला दलले विकृति भित्र्याएको उनको आरोप छ ।
‘गणतन्त्र र लोकतन्त्रको उन्नत व्यवस्थामा छौं । तर, राजनीतिक विकृति र विसंगति बढेको छ । प्रणालीको विकास हुन सकेको छैन । शिक्षा, रोजगार, आमूल परिवर्तन गर्नुपर्ने छ । मुलुकको युगको, नयाँ पुस्ताको आवश्यकता के हो ? यतातिर लाग्नुपर्ने हो,’ भण्डारीले भनिन्, ‘खुट्टाले टेक्नुपर्ने अर्थतन्त्र टाउकोले टेकेर हिँडिरहेको छ । पहाड रित्तिएको, तराईमा पिउने पानी र सिँचाइको अभाव भएको अवस्था छ ।’

प्रणालीलाई विकास गर्नेभन्दा ठूला दलले तलैसम्म विकृति रोप्ने काम गरेको आरोप उनले लगाइन् ।
‘संसद् आज निरीह छ । संघीय लोकतान्त्रिक प्रणाली भनिएको छ, एउटा कानून प्रदेश सरकारले बनाउन सक्दैन । वडा सदस्य उठानुपर्यो भने माथि नेताहरूले निर्णय गर्नुहुन्छ । एमालेलाई आरोपित गरेको जस्तो लाग्न सक्छ । तर, एमाले देशभक्त, राष्ट्रभक्त पार्टी भएकाले जिम्मेवार हुनुपर्छ,’ भण्डारीले भनिन् ।
पहाड रित्तिएको, युवालाई उनीहरूको इच्छाअनुसार रोजगारी दिन नसकिएको भन्दै उनले ठूला दलमाथि पटक–पटक निशाना साँधिन् ।
‘कुराले हुँदैन, यथार्थमा काम हुनुपर्यो । संविधान संशोधनमा के गरियो ? के–केमा संविधान संशोधन गर्न खोजिएको हो, खोई ?,’ भण्डारीले प्रश्न गर्दै भनिन्, ‘ठूला दलहरू आफैंले अहिलेको संविधानमा प्रश्न उठाउँदै संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन्, तर पनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन सकिरहेको छैन ।’
परम्परागत ठूला दलमाथि प्रश्न उठाउँदै भण्डारीले साना र नयाँ दलप्रति नरम अभिव्यक्ति दिइन् । ‘आरोप लागेको पुष्टि भएको छैन । बोल्न पाएको छैन, निलम्बित भइहाल्छ । जनप्रतिनिधिले आदर्शअनुसार काम गर्नुपर्छ,’ भण्डारीले भनिन्, ‘आरोप लगाउँदैमा निलम्बनमा परिहाल्ने यो कत्तिको लोकतान्त्रिक हो ? आरोप पुष्टि नभएसम्म निलम्बन हुनु राम्रो होइन । अहिले पनि ठूलो दलका नेताहरू निलम्बनको यात्रा भोगिरहेका छन् ।’
यसअघि उनले मदन भण्डारीले २०४८ सालमा चुनाव प्रचार गरेकै घरमा सम्पर्क कार्यालय खोल्ने बताएकी थिइन् । तर, बुधबार फाउन्डेसनले मदनको ७५ औं जन्मजयन्ती मनाउनका लागि भन्दै कार्यालय खोलिएको दाबी गरेको छ ।

कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे पनि सहभागी भएका थिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले सिद्धान्तको टोपी लगाएकाबाट पनि जबज सुरक्षित नहुने बताए ।
‘कसैले विचारको टोपी लगाएको छ भने पनि विचार सुरक्षित हुन्छ भन्ने भ्रममा नपरौं,’ पोखरेलले भने, ‘प्रारम्भिक दिनमा कटाक्ष गरिए, दक्षिणपन्थी हावा लागेको विचार हो भनेर आरोपित गर्ने काम भए । यस्तो आरोपविरुद्ध जुधेर जबज स्थापित गरिएको थियो ।’
उनले ओली नै जबजको प्रखर झण्डा बोकेर यहाँसम्म आएको बताए ।
‘म सम्झना गर्छु, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जुन बेला वास्तवमा विचारको प्रखरताको झण्डा बोकेर अघि बढ्नुभएको थियो, त्यस बेलादेखि नै मदन भण्डारी फाउन्डेसन जोडिँदै आयो । उहाँको सामीप्यता पाएर फाउन्डेसनले महत्त्वपूर्ण भूमिका खेल्दै आएको हो,’ पोखरेलले भने ।
चुनौती, अप्ठ्यारा, अवगाल आए पनि मनोबल उच्च बनाउन पोखरेलले फाउन्डेसनलाई आग्रह गरे । ‘विचारलाई समर्थन गर्दा क्षतिग्रस्त गर्न विचार उठ्न सक्छन्,’ पोखरेलले भने, ‘चुनौती, अप्ठ्यारा, अवगाल आए पनि यो फाउन्डेसनको कार्यालयले जोड्न सकोस् ।’
यसअघि नखुलेका एमालेका थुप्रै नेता/कार्यकर्ता बुधबार भण्डारीको सम्पर्क कार्यालय थापागाउँ पुगेका थिए ।