२० असार २०८३, शनिबार
संघर्ष र सफलताको कथा

लोकसेवामा पाण्डे दम्पतीको छलाङ : जता परीक्षा दियो उतै पास

भदौ ७, २०८२
बुटवल
लोकसेवामा पाण्डे दम्पतीको छलाङ : जता परीक्षा दियो उतै पास

तीन वर्ष अघिसम्म नियमित बुटवलको एक संस्थागत विद्यालय (बोर्डिङ) जान्थे ईश्वरीप्रसाद पाण्डे । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ मा जन्मे/हुर्केका ईश्वरी उच्च शिक्षा अध्ययनका लागि २०६२ मा बुटवल झरेका थिए ।

दिउँसो बोर्डिङ र बिहानको समयमा कलेजमा एक/दुई ‘पिरियड’ कक्षा लिने क्रम १६ वर्षदेखि जारी थियो । पाण्डेलाई आफ्नो कर्म अब शिक्षण क्षेत्रमै जान्छ होला भन्ने लाग्थ्यो । तर, २०७८ मा माध्यमिक तह शिक्षक सेवा आयोगको अध्यापक अनुमति पत्र (लाइसेन्स) परीक्षा दिएपछि उनको दैनिकी एकाएक मोडियो ।

त्यसको अर्को वर्ष शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको विज्ञापन गर्‍यो । पढाइमा तीक्ष्ण ईश्वरी २०७९ मा शिक्षक सेवा आयोगले खुलाएको प्राथमिक तहको परीक्षामा सहभागी भए । पहिलो प्रयासमा नाम निकालेर गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ को काभ्रेपोखरी माविमा सिफारिस भएर सहायक प्रधानाध्यापकको भूमिका निर्वाह गरे । बजारमा बोर्डिङ पढाएर राम्रो कमाइ गरेका उनले अब प्रावि तृतीय श्रेणीको सरकारी जागिर खाएर बस्नु पर्ने भयो ।

उनी मावि तहको तयारीमा जुटे । अर्को वर्ष २०८० मा मावि गणित विषयमा नाम निकालेर झापाको मेचीनगर नगरपालिकाको भानु माविमा सिफारिस भए । सँगै उनले निजामतीतर्फ गण्डकी प्रदेश शिक्षा अधिकृत पदको लिखितमा पनि नाम निकाले । तर, त्यसको अन्तर्वार्तामा उनी सहभागी भएनन् ।

यस्तै, २०८१ साल वैशाखमा पाण्डेले गण्डकी प्रदेश स्थानीय प्रशासनअन्तर्गत शिक्षा अधिकृत पदमा नाम निकाले । उनी मावि शिक्षक छाडेर शिक्षा अधिकृतका रूपमा लमजुङको बेँसीशहर नगरपालिकाको शिक्षा शाखा प्रमुखको रूपमा सिफारिस भए ।

शिक्षा अधिकृत भएको एक वर्ष नपुग्दै पाण्डेले संघतर्फ शिक्षा प्रशासन, विद्यालय निरीक्षक (बिनि)को रूपमा ४ नम्बरमा नाम निकालेर जिल्ला शिक्षा समन्वय इकाई गुल्मीमा शाखा अधिकृतको रूपमा भदौ २ गते हाजिर भएका छन् । पछिल्लो तीन वर्षमा पाण्डेले शिक्षक सेवादेखि निजामती क्षेत्रमा मारेको छलाङ धेरैका लागि अनुकरणीय छ ।

सरकारी सेवामा ढिलो प्रवेश गरेर पाण्डेले मारेको छलाङ निजामती सेवा प्रवेश गर्न रूचि राख्नेहरूका लागि प्रेरणादायी छ । दृढ विश्वासका साथ लगनशील भएर अगाडि बढ्दा सफलता प्राप्तिमा कठिनाइ नरहेको ईश्वरी बताउँछन् ।

null

पाण्डे आफू मात्र सफल भएका छैनन्, उनकी पत्नी दीपा पाण्डे पनि निजामतीमा अब्बल छिन् । दीपाले पनि तीन वर्षको अन्तरालमा लोकसेवा आयोगले लिएका परीक्षामध्ये अधिकृत तहमा दुई ठाउँमा, नायब सुब्बा (नासु)मा पाँच ठाउँमा र खरिदार तहमा एक ठाउँमा गरी ८ वटा परीक्षा पास गरेकी छिन् । अहिले लोकसेवा आयोगले लिएको तथ्याङ्क अधिकृत सातौं तहको परीक्षामा उनले नाम निकालेकी छन् ।  

२०८० को असारमा अधिकृत सातौं तह तथ्याङ्क अधिकृतको रूपमा नाम निकालेकी दीपा ललितपुरको जनस्वास्थ्य कार्यालयमा कार्यरत छिन् । त्यसको दुई वर्षअघि पनि नाम निकालेकी थिइन् ।

यस्तै, तथ्याङ्क सहायक (सुब्बा सरह) बागमती प्रदेश २०७९ भदौमा सिफारिस, तथ्याङ्क सहायक (सुब्बा सरह) बागमती प्रदेश (स्थानीय तह) साउनमा अन्तर्वार्ता दिन गएकी थिइनन् ।

यस्तै, तथ्याङ्क सहायक (सुब्बा सरह) कर्णाली प्रदेश २०७९ भदौमा अन्तर्वार्ता दिन नगएको, मेडिकल रेकर्डर (सुब्बा सरह) कर्णाली प्रदेश २०७९ असोजमा अन्तर्वार्ता दिन नगएको, संघीय गणक (खरिदार सरह) भदौ २०७९ मा अन्तर्वार्ता दिन नगएको, नेपाल आर्थिक योजना तथा तथ्याङ्क रा.प. अनम प्रथम श्रेणी (नासु सरह) २०७४ मा वैकल्पिकमा उनी सिफारिस भएकी थिइन् ।

पाण्डे दम्पतीको यो जोडी लोकसेवा आयोग तयारी गर्नेहरूको लागि उदाहरणीय जोडीको रूपमा रहेको छ । ‘बुटवलमा मैले ठूलो संघर्ष गरेको छु,’ ईश्वरी भन्छन्, ‘बुटवलमा पत्रिका वितरणदेखि होटलमा भाँडा पनि माझेको छु । यस दौडानमा उत्कृष्ट शिक्षक पुरस्कार, नगर शिक्षा पुरस्कारजस्ता झन्डै एक दर्जन पुरस्कारबाट पुरस्कृत हुँदै अहिले संघीय निजामतीसम्म पुगियो ।’

विक्रम संवत् २०६४ देखि २०७९ सम्म बोर्डिङ तथा क्याम्पसमा शिक्षणमा उनी संलग्न रहेका थिए । लोकसेवा आयोगको परीक्षाको विभिन्न निकायमा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका उनी एकपटक तयारी गरेपछि जुनसुकै निकायमा पनि परीक्षा उत्तीर्ण गर्न गाह्रो नहुने बताउँछन् । उनी भन्छन्, ‘मेहनत र धैर्यता राख्ने हो भने, एक दिन सफलताको शिखरमा पुग्न सकिन्छ । म मात्र होइन मेरो धर्मपत्नी दीपा पनि तथ्याङ्क अधिकृतको रूपमा निजामतीमा आफूलाई श्रेष्ठता हासिल गरेकी छन् ।’

उनले प्लस टु सिद्धबाबा कलेजबाट पूरा गरे, स्नातक अन्नपूर्ण मोडल कलेजबाट सकेर स्नातकोत्तर बुटवल बहुमुखी क्याम्पसबाट २०७२ मा प्रथम श्रेणीमा उत्तीर्ण गरेका हुन् । आजसम्मको उनको सफलतामा घर परिवार, दीपा र आफन्तको सहयोग उत्तिकै छ ।

सामाजिक सञ्जालले समय खाने भएकाले सीमित चलाउँछन् । लोकसेवा तयारी गर्नेलाई पनि ईश्वरी यहीँ सल्लाह दिन्छन् ।

अक्षर राम्रो बनाउन सक्दा ‘प्लस प्वाइन्ट’ हुने उनको बुझाइ छ । ‘म सफल हुन्छु भन्ने दृढ आत्मविश्वासका साथ पढाइमा जुटयो भने सबै कुरा सजिलो हुन्छ । लोकसेवा आयोगको परीक्षा पनि त्यस्तै हो । बाहिर बढी चर्चा भएजस्तै धेरै गाह्रो पनि होइन,’ उनी भन्छन् ।

लोक सेवा तयारी गर्नेका लागि एकोहोरो ढंगले निरन्तर मेहनत गर्नुपर्ने सुझाव उनको छ । ‘सबैतिर हात हालेर हुँदैन, लोक सेवाको परीक्षा एकदमै निष्पक्ष छ, सबैको आशा भरोसाको केन्द्र हो,’ उनले भने ।

उमेर हद छँदै लोकसेवा तयारीमा लाग्नुपर्ने उनको सुझाव छ । ‘एक हिसाबले आफैं तयारी गरेर परीक्षा दिनुपर्छ,’ ईश्वरी भन्छन् । परीक्षामा उत्तर लेख्दा विषयवस्तुमा केन्द्रित रहने र भाषिक शुद्धतामा ध्यान दिनुपर्छ ।’

अक्षर राम्रो बनाउन सक्दा ‘प्लस प्वाइन्ट’ हुने उनको बुझाइ छ । ‘म सफल हुन्छु भन्ने दृढ आत्मविश्वासका साथ पढाइमा जुटयो भने सबै कुरा सजिलो हुन्छ । लोकसेवा आयोगको परीक्षा पनि त्यस्तै हो । बाहिर बढी चर्चा भएजस्तै धेरै गाह्रो पनि होइन,’ उनी भन्छन् ।

सरकारी सेवामा आफू पनि रोजगार हुने र देशको सेवा गर्ने राम्रो अवसर बताउँदै निजामती क्षेत्रमा आउन चाहनेले विषयवस्तु अध्ययन सँगसँगै यो क्षेत्रमा सफल भएका व्यक्तिहरूको मार्गदर्शन पनि लिँदा अझ सजिलो उनी सुझाव दिन्छन् ।

लोकसेवा पास गर्न जति बेला पनि पढ्नुपर्छ भन्ने बुझाइ सही होइन । ‘एउटा अनुशासनमा रहेर मन लगाएर दिनको चार/पाँच घण्टा पढ्ने हो भने पनि उत्तीर्ण गर्न सकिन्छ,’ उनी भन्छन् ।

तर, पढिहालौं न भन्दा पनि मैले यति पढेर केही बुझ्छु भन्ने हिसाबले पढ्न आवश्यक रहेको उनको सुझाव छ । कामको सिलसिलामा कतै जाँदा पनि त्यसलाई पढाइसँग जोडेर हेर्ने र सबै विषयको नियमित टिपोट राख्नुपर्ने उनी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्