०८ साउन २०८३, शुक्रबार

इजरायल-हमास युद्धमा पत्रकार पनि रहेनन् सुरक्षित, अहिलेसम्म मारिनेको संख्या १९२

भदौ ९, २०८२
काठमाडौं
इजरायल-हमास युद्धमा पत्रकार पनि रहेनन् सुरक्षित, अहिलेसम्म मारिनेको संख्या १९२

दक्षिणी गाजास्थित नासेर अस्पतालमा सोमबार इजरायली आक्रमण हुँदा ४ पत्रकारको मृत्यु भएको छ ।

मृतकमध्ये एकजना अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी)की ‘फ्रिल्यान्सर’ दृश्य पत्रकार मरियम डग्गा समेत रहेको गाजा स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् ।

३३ वर्षीया डग्गा युद्ध सुरु भएपछि एपी र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग आवद्ध भइ काम गर्दै आएकी थिइन् ।

उनले यसअघि इन्डिपेन्डेन्ट अरबिया लगायतका समाचार संस्थामा पनि योगदान दिएकी थिइन् । एपीले विज्ञप्ति जारी गर्दै डग्गा र अन्य पत्रकारहरूको निधनले स्तब्ध र दुःखी भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

चिकित्सकका अनुसार खान युनिसस्थित नासेर अस्पतालमा दुईवटा मिसाइल खस्दा कम्तीमा १९ जनाको ज्यान गएको हो ।

मृतकमध्ये पत्रकार मोहम्मद सलाम (अल जजिरा) र हुस्साम अल–मस्री (रोयटर्सका क्यामराम्यान) रहेका छन् भने रायटरकै अर्का फोटोग्राफर हतेम खालेद घाइते भएका छन् । चौथो पत्रकारको परिचय तत्काल खुलाइएको छैन ।

गाजा स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार युद्ध सुरू भएदेखि अहिलेसम्म २२ महिनाको अवधिमा १९२ भन्दा बढी पत्रकारको ज्यान गइसकेको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले यसको भ्रत्सना गर्दै यो हालसम्मकै सबैभन्दा रक्तपातपूर्ण अवधी भनेको छ ।

इजरायली सेनाले नासेर अस्पताल वरपर आक्रमण गरिएको स्वीकार गर्दै घटनाको छानबिन गर्ने बताएको छ । तर उनले पत्रकारलाई लक्षित गर्ने उद्देश्य नरहेको दाबी गर्दै ‘निहत्था व्यक्तिमा क्षति पुगेमा खेद छ’ भनेको छ ।

पत्रकार सुरक्षाका लागि काम गर्ने रिपोर्टर्स विथआउट बोर्डर्सका महानिर्देशक थिबो ब्रुटिनले यसलाई पत्रकार स्वतन्त्रतामाथि हालसम्मकै गम्भीर धक्का भनेका छन् । उनले पत्रकारको मृत्यु ‘अनियमित प्रहार र लक्षित आक्रमण’ दुवैबाट भएको जनाएका छन् ।

डग्गाले आफ्ना रिपोर्टिङमा गाजाका बालबालिकालाई भोकमरीबाट जोगाउन संघर्षरत चिकित्सकहरूको अवस्था उजागर गरेकी थिइन् ।

उनको १२ वर्षीय छोरा भने युद्धकै सुरुवातमा गाजाबाट बाहिर निकालिएको थियो । मृत्युको अघिल्लो दिन आइतबार उनले सामाजिक सञ्जालमा आफूले खिचेको सेल्फी पोस्ट गरेकी थिइन् ।

युद्ध सुरु भएदेखि इजरायलले अन्तर्राष्ट्रिय पत्रकारलाई गाजामा प्रत्यक्ष रिपोर्टिङ गर्न अनुमति दिएको छैन । त्यसैले विश्वलाई युद्धको वास्तविकता देखाउन स्थानीय पत्रकार र बासिन्दामाथि नै निर्भर रहनुपरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्