
तिमी जिउँदो भएरै गल्ती गरेका हौ
लासले गल्ती गरेको कुनै घटना छैन
०७० को दशकमा लेखेको गजलको यो सेर एकाएक याद आयो । उतिबेला के सोचेर लेखेको थिएँ, थाहा छैन । तर, आफूले लेखेर आफैंलाई मन परेकामध्येको एक गजल यो पनि थियो । यही एउटै सेरमा कत्रो जीवन विज्ञान अटाएछु । हाम्रो सामाजिक चेत र मनोविज्ञान अटाएछु भन्ने लाग्छ-आफूलाई । यही गजलको अर्को सेर भन्छ-
बाटोको ढुङ्गा पनि ठोक्किन आउँछ
नसोच्नू- मेरो दुश्मन एक जना छैन !
आजभोलि गजल कम लेख्छु । उसो त केही वर्षयता नयाँ गजल लेखेको छैन भन्दा पनि हुन्छ । गजलको जे गहिराइ हो, जुन वजन अब त्यहाँ पुग्न सक्दिनँ, धान्न सक्दिनँ भन्ने स्वज्ञान वा स्वस्वीकारोक्ति ? खै कुन्नि के हो, गजल लेख्न छाडिगएँ ।
बरु कथा र कविता लेख्ने क्रमलाई अलि बढाएँ । र, पछिल्लो दुई वर्ष त केवल उपन्यास लेखनमा बिताएँ । त्यसैको फलस्वरूप तोरकीन उपन्यास यसै महिना तपाईंको हातमा पुग्दैछ । अब केही दिनमा । यो बीचमा पढ्ने काम पनि शून्य नै भयो । किन पढिनँ ?, त्यसको पनि कारण छ, भनुँला-कुनै दिन ।
मानिसलाई जीवनमा आफूले प्राप्त नगरेका कुरामा लोभ नहुँदो हो त कस्तो हुँदो हो यो समाज ? केही पाउने चाहतले नै कुदिरहेका होलान्, असंख्य पैतालाहरू । केही प्राप्तिको मृगतृष्णामा बाँचिरहेका होलान्- धेरै जिन्दगीहरू । यस्तै यस्तै होला जीवनको समाजशास्त्र ।
तर, केही पाउनु मात्र होइन, केही दिनु पनि जीवन विज्ञान रहेछ । र, सबैभन्दा मीठो कुरा केही दिनु नै रहेछ । खुसी मनले कसैलाई केही दिनुजस्तो ठूलो आत्मसन्तुष्टि दुनियाँमा के होला र !
जस्तो; कसैलाई अप्ठ्यारोमा साथ दिनु, हात दिनु । एक बुँद खुसी दिनु, भरोसा दिनु, ऊर्जा दिनु र बाँच्ने अभिप्रेरणा दिनु । हो, यस्तै साहस, ऊर्जा र अभिप्रेरणा दिन आइपुगेका छन्- डाक्टर नवराज केसी, आफ्नो दोस्रो पुस्तक- स्वस्पर्शमार्फत् ।
आफ्नो पहिलो पुस्तक ‘शून्यको मूल्य’बाटै अलग पहिचान बनाएका डाक्टर केसी ‘स्वस्वर्श’मा झन् खुलेका छन् । खाँदिला भएका छन् । खारिएका छन् । र, आमपाठकलाई पढ्नैपर्ने एउटा पुस्तक उपहार दिएका छन् ।
स्वस्पर्श, नामले नै धेरैथोक भन्छ । आफूले आफैंलाई स्पर्श गर्नु, आफूले आफैंलाई चिन्नु, बुझ्नु भन्दा महान कर्म के होला दुनियाँमा ! जसै आफूभित्रको बास्ना चिन्न नसकेर भौतारिन्छ कस्तूरी; उस्तै हुन्छ मान्छे- आफूलाई स्पर्श गर्न नसक्दा । चिन्न नसक्दा । र, दुनियाँमा आफूले आफैंलाई चिन्नु र स्पर्श गर्नुजस्तो कठिन काम पनि शायदै होला । कहाँ सजिलो छ र आफूले आफूलाई चिन्नु ! त्यसैले स्वस्पर्श आफूले आफैंलाई चिन्न सघाउने एउटा सुनौलो दस्तावेज बनेर आइपुगेको छ ।
पेसाले बालरोग विशेषज्ञ डाक्टर केसीले सुने होलान् कति बालकको चित्कार ! नापे होलान् उसको शरीरको तातो । पत्ता लगाएर उसको समस्या; गरे होलान् कति धेरै जनाको इलाज । जीवन र मृत्युको दोसाँधमा अस्पतालको बेडसम्म आइपुगेका कति बालकलाई नयाँ जीवन दिएर पठाएका होलान् उनले । डाक्टर केसीले केवल एक बालकको जिन्दगी मात्र फर्काएनन्, त्यससँगै कति आमाको अनुहारमा फर्कियो होला खुसीको पहेँलो घाम ! आमाको पिठ्युँमा झुण्डेर वा एम्बुलेन्सभित्र निसास्सिएर अस्पताल पुगेका कयौं बालकहरू उनको उपचारपछि टुकुरटुकर हिँड्दै फर्किए होलान्, आफ्नो घर । कतिले आफ्नै भाकामा राखिदिए होलान् उनको नाम- जाजरकोट पिउलीको जङ्गबहादुरले ‘सेते डाक्टर’ राखेजस्तै ।
चिकित्सा विज्ञान सधैँ सफल हुन्छ भन्ने पनि छैन । उनले कयौं प्रयास गर्दागर्दै कति बालकले अन्तिम सास फेरे होलान्, डाक्टर केसीकै अगाडि । उनले कसरी हेरे होलान् काखमा आफ्नै सन्तानको लास बोकिरहेकी एउटी आमाको गाँठो परिरहेको चेहरा ? पक्कै पनि उनको हृदय समेत तिनै आमाका आँसुले लुछुप्प भिज्यो होला- कयौंपटक ।
उनी केवल डाक्टर मात्र होइनन्, एक लेखक हुन् । साधक हुन् । मोटिभेसनल स्पिकर हुन् । परामर्शदाता हुन् । र, उनले सुनेका छन् कुपोषणले ग्रस्त कर्णालीका कयौं बिरामीको हृदयको धून, हिँडेका छन् उनीरूकै जिन्दगीको उकालो पहाड । र, छिचोलेका छन्- रोगका अनेक उबडखाबडहरू ।
टिपेर अक्षरको उज्यालोमा लेखेका छन्, धेरैको जीवनगाथा । भरेका छन्- धेरैको जीवनमा आशाको प्राण । कोरोना महाव्याधिका बेला दिनरात बिरामीको सेवा तल्लीन डाक्टर नवराजस्तै स्वास्थ्यकर्मीलाई सम्झेर मैले उनीहरूको सम्मानमा एउटा छोटो कविता लेखेको थिएँ-
आयु बोकेर
सिरिन्जको टुप्पाहरूमा
टिपिरहेछन् चिम्टाले-
उज्यालोका रङ
र,
सिलाइरहेछन्
अदृश्य हृदयको घाउ ।
कसैले भन्यो-
अचेल मान्छेहरू मन्दिर जाँदैनन्
किनकी,
भगवानहरू अस्पतालमा छन् !
हो, डाक्टर नवराज केसी धेरैका लागि भगवान भएका होलान् । समस्याबाट गुज्रिएका कयौंलाई नयाँ जीवन दिएका होलान्, त्यसको प्रतिनिधि कथा स्वस्पर्शमै छ- जङ्गबहादुर र दु:खचाल्नोको कथामा । किरणमा । र, अरु थुप्रैमा ।
उनी भन्छन्- कहिल्यै पनि लडाइँ नलडेरै हारें नभन्नू, पूर्ण प्रयासपछि कहिल्यै हार भेटिँदैन- कि मानिस विजयी हुन्छ, किन हुन्छ ज्ञानी !
हरेक मान्छेको चाहना हुन्छ- अस्पताल जानै नपरे हुन्थ्यो । यसका पछाडि स्वस्थ जीवन बाँचिरहने अभिलाषा मात्र होइन, आर्थिक स्वास्थ्यको पनि कुरा होला । र, अर्को कुरा अस्पतालमा भोग्नुपर्ने सास्ती र खेप्नुपर्ने झर्कोफर्कोले पनि मानिस अस्पताल जान रुचाउँदैनन् होला । अस्पतालमा लाग्नुपर्ने अनेकखाले लाइनले बिरामी र आफन्तको दिक्कारीको आयतन बढाउँदो हो । एकातिर बिरामीले थलिएको शरीर, अर्कोतिर अस्पतालको झर्कोफर्कोले झिँजो लाग्दो हो मानिसहरूलाई ।
उसो त सबै डाक्टर नवराज केसी जस्ता पनि त हुँदैनन् । सबै नर्स भारत सिमलाको ठूलो सरकारी अस्पतालकी तिनै नर्स; जो मन्दिरे दाइको (मन्दिरे- बीउखुसीको कथा) उपचारमा खटिएकी जस्ती पनि त हुँदैनन् । कुनै डाक्टर सिमलाको त्यही अस्पतालका बडे डाक्टरजस्ता पनि हुन्छन् । जो मोटो र खस्रो बोल्छन् । हेर्दै डरलाग्दा हुन्छन् । र, सबै बिरामी मन्दिरे दाइजस्ता हिम्मतिला र रसिक हुँदैनन् । जसले कठोर डाक्टरको परिचय बनाएका तिनै बडे डाक्टरहरूलाई पनि पगाल्न सकून् । जसको हृदयमा आत्मीयताको बेटाडिनले मुस्कानको गज भिजाएर मायाको ड्रेसिङ गर्न सकून् । र, सबै बिरामी हुँदैनन् मन्दिरेजस्ता- आत्मविश्वासी पनि । जो आफ्नो काटिएको हात देखेर पनि हिम्मत हार्दैनन् र उस्तै हँसिलो देखिन्छन् ।
र, आफ्नो हिम्मतले सिमला अस्पतालकी उनै ‘राम्री नर्स’लाई कायल बनाउँछन् । एक दिन ट्रकको टुप्पोमा बसेर हुइँकिँदै गर्दा करेन्टको तारले मन्दिरे दाइको मुन्टोको टुप्पोमा छोइहालेछ । टाउकोको तार उनले हातले च्याप्प समातेर फालेछन् । त्यसपछि बेहोस भएका उनको एकैपटक अस्पतालमा होस खुलेछ । जतिबेला उनको एउटा हात काटिएको थियो । र पनि उनी उस्तै हँसिला देखिइरहेका थिए ।
त्यसपछि के भयो ? सुन्नुहुन्छ ? मन्दिरे दाइ र उनै राम्री नर्सको सानो संवाद स्वस्पर्शबाट यहाँ उद्धरण गर्छु ल-
‘क्यों हस रहे हो ? ये हँस्नेका वक्त है क्या ?’
‘रोना आता नहीं ।’
‘फिर भी तो हाल देखी है अपनी ?’
‘अरे यही तो हँस्नेवाली वात है ! करेन्ट लगी शर पे, हात कटा है, शर नै कटा !’
डाक्टरका रूपमा मैले नवराज केसीलाई चिनेको छैन । उनको उपचार शैलीलाई बुझेको छैन । प्रत्यक्ष भेटघाट पनि जम्मा दुईपटक भएको छ । तर, उनकाबारे जति सुनेको छु, जति पढेको छु- उनी आम डाक्टरभन्दा फरक छन् । आममान्छेले बनाएको डाक्टरको चित्र र चरित्रभन्दा उनी फरक छन् । उनी आफ्नो व्यवहार र उपचार शैलीले बिरामीको दुखाई आधा कम पारिदिन्छन् । एउटा कहावत छ- हरेक मान्छे अस्पताल पुग्नेबित्तिकै आधा सञ्चो हुन्छ । मलाई लाग्छ; नवराज केसीजस्ता डाक्टरको समीपमा पुग्दा यो पक्कै सम्भव हुन्छ होला । मानिसभित्रको साहस, आत्मविश्वास र भरोसाले पनि उसको आधा इलाज हुँदो हो, शायद ।
नवराज केसीले भेटेका आफ्ना धेरै ‘क्लाइन्ट’लाई यस्तै आत्मविश्वास र साहस दिएका छन् । र, कयौं त्यस्ता व्यक्ति छन्; जसबाट उनी आफैंले त्यो आत्मविश्वास, साहस र प्रेरणा लिएका छन् । तिनै आत्मविश्वास, साहस, आशा, प्रेरणा र खुसीलाई एक एक अक्षरमा बुनिदिएका छन्- स्वस्पर्शमा ।
यो केवल एउटा किताब मात्र होइन, थेरापीको सूत्र हो । आशाको स्लाइन, साहसको सिरिन्ज, प्रेरणाको क्याप्सुल र खुसीको मेडिसिन हो । बुद्ध उपेदश, बुद्ध विज्ञान र चिकित्सा विज्ञानको संयोजनका रङले कोरिएको सुन्दर जीवन चित्र हो- स्वस्पर्श ।
त्यस्ता भुइँमान्छेहरू; जसले कहिल्यै हार मानेनन्, त्यस्ता भुइँमान्छेहरू; जसलाई डाक्टर नवराजले हार मान्न दिएनन्, स्वस्पर्श तिनै भुइँमान्छेहरूको भोगाइको आँखीझ्याल हो । कर्णालीका विकट गाउँमा औषधोपचारको अभावमा पनि हाँसो फुलाइरहेका तिनै कलिला बालकहरूको मुस्कान र हिम्मतको कथा हो- स्वस्पर्श । जिन्दगीदेखि हार खाएर मरूँ मरूँ लागिरहेकाहरूलाई नयाँ जीवन दिने यार्सागुम्बा हो- स्वस्पर्श । र, समग्रमा असल जीवनयात्राको सोपान हो ।
मैले जे लेखेँ यो समीक्षा होइन । स्वस्पर्शलाई स्पर्श गर्दैगर्दाको अनुभूति हो । अनुभूतिहरू आ-आफ्नै हुन्छन् । कर्णालीको कुनै दुर्गम गाउँमा जन्मिएको मैले धेरै ठाउँ आफूलाई भेटेँ । सानैमा मृत्युको मुखबाट बालबाल बचेको मैले जङ्गबहादुरमा भेटेँ- आफ्नै बाल्यकालको चित्र । उसकी आमामा भेटेँ- आफ्नै आमाको ममताको भीमकाय पहाड ।
कतै गर्बे दाइमा भेटेँ- मेरा बुवाको अनुहार । र, कतै मन्दिरे दाइ र अस्तिता वादीका बुवामा भेटेँ- मेरो बुवालाई पनि । धेरै त मन्दिरे दाइमै भेटेँ ।
थाहा छैन, मेरो बुवा कहिलेदेखि कुल्ली काम गर्न भारतका गल्लीहरूमा पुग्नुभयो ? हामीले थाहा पाउँदा बुवा इण्डिया जानुभएको थियो । आउने-जाने गरिरहनुहुन्थ्यो । सिमलामा स्याउका पेटी बोक्नेदेखि कारगिलमा बस्दोबस्तीका सामान बोक्नेसम्मका काम गर्नुभयो । गढुवालमा डोली बोक्नेदेखि अहमदाबादमा सडक खन्नेसम्म काम गर्नुभयो । बोक्नुभयो दु:खका अनेक पहाडहरू ।
सेठको दुर्व्यवहारलाई आफूले चपाइरहेको सुर्तीजस्तै चपाउँदै थुक्कै गरेर उहाँले हामीलाई एकसरो लुगा फेरिदिन, दुई छाक पेटभरि खुवाउन भारतमा गरेको कुल्ली र दरबानीको हिसाब म शायदै चुक्ता गर्न सकुँला ।
मेरो अनुभूतिमा स्वस्पर्श त्यस्ता धेरै महान बाहरूको कथा हो । आमाहरूको कथा हो । र, यो आफूले आफैंलाई चिन्न अभिप्रेरित गर्ने जिजीविषाको कथा हो । जीवनमा आउने समस्याको समाधान जीवनभित्रै भेटिने जीवनशाला हो ।
आमपाठकलाई यो सुन्दर कृति दिनुभएकोमा तपाईंलाई हृदयदेखि नै धन्यवाद डाक्टर नवराज ! तपाईंलाई लेखनयात्रा र जीवनयात्राको शुभकामना !