०९ साउन २०८३, शनिबार

केन्द्रीय बैंकसँग असन्तुष्ट ट्रम्प : गभर्नर लिसा कुकलाई गरे ‘फायर’

भदौ १०, २०८२
काठमाडौं
केन्द्रीय बैंकसँग असन्तुष्ट ट्रम्प : गभर्नर लिसा कुकलाई गरे ‘फायर’

अमेरिकी केन्द्रीय बैंकको स्वायत्ततामाथि नाटकीय कदम चाल्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बोर्डकी गभर्नर लिसा कुकलाई बर्खास्त गरेका छन् ।​​

महिनौंदेखि केन्द्रीय बैंक र यसका अधिकारीहरूमाथि सार्वजनिक आक्रमण गर्दै आएका ट्रम्पको यो निर्णयले अमेरिकी आर्थिक सुशासनको जगलाई नै हल्लाइदिएको टिप्पणी अमेरिकी सञ्चारमाध्यमहरूले गरेका छन् ।

राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै कुकलाई हटाउने घोषणा गरेका हुन् । उक्त पोस्टमा उनले घर खरिदका लागि लिइएको ऋण (मोर्टगेज) सम्बन्धी कागजातमा गलत बयान दिएको आरोप लगाएका छन् ।

ट्रम्पले कुकको उक्त कामलाई ‘गम्भीर लापरबाही’ र ‘सम्भावित आपराधिक’ भन्दै पदबाट हटाउनका लागि पर्याप्त आधार भएको दाबी गरेका छन् ।

यो घटनाले फेडरल रिजर्भका सदस्यहरूलाई हटाउने राष्ट्रपतिको शक्तिको संवैधानिक परीक्षण शुरू गरेको छ र यसले विश्वको सबैभन्दा शक्तिशाली केन्द्रीय बैंकको भविष्यमाथि गम्भीर प्रश्नहरू खडा गरेको छ । जसको असर वाल स्ट्रिटदेखि विश्वभरका अर्थतन्त्रसम्म पर्ने बताइएको छ ।

यो विवादको केन्द्रमा फेडरल हाउजिङ फाइनान्स एजेन्सीका निर्देशक तथा ट्रम्पका निकट सहयोगी बिल पुल्टेले यसै महिनाको शुरूमा लगाएको आरोप छ ।

पुल्टेले महान्यायाधिवक्ता पाम बोन्डीलाई एक पत्र लेख्दै कुकले सन् २०२१ मा मिशिगन र जर्जियामा घर किन्नका लागि ऋण लिँदा दुवै घरलाई आफ्नो ‘मुख्य बसोबास’को रूपमा प्रयोग गर्ने भनी बैंकहरूलाई गलत जानकारी दिएको आरोप लगाएका थिए ।

पुल्टेको दाबी अनुसार, कुकले ऋणमा सहज र सस्तो ब्याजदर पाउनका लागि यस्तो जालसाजी गरेकी थिइन् । यही आरोपलाई आधार बनाउँदै ट्रम्पले गत हप्ता नै कुकलाई तत्काल राजीनामा दिन माग गरेका थिए ।

तर, कुकले फेडमार्फत जारी गरेको विज्ञप्तिमा आफ्नो वित्तीय इतिहासबारे उठेका कुनै पनि वैध प्रश्नहरूको गम्भीरतापूर्वक जवाफ दिन आफू तयार रहेको र सही जानकारी संकलन गरिरहेको बताएकी थिइन् ।

बर्खास्तीको घोषणापछि पनि कुकले पछि हट्ने संकेत दिएकी छैनन् । उनका वकिलले न्युयोर्क टाइम्ससँग भनेका छन्, ‘कुक पछि हट्नुपर्ने कुनै कारण छैन ।’

उनले ट्रम्पसँग आफूलाई बर्खास्त गर्ने कुनै कानूनी आधार नभएको र यसलाई रोक्न आवश्यक सबै कदम चाल्ने बताएका छन् । यो विवाद अब कानूनी लडाइँमा परिणत भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

ट्रम्पले कुकलाई हटाउनका लागि मोर्टगेज विवादलाई औपचारिक कारण बनाए पनि यसको पछाडिको वास्तविक र गहिरो कारण फेडरल रिजर्भको ब्याजदर नीतिप्रतिको उनको असन्तुष्टि हो ।

फेडका अध्यक्ष जेरोम पावेलसहित १२ सदस्यीय ‘खुला बजार समिति’ले देशको मौद्रिक नीति तय गर्छ, जसको मुख्य उद्देश्य मुद्रास्फीति नियन्त्रण र रोजगारीलाई उच्च स्तरमा राख्नु हो ।

यो काम राजनीतिक नेतृत्वबाट पूर्ण रूपमा स्वतन्त्र रहेर गरिन्छ । तर, ट्रम्पले आफ्नो पहिलो कार्यकालदेखि नै यो परम्परा तोड्दै आएका छन् ।

सन् २०२२ र २०२३ मा दशकौंकै उच्च विन्दुमा पुगेको मुद्रास्फीतिलाई नियन्त्रण गर्न फेडले ब्याजदरलाई निकै माथि पुऱ्याएको थियो ।

गत वर्ष ब्याजदरमा केही कटौती गरे पनि यस वर्ष फेडले ब्याजदरलाई उच्च नै राखेको छ । मुद्रास्फीति फेरि बढ्ने वा ट्रम्पको आयात शुल्क (ट्यारिफ) रणनीतिले उपभोक्ता मूल्य बढाउने डरका कारण फेडले यस्तो गरेको हो ।

तर, उच्च ब्याजदरले आर्थिक वृद्धिलाई सुस्त बनाउने र व्यवसायी तथा उपभोक्ताका लागि ऋण महँगो बनाउने भन्दै ट्रम्प फेडले छिटोभन्दा छिटो ब्याजदर घटाओस् भन्ने चाहन्छन् ।

यही कारण उनले फेड अध्यक्ष पावेललाई ‘टु लेट’ (धेरै ढिलो गर्ने) जस्ता उपनाम दिँदै निरन्तर आलोचना गर्दै आएका छन् ।

कुकको बर्खास्तकी केवल एक व्यक्तिमाथिको कारबाही मात्र नभएर फेडको समग्र बोर्डलाई आफ्नो नियन्त्रणमा लिने ट्रम्पको वृहत् रणनीतिको एक हिस्सा रहेको आलोचकहरूको भनाइ छ ।

संघीय कानूनअनुसार, फेडका गभर्नरहरूको कार्यकाल १४ वर्षको हुन्छ र उनीहरूलाई राष्ट्रपतिले ‘पर्याप्त कारण’बिना हटाउन सक्दैनन् ।

यो व्यवस्था उनीहरूलाई राजनीतिक दबाबबाट मुक्त राख्नका लागि गरिएको हो । तर, ट्रम्पले यो कानूनी बाधालाई नै चुनौती दिएका छन् ।

कुकलाई हटाउन सफल भएमा यसले अन्य गभर्नरहरूलाई पनि मनोवैज्ञानिक दबाब सिर्जना गर्नेछ । यसबाहेक, राष्ट्रपतिले रिक्त पदहरूमा नियुक्ति गरेर पनि फेडको संरचना बदल्न सक्छन् ।

फेड गभर्नरलाई पदमुक्त गरिएको घटनाले अमेरिकी राजनीतिमा गहिरो ध्रुवीकरण सिर्जना गरेको छ ।

रिपब्लिकन सिनेटर रिक स्कटले यसलाई ‘मानिसहरूलाई जवाफदेही बनाउने सही कदम’ भन्दै ट्रम्पको समर्थन गरेका छन् भने डेमोक्र्याटिक सिनेटर एलिजाबेथ वारेनले यसलाई ‘फेडरल रिजर्भ ऐनको ठाडो उल्लंघन गर्ने सत्तावादी शक्ति हडप्ने प्रयास’ भनेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्