
भैरव पुरस्कार गुठीले नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम सार्वजनिक गरेको छ ।
भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो ।
जसअनुसार २०८२ सालको भैरव पुरस्कार भारत—सिलगुढी निवासी वरिष्ठ हास्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । भैरव पुरस्कार पहिलोपटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गर्न लागिएको हो ।
त्यस्तै, १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने गुठीले जनाएको छ ।
५१ हजार १ सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरिने भएको छ ।
पुरस्कार प्राप्तकर्ताहरूको नाम छनोट गर्न गुठीले साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रल्हाद पोखरेल सदस्य रहेको समिति गठन गरेको थियो ।
आगामी असोज तीन गते काठमाडौंको गोकर्णेश्वर—५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिनेछ ।
सोही दिन गुठीको साधारणसभा पनि आयोजना गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।
