
चीनको तियानजिनमा जारी सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्तापछि भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुई नेताबीच सीमामा शान्ति कायम राख्नेदेखि आर्थिक र जनस्तरको सम्बन्ध सुदृढ गर्नेसम्मका विषयमा सकारात्मक कुराकानी भएको जनाएको छ ।
भारतको विदेश मन्त्रालयका अनुसार, दुवै नेताले भारत र चीन एकअर्काका ‘प्रतिद्वन्द्वी नभई विकास साझेदार’ भएको कुरामा प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेटमा प्रधानमन्त्री मोदीले सन् २०२६ मा भारतमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनका लागि राष्ट्रपति सीलाई निमन्त्रणासमेत दिएका छन् ।
विज्ञप्तिमा दुवै पक्षले आफ्नो सम्बन्धलाई कुनै तेस्रो मुलुकको दृष्टिकोणबाट नहेर्ने कुरामा जोड दिँदै रणनीतिक स्वायत्तताको अभ्यास गर्नेमा सहमति जनाएका छन् ।
यसका साथै, भारतले दुई देशबीचको व्यापार असन्तुलनलाई सम्बोधन गर्ने गरी द्विपक्षीय व्यापार बढाउनुपर्नेमा जोड दिएको छ ।
दुवै देशको सम्बन्धमा सकारात्मक प्रगति भएको भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२४ को अक्टोबरमा कजानमा भएको भेटवार्तापछि द्विपक्षीय सम्बन्धमा देखिएको सकारात्मक गति र प्रगतिको दुवै नेताले स्वागत गरेका छन् । आपसी मतभेदहरूलाई विवादमा परिणत हुन नदिने नहुने कुरामा जोड दिँदै भारत र चीन विकास साझेदार रहेको दुवै नेताहरूले प्रतिबद्धता दोहोऱ्याए ।’

त्यस्तै, विज्ञप्तिअनुसार, भेटमा प्रधानमन्त्री मोदीले द्विपक्षीय सम्बन्धको निरन्तर विकासका लागि सीमा क्षेत्रमा शान्ति र स्थिरताको महत्त्वलाई जोड दिएका थिए । गत वर्ष सीमाबाट सफलतापूर्वक सेना फिर्ता गरिएको र त्यसयता शान्ति कायम रहेकोमा दुवै नेताले सन्तोष व्यक्त गरे ।
उनीहरूले समग्र द्विपक्षीय सम्बन्धको राजनीतिक दृष्टिकोण र दुवै देशका जनताको दीर्घकालीन हितलाई ध्यानमा राख्दै सीमा प्रश्नको निष्पक्ष, तर्कसंगत र पारस्परिक रूपमा स्वीकार्य समाधान खोज्ने प्रतिबद्धता जनाएका छन् । यसै महिनाको शुरूमा दुई देशका विशेष प्रतिनिधिहरूबीच भएको वार्तामा गरिएका महत्त्वपूर्ण निर्णयहरूलाई थप समर्थन गर्ने सहमति पनि भएको छ ।
विज्ञप्तिअनुसार, दुवै नेताले विश्व व्यापारलाई स्थायित्व दिन भारत र चीनको अर्थतन्त्रको भूमिकालाई स्वीकार गरे । उनीहरूले द्विपक्षीय व्यापार र लगानी विस्तार गर्न तथा व्यापार घाटा कम गर्न राजनीतिक र रणनीतिक दिशाबाट अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
यसका साथै, कैलाश मानसरोवर यात्रा र पर्यटक भिसा पुनः शुरू भएपछि अब सीधा उडान र भिसा सहजीकरणमार्फत जनस्तरको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा पनि सहमति भएको छ ।
भेटमा प्रधानमन्त्री मोदीले भारत र चीन दुवैले रणनीतिक स्वायत्तताको अभ्यास गर्ने र उनीहरूको सम्बन्धलाई कुनै तेस्रो मुलुकको चस्माबाट हेरिनु नहुने कुरा स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ ।
दुवै नेताले आतंकवाद र निष्पक्ष व्यापारजस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दा तथा चुनौतीहरूमा बहुपक्षीय मञ्चहरूमा साझा धारणा विस्तार गर्न आवश्यक रहेको ठानेका छन् ।
भेटमा प्रधानमन्त्री मोदीले एससीओको चिनियाँ अध्यक्षता र तियानजिनमा आयोजित शिखर सम्मेलनका लागि समर्थन व्यक्त गरेका थिए ।
भेटवार्तापछि सामाजिक सञ्जाल एक्समा लेख्दै प्रधानमन्त्री मोदीले भेट फलदायी भएको टिप्पणी गरेका छन् । ‘एससीओ शिखर सम्मेलनका क्रममा तियानजिनमा राष्ट्रपति सी जिनपिङसँग फलदायी भेटघाट भयो । कजानमा भएको हाम्रो अन्तिम बैठकदेखि भारत-चीन सम्बन्धमा आएको सकारात्मक प्रगतिको समीक्षा गर्यौं । हामी सीमावर्ती क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्ने विषयमा पनि सहमत भयौं,’ मोदीले लेखेका छन् ।